जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भारतले दियो पद्म विभूषण पुरस्कार

Photo: The Yomiuri Shimbun
Photo: The Yomiuri Shimbun

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा दिइने प्रतिष्ठित पद्म पुरस्कार घोषणा गरेको छ। 

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घाेषणा गरिएको पुरस्कार अनुसार यसपटक ७ जनालाई पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री दिने निर्णय गरेको छ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे र गायक एसपी बालासुब्रमण्यम (मरणोपरान्त) पनि पद्म विभूषण प्राप्त गर्ने ब्यक्तिकाे सुचिमा परेका छन्। उनीहरूसँगै कलाकार सुदर्शन साहू, पुरातत्वविद बीबीलाल, मौलाना वहीदउद्दीन खान, चिकित्सा क्षेत्रमा कार्यरत डाक्टर मोनाप्पा हेगडे र ईन्जिनियर नरिंदर सिंह कपानीलाई भारत सरकारले पद्म विभूषणद्वारा सम्मान गर्ने भएको छ।

यीसँगै पद्म भूषणले १० जना सम्मानित हुनेछन्। असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईलाई मरणोत्तर पद्मभूषणबाट सम्मानित गरिनेछ।

पूर्वलोकसभा अध्यक्ष सुमित्रा महाजन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्वप्रधान सचिव नृपेन्द्र मिश्र, पूर्व केन्द्रीय मन्त्री रामविलास पासवान (मरणोपरान्त), धर्मगुरु काबेल सादिक (मरणोपरान्त)लगायत १० जना पद्मभूषण पुरस्कारबाट सम्मानित गरिने बताइएको छ। त्यसैगरी, पद्मश्रीद्वारा १०२ जना सम्मानित हुनेछन्।

यसअघि नेपाली समाजसेवी अनुराधा कोइराला र आँखा चिकित्सक डा. सन्दुक रुइतलाई भारत सरकारले पद्मश्रीबाट सम्मान गरिसकेको छ। पद्मश्री सम्मान प्राप्त गर्ने कोइराला पहिलो नेपाली समेत हुन्। भारतले प्रदान गर्ने नागरिक सम्मानमा भारत रत्न, त्यसपछि क्रमशः पद्म विभूषण, पद्म भूषण र पद्मश्री हुन्।

प्रकाशित मिति: : 2021-01-26 07:12:00

प्रतिकृया दिनुहोस्