पर्वतमा साढे सात हजार मतदाता थप

सांकेतिक तस्बिर

आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनको तयारी पर्वतमा पनि थालिएको छ।

निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ। जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ। 

निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा २०७७ साल पुस ५ गतेसम्म मतदाता नामावलीमा विवरण टिपाएका १८ वर्ष पुगेका नागरिकले मतदान गर्न पाउने भएका छन्। पर्वतमा पुस ५ गतेसम्मको तथ्याङ्कमा एक लाख १४  हजार ८२१ मतदाता सूचीकरण भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। 

यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक लाख सात हजार ३०० मतदाता थिए। आगामी निर्वाचनमा अघिल्लो पटकभन्दा सात हजार ५२१ मतदाता थपिएको शर्माले बताउनुभयो जसमध्ये महिला ५९ हजार ६८ र पुरुष ५५ हजार ७५३ छन्।  निर्वाचनको तयारीस्वरुप यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावलीमा दाबी विरोधलाई समय निर्धारण गरेको छ। जिल्लाका सातै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्च्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजूरी दिन सकिने निर्वाचन अधिकारी शर्माले बताए। कार्यालयले सबै स्थानीय तहमा नाम दर्ता अधिकारी खटाइसकेको छ। 

त्यसैगरी आगामी निर्वाचनमा १४४ मतदान केन्द्र रहने भएका छन्। यसअघि २०७४ सालको निर्वाचनमा ७४ मतदानस्थलमा १३९ केन्द्र रहेकामा यस पटकको निर्वाचनमा एक मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लास्तरीय मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार एउटा केन्द्र थप्ने निर्णय भएको हो। 

चुनाव नियमित प्रक्रिया भएकाले निर्वाचन आयोग र मातहतका कार्यालय सधँै आवश्यक तयारीमै हुने शर्माको भनाइ छ। मुख्य काम निर्वाचनको एक महिनाअघि देखि शुरु हुने भए पनि अन्य स्रोतसाधनको आङ्कलन, मतदाता नामावली र मतदानस्थलको व्यवस्थापन नियमित प्रक्रिया भएकाले तयारी अवस्थामै रहेको उनको भनाइ थियो। प्रतिनिधिसभा निर्वाचनका लागि पर्वतमा एक निर्वाचन क्षेत्र छ। 

    माघ १५–२१ मा मतदाता नामावली अद्यावधिक गरिँदै

भोजपुर : जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकको कामको थालनी गर्ने भएको छ। कार्यालयले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न शरु गर्ने भएको हो।

यही माघ १५ गतेबाट २१ गतेसम्ममा सम्पूर्ण स्थानीय तहको अद्यावधिको काम सक्ने कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा भएको बैठकले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको काम सञ्चलान गर्ने निर्णय गरेको हो।  

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कार्यक्रमलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्षलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्।

 कार्य तालिकानुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने दाहोरो पर्न गएका नामावली हटाउने, उजूरी लिनेलगायतका दाबी विरोधका कार्यमा आवश्यक सहयोग समन्वय र प्रचारप्रसारका कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन निर्वाचन कार्यालयका प्रमुख पवनकुमार रेग्मीले बताए। 

सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी मिति तोकिएसँगै नामावाली अद्यावधिक तथा दाबी विरोधको काम शुरु गरिएको छ।  माघ १५ देखि २६ गतेभित्रमा भोजपुरलगायत ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने जनाइएको छ। 

यहाँका मतदान केन्द्र र मतदानस्थल परिवर्तन गर्ने तथा थप गर्ने काम सम्पन्न भइसकेको छ। जिल्लाका छ वटा मतदानस्थल परिवर्तन गरिएको छ भने छ मतदान केन्द्र थप गर्ने निर्णय भएको छ। जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र छन्।

    डोटीमा मतदाता अद्यावधिक शुरु

डोटीः जिल्लाका नौवटै स्थानीय तहमा निर्वाचनको तयारी तीव्र पारिएको छ। निर्वाचन कार्यालयका कर्मचारी अहिले गाउँगाउँमा पुगेका छन्। जिल्ला निर्वाचन कार्यालय डोटीले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ। कार्यालयले यहाँ राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ।  मतदाता नामावली अद्यावधिक गर्न नौवटै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको जिल्ला कार्यालयका प्रमुख डोटीका प्रमुख दलबहादुर मलासीले जानकारी दिए। 

वैशाखमा हुने निर्वाचनमा डोटीमा कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ। ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको कार्यालय प्रमुख मलासीले जानकारी दिए। विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी एक लाख छ हजार ५४३ मतदाता थिए। आगामी वैशाखमा हुने निर्वाचनमा मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ। 

विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले ११ हजार ७४ मतदाता थपिएका छन्। थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनैतिक दलहरुलाई सहयोग गर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ। अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने कार्यालयले जनाएको छ। विसं २०७४ को निर्वाचनमा डोटीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४.७९ प्रतिशत मत खसेको थियो। 

यस्तै समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो। जम्मा खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। रासस 

प्रकाशित मिति: : 2021-01-27 15:35:00

प्रतिकृया दिनुहोस्