ओलीको मनोवैज्ञानिक सन्देश : सडकमा बख्तरबन्द गाडी, नारायणहिटीअगाडि शक्ति प्रदर्शन

शिलापत्र

काठमाडाै‌ं

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबार अपरान्ह ट्वीट गर्दै सेनाले १९ माघको राति बख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ परिक्रमा गर्ने योजना सार्वजनिक गरे । सेनाको यो योजनाले डेढ दशकअघि राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन आफ्नो हातमा लिएको क्षणलाई सम्झाइदिएको छ । 

सेनाले बख्तरबन्द गाडीको प्रदर्शन यस्तो घडीमा गर्दै छ, जतिबेला प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले नारायणहिटी दरबारसम्मुख आफ्नो शक्ति प्रदर्शनको तयारी गरेको छ । सरकारविरुद्ध सडकमा दिनहुँ प्रदर्शन भइरहँदा सेनाले बख्तरबन्द अभ्यास गरेर मनोवैज्ञानिक सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । उपत्यकाबाट सुरु हुने बख्तरबन्द अभ्यास २१ माघमा ७ वटै पृतनाअन्तर्गतका मेकानाइज्ड युनिटमा समेत हुनेछ ।

नेपाली सेनाको कार्यवाहक प्रवक्ता महासेनानी पदम बुढाले भने सडकमा बख्तरबन्द सवारलाई संगठनको नियमित अभ्यास तालिकामा पर्ने व्याख्या गरे । यस्तो अभ्यास कति-कति समयमा गरिन्छ भन्ने निश्चित नभएको उनको भनाइ थियो । ‘पहिले हामीले सूचना नदिई अभ्यास गर्थ्यौं,’ उनले भने, ‘तर अहिलेकाे राजनीतिक वातावरणले गर्दा सर्वसाधारणमा त्रास पैदा होला भनेर पहिले नै सूचना जारी गरेका हौँ ।’

सेनाको भनाइबाटै बुझ्न सकिन्छ- नियमित अभ्यास भनिएको बख्तरबन्द प्रदर्शनका लागि छानिएको दिन १९ माघलाई छल्न पनि सकिन्थ्यो । तर, सेनाले त्यही दिन रोज्यो । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकार अपदस्थ गरेर शासन आफूले लिएका थिए, जुन नेपालको राजनीतिक इतिहासमा ‘कु’का रूपमा चित्रित छ । राजाको यही कदमपछि हिंसात्मक गतिविधिमा सामेल नेकपा (माओवादी) र संसदीय दलबीच १२ बुँदे सहमति र संयुक्त जनआन्दोलन भई २ सय ५० वर्ष लामो राजतन्त्रको अन्त्य भएको थियो । 

प्रकाशित मिति: : 2021-02-02 07:15:00

प्रतिकृया दिनुहोस्