अमेरिकाका ४६औं राष्ट्रपति जो वाइडेनले पदको शपथ ग्रहणपछि पहिलो सम्बोधनमा सत्ताबाट भर्खरै बिदा भएका डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्। उनले नाम नलिईकन ट्रम्पकाे आलाेचना गरेका हुन्।
वाइडेनले यहाँ शक्ति र लाभ प्राप्तिका लागि झुट पनि बोलिने गरेको टिप्पणी गरे। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपतिको चुनावमा धाँधली भएको आरोप लगाएका थिए। नतिजा रद्दको माग गर्दै अदालतमा मुद्दासमेत हालेका थिए। तर अन्ततः उनको कुरा झुटो साबित भयो।
जनवरी ६ मा वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए। जसमा एक सरक्षाकर्मीसहित ५ जनाकाे मृत्यु भएकाे थियाे। तर ट्रम्पले त्यसमा आफ्नो संलग्नता नभएको दाबी गरेका थिए।
यिनै घटनलाई संकेत गर्दै वाइडेनले पहिलो भाषणमा ट्रम्पको आलोचना गरेका हुन्।
ट्रम्पका प्रमुख नीति उल्ट्याएर थाले काम
वाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम सुरु गरेका हुन्। शपथ ग्रहण गरेको केही घण्टापछि नै वाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरेका हुन्।
उनले कोरोना महामारी नियन्त्रणका लागि अभियान तीव्र बनाउने कार्यकारी आदेश जारी गर्नाका साथै ट्रम्प प्रशासनले अख्तियार गरेका जलवायु परिवर्तन, आप्रवासन तथा जातीयसम्बन्धी नीति उल्ट्याइदिएका हुन्।
उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा पुनः आबद्ध हुने (ट्रम्पले चीनसँग मिलेको आरोप लगाउँदै डब्लूएचओबाट अलग हुने निर्णय गरेका थिए)। भाइरस विज्ञ डाक्टर एन्थोनी फाउची यसै साता हुने डब्लूएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै सहागी हुने।
यता कोरोना महामारी सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने पनि निर्णय गरेका छन्।
साथै सबै संघीय परिसरमा मास्क तथा भौतिक दूरीको नियम पालना गरिने उनले जानकारी दिएका छन्।
उनले आगामी १०० दिनसम्म मास्क लगाइरहन नागरिकलाई आग्रह गर्ने अभियान थाल्ने भएका छन्। यता सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने निर्णय गरेका छन्।
यस्तै विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरिएकाे छ। वातावरणवादी तथा अमेरिकी आदिवासीले उक्त परियोजनाको दशकौंदेखि विरोध गरिरहेका थिए।
ट्रम्पले केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने वाइडेनले जनाएका छन्। यस्तै उनले मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण बन्द गर्ने निर्णय गरेका छन्।
यसैबिच माथिल्लो सदन सिनेटले नेशनल इन्टेलिजेन्स प्रमुखका लागि वाइडेनले प्रस्तावित गरेकी एभ्रिल हाइनेसको नाम अनुमोदन गरेको छ। उनी एजेन्सीको नेतृत्व गर्ने पहिलो महिला बनेकी छन्।
कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ, 'यी आदेशले ट्रम्प प्रशासनका नीति उल्ट्याउने मात्र नभई देशलाई अघि बढाउने छन्।'
वाइडेनले गम्भीर चुनौतिहरु रहेकाले खेर फाल्ने समय नरहेको बताएका छन्। उनले शपथपछिको सम्बोधनमा आफू सबै अमेरिकीका लागि काम गर्ने र सबैको राष्ट्रपति बन्ने बताए। उनले फरक मतहरुलाई राखेर एकअर्कालाई सुन्ने तथा मिलेर काम गर्नु पर्ने बताए।