काठमाडौं— बुधबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालमा कोरोनाविरुद्धको खोप शुभारम्भ हुन करिब १० मिनेट बाँकी थियो । अस्पताल परिसरमा खोप लगाउने स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै अन्य कर्मचारीको संख्याभन्दा पनि पत्रकारको ठूलो जमात थियो । प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट खोप कार्यक्रमको उदघाटन गरेपछि अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले कोरोनाभाइस कोभिड—१९ विरुद्धको खोप लगाएर शुभारम्भ गरे ।
खोप लगाएर निर्देशक राजभण्डारीले सञ्चारमाध्यमहरुलाई हात हल्लाइरहँदा पत्रकार र स्वास्थ्यकर्मी र कर्मचारीको भिड्मा अस्पतालका केही नर्स तथा सफाइकर्मी कानेखुशी गर्दै थिए, उनीहरु ‘भो खोप त नलगाऔँ, खोपले उल्टै असर ग¥यो भने ?’ भन्दै खोपप्रति आशंका व्यक्त गरिरहेको थिए । सँगै समूहमा बस्नेमध्ये एकजना कर्मचारी भन्दै थिइन्, ‘खोप कार्यक्रम १० दिनसम्म चल्छ, खोप लगाउनेहरुमा केही असर देखिन्छ कि देखिँदैन, उनीहरुको प्रक्रिया बुझेर मात्रै कोरोनाविरुद्धको खोप लगाउनुपर्ला ।’
अस्पतालका कार्यालय सहयोगी लालबहादुर वाइवा पनि बुधबार खोप नलगाउने सोचमा थिए । जब अस्पतालका निर्देशक राजभण्डारी, अग्रमोर्चामा खटिएर संक्रमितको उपचार संलग्न डा. अनुप बाँस्तोलासँगै टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले खोप लगाए, तब उनको मनमा उठेको प्रश्नको जवाफ आफै मिल्यो । ज्येष्ठ नागरिक रेडियोलोजिष्ट अमात्य र उपचारमा संलग्न स्वास्थ्यकर्मीले धमाधम खोप लगाउन थालेपछि वाइवाको मनमा उठेका शंकाहरु निवारण भयो, उनी खोपका बारेमा ढुक्क बने । क्लिनिकल ट्रायलको क्रममा रहेको खोपप्रति कुनै शंका, डर नमानिकन अग्रजहरुले लगाएपछि आफूले पनि ढुक्क भएर खोप लगाएको उनले सुनाए ।