शेयरबजारमा भारी गिरावट, बजार करेक्सन भएको कारोबारीको दाबी

नाफा बुक गर्नेहरु सक्रिय हुँदा आइतबार सेयरबजारमा भारी गिरावट आएको छ। नेप्से सूचक ५४.७५ अंकले घटेर २३७०.५४ विन्दुमा आएर बन्द भएको छ।

निरन्तर पाँच कारोबार दिन २४०० विन्दुभन्दा माथि बन्द भइरहेको नेप्से, यस साताको पहिलो कारोबार दिन भने सोभन्दा तल ओर्लिएको हो। यस दिनको बजार घटाइलाई विश्लेषकहरुले 'करेक्सन' को संज्ञा दिएका छन्।

माघ लागेपछि लगातार बढेको बजारबाट पर्याप्त नाफा भएकाहरुले केहीमात्रामा सेयर बेचेको अनुमान गरिएको छ। बजार यसरी घटेका बेलामा पनि ८ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुनुले गिरावट अल्पकालीन भएको अनुमान गर्न सकिन्छ। 

निश्चित प्रतिशत बढेपछि बजार केही करेक्सन हुने गर्दछ। यसलाई विश्लेषकरु स्वभाविक प्रक्रिया भएको प्रतिक्रिया दिन्छन्। करेक्सनपछि बजार थप बलियो हुने गर्छ। तलमाथि हुँदै अघि बढ्छ भन्ने शेयरबजारको विश्वास हो।

साताको पहिलो दिन २०४ कम्पनीको १ करोड ६२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। २०४ कम्पनीको ८७ हजार ५७६ पटकको कारोबारमा ८ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागे पनि आइतवार दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन प्रभु लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर सो लेभलमा कारोबार भएको हो। सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य ८.७३ प्रतिशत बढेको छ।

शेयरमूल्य सर्वाधिक घट्ने १० कम्पनीहरुको सूचीमा ५ फाइनान्स कम्पनी परेका छन्। यस दिन रिलायन्स फाइनान्सको शेयरमूल्य ८.३० प्रतिशत र गोर्खाज फाइनान्सको ७.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिखर इन्स्योरेन्सको ३२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका सबै उपसमूहका परिसूचक घटेर राता भएका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, विकास बैंक, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ।

प्रकाशित मिति: : 2021-01-31 16:39:00

प्रतिकृया दिनुहोस्