चुनाव तोकिएकै मितिमा हुन्छ, ढुक्क हुनुहोस् : प्रधानमन्त्री ओली

विजय साह

जनकपुर 

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै मितिमा चुनाव हुने कुरा पुन दोह-याएका छन्। 

प्रधानमन्त्री ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढि सकेकोले चुनाव एक दिन पनि तल माथि नसर्ने बताए।

धनुषाको मिथिला नगरपालिका वडा नं. ७ ढल्केवर स्थित नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको नेपालको पहिलो ४०० के.भी. सवस्टेशन तथा विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको २२०/१३२ के.भी. सवस्टेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘ढुक्क हुनुहोस् चुनाव हुन्छ, तोकिएकै मितिमा हुन्छ।' 

प्रदेश २ मा वैशाख १७ गते शुक्रबार नै चुनाव हुने दाबी गर्दै गरे उनले भने ‘तपाईहरु चुनावको तयारीमा लाग्नुहोस्। केही तत्व चुनाव नहोस् भनेर निर्वाचन आयोग जान्छ। निर्वाचन आयोगको काम निर्वाचन नगराउने होइन, निर्वाचन गराउने हो। निर्वाचन आयोगले निर्वाचन गराउँछ।'

सानोतिनो कुरामा नअल्झिने भन्दै उनले भने, 'अब हामी नयाँ शिराबाट देश बनाउने, नयाँ शिराबाट चुनवामा जाने र चुनवाबाटै नयाँ सरकार बनाउने छौं।

प्रधानमन्त्री ओलीले आफूहरूलाई मधेशविरोधी भन्ने मधेशकेन्द्रित दलका नेताहरूलाई डुम र चमारको छोरालाई काँधमा उठाउन चुनौती दिए। 

मधेशको विकासका लागि सरकारले काम गरिरहेको बताउदैं उनले भने, 'तपाईंको कान भरेका होलान्, केपी ओली मधेशविरोधी भनेर । मधेशविरोधी भन्नेले डुमको छोरोलाई उचालेर हेर्नुस् त हामी हेरौं, चमार डुमको छोरो काँधमा उठाउन सक्नुहुन्छ ?’ 

प्रकाशित मिति: : 2021-02-01 16:28:00

प्रतिकृया दिनुहोस्