सुन्दर अनुहार । सर्लक्क परेको कपाल । अग्लो कद ।
ऐना अगाडि उभिदाँ तुलसी घिमिरे सोच्थे, ‘म त हिरो बन्छु कि क्या हो !’
चलचित्रमा हिरो बन्ने रहर जागेपछि घिमिरे कालिङपोङबाट मुम्बईतिर लागे ।
चलचित्रको हिरो बन्छु भन्ने सोच्दै गर्दा घिमिरेले सुनेका थिए, ‘जति कम पैसा बोकेर संघर्ष सुरु गर्यो, उति धेरै सफलता पाइन्छ ।’
हुन त घिमिरेलाई अहिले पनि त्यो कुरा सत्य नै होजस्तो लाग्छ । उनी भन्छन्, ‘सफलता भनेको संघर्षले नै दिने हो । पैसाबिनाको संघर्षमा झनै दुःख देखिन्छ । जसले दुःख चिन्छ, उही नै सफल हुन्छ नि ।’
मुम्बई निस्किन झोला भिर्दा घिमिरेले पनि थोरै पैसा बोके । मुम्बई पुग्नेबित्तकै काम पाउने विश्वासले पनि उनले थोरै पैसा बोकेका थिए । तर, चलचित्रमा काम गर्न उनले सोचेजस्तो सजिलो कहाँ थियो र ? कसले उनलाई देख्नेबित्तिकै हिरो बनाइदिन्थे र ?
अझ मुम्बई पुगेपछि घिमिरेले चलचित्रमा कलाकार बन्न संघर्ष गरिरहेका विभिन्न व्यक्तिसँग भेटे । उनीहरूलाई देखेपछि घिमिरेको हिरो बन्ने सपना नै तुहियो ।
घिमिरे सम्झिन्छन्, ‘मुम्बई पुगेपछि हिरो बन्न संघर्ष गरिरहेका धेरै जनासँग भेट भयो । उनीहरूको शरीर, रूप, मिहिनेत हेर्दा मैले हिरो बन्छु भन्ने आस नै मारेँ ।’