मकैघरदेखि चियाघरसम्म : व्यञ्जनसँगै रेष्टुरेन्टको व्याकरण पनि बदलियो

अनलाइनखबर

काठमाडाै‌ं

काठमाडौं । बागमतीको गल्छीबाट हरदम सुस्ताइरहने मन्द बतास, नागार्जुन डाँडामाथिबाट छरिएको घामको न्यानो, एकनासले गुञ्जिरहने सारंगीको पाश्र्व धुन, काँचको मझौला गिलासमा बाफ उड्दै गरेको तात्तातो चिया अनि आफ्नै आलोकमा मग्न दौंतरीहरु । आलोकनगरस्थित बागमती खोला–किनारको सन्ध्याकालीन कोलाज हो यो ।

ठ्याक्कै दुई बर्षअघि ।

बागमतीको सुसेली उदेगलाग्दो सुनिन्थ्यो । गाईबस्तुको गोठ, मलमूत्रको दुर्गन्ध र लुकीछिपी गाँजा तान्नेहरुको जक्सन थियो यो ठाउँ । एक्लै–दुक्लै हिँड्दा असुरक्षाको भय । गणेशदेव पाण्डेलाई के झोंक चल्यो, त्यही गोठलाई ‘चिया घर’ बनाउन तम्सिए ।

छरछिमेकले भने, ‘यस्तो ठाउँमा को आउँछ चिया खान ?’

घर–परिवारले भने, ‘बहुलाउन लागिस् कि क्या हो ?’

उनको मनले भन्यो, ‘गर्नुपर्छ, जहाँ पनि हुन्छ ।’

उनले आफ्नै मनको ध्वनी सुने । र, ‘स्वान्तः सुखाय’ रोजे ।

चिया दोकान चल्नु÷नचल्नु विधाताको कुरा भो, कम से कम आफ्नै मनले त उत्सव मनाउँछ । ‘आफ्नै खुसीका लागि भए पनि’ पाण्डेले सुनाए, ‘चिया घर खोल्ने अड्डी लिएँ ।’

उनको त्यही अड्डी, जसले जीर्ण गोठलाई सुकिलो चियाघरमा रुपान्तरण गरिदियो ।

प्रकाशित मिति: : 2021-01-31 07:18:00

प्रतिकृया दिनुहोस्