भारतले अनुदानस्वरूप नेपाललाई दिने कोरोनाविरुद्ध खोपको १० लाख डोज लिएर त्यहाँबाट एयरइन्यिाको विमान उडेको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमानको तस्बिरसहित सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बिहीबार बिहान ११:३० बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइनेछ।
खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ।
खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खोप देशैभरका अस्पतालहरुबाट एकैपटक लगाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ।
उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ।