मधेशसँग नौ दशकदेखि अन्तरङ्ग सम्बन्ध गाँसिएकी पद्मा 

‘आइल साल फुलल गाल, भादो महिनवा उहे हाल’, अर्थात् अन्नबाली भित्र्याई सकेको केही महिनासम्म मिठोमसिनो खान पाइन्थ्यो। वर्षात्को समयमा खाद्यान्न सकिन्थ्यो। खानाको सवालमा पुनः समस्या झेल्नुपथ्र्यो। उपर्युक्त देहाती कहावत ९० वर्षीय वृद्धाको आवाजमा सुनँ–सुनँ जस्तो लाग्छ। 

मधे शको परिवेशसँग जन्मजात उनको अन्तरङ्ग सम्बन्ध छ। सामुदायिक रुपमा मात्र उनी पहाडी हुन्। पर्सा जिल्लाको देहात उनको जन्मधर्ती हो। 

७५ वर्ष अघि वीरगञ्ज शहरमा विवाह भयो। जीवनको ९ दशक व्यतित गरिसकेकी वीरगञ्ज महानगरपालिका–२ की उनी हुन्, वृद्धा पद्मा नेपाल। 

संयोग नै भन्नुपर्छ, वृद्धाको नाम पद्मा नेपाल त हो नै। उनकी सासू पनि पद्मा नेपाल थिइन्। अहिले बुहारीको नाम पनि पद्मा नेपाल नै हो। 
तीन पुस्तासम्म एउटै नामको निरन्तरता आश्चर्यजनक संयोग भन्नुपर्छ। नवपुस्ताले पनि भविष्यमा कुनै ‘पद्मा नेपाल’ नै ल्याउने हुन् कि भन्दै एकछिन हाँसो ठट्टा पनि भएको थियो।  

म बिहान करीब नौ बजे पुगेँ। मौसम चिसो थियो। उनी सिरकले जिउदेखि अनुहारसम्म छोपेर ओछ्यानमा पल्टिरहेकी थिइन्। निद्रामा थिइनन्। नजिक उभिएर मैले भने, ‘आमा प्रणाम ! तबियत कैसन बा ?’ 

रजाइँभित्रैबाट उत्तर फर्काइन्, ‘खुशी रह, तबियत ठीक बाटे !’

यति भन्दै उनले प्रश्न गरिन्, ‘के ह ? कथि नाम ह ? कहाँ घर ह ?’

योभन्दा पहिले उनीसँग मेरो प्रत्यक्ष भेट्घाट र कुराकानी भएको थिएन। त्यसैले होला शायद् यति धेरै प्रश्न गरिन्। मैले भनेँ, ‘हमर नाम राजेश ह, आमा !’ 

यति मात्र भनेँ। केहीबेर चूप रहेँ। घर बताउन अलि ढिलो गरेँ। 

म उनको माइतीको नाम लिएर माइतीप्रतिको उनको भावनात्मक प्रतिक्रिया जान्न आतुर थिएँ। उनी सिरकभित्रबाटै पुनः प्रश्न गरिन्, ‘घरवा (घर) ना वाताव कहाँ ह ?’

उनी शत्रुध्न नेपालकी आमा हुन्। त्यसैले उनको माइती पर्साको धर्मपुर हो भनेर मलाई पूर्वजानकारी थियो। 

वीरगञ्जदेखि करिब २० किलोमिटर पश्चिम–उत्तर झखरा मसिहानीनजिक धर्मपुर गाउँपर्छ। मैले भने, ‘आमा हम सुननी हुँ– कादून अपने के तबीयत खाराब बा ? ओहिसे आइल बानी अपने के धर्मपुर लेजाए ला।’ यति सुनेपछि उनी सिरकसहित जुरुक्क उठिन्। 

अपवादबाहेक महिलाको लागि सन्तानपछि संसारको सबैभन्दा प्यारो केही छ भने ‘आमा र माइती’ नै हो। अस्वस्थ वा विषम परिस्थितिमा रहेको भए पनि ‘माइती’ शब्दले महिलाहरुलाई ओखतीको रुपमा शान्ति प्रदान गर्दो रहेछ। माइतीको नाम सुन्नेबित्तिकै महिलाको अनुहारमा मुस्कान र मनमा शान्ति नआउने कुरै हुँदैन। उनी चिहाएर मेरो अनुहार हेर्न थालिन्। 

वास्तवमा यसअघि उनको आखाले मेरो अनुहार कहिल्यै देखेको थिएन। उनको कानले मेरो स्वर कहिल्यै सुनेको थिएन। त्यसैले मेरो अनुहार र स्वर उनको लागि नौलो थियो। उनको लागि म बिल्कुल अपरिचित थिएँ। त्यतिकैमा शत्रुध्न दाइ आए र आमालाई मेरो परिचय बताइदिए। 

शत्रुध्न नेपालकी पत्नी मेरी भाउजू पद्मा नेपालले मलाई गर्मागरम चिया ल्याइदिइन्। भाउजू किचेनमा र दाइ कम्पयुटरतिर लागे। म र आमाबीच ढेंठ भोजपुरीमा कुराकानी हुन थाल्यो।  

नौ दशकअघि पर्सा जिल्लाको झखरा मसिहानीनजिकै रहेको धर्मपुर गाउँमा उनको जन्म भएको थियो। दुई दिदी बहिनी र दुई भाइमध्ये उनी जेठी हुन्। बुबा र आमाको पहिलो सन्तानको रुपमा उनको जन्म भएपछि परिवार त खुशी थियो नै, गाउँले समेत हर्षित थिए। आमा (उमा देवी ढुंगाना) ले भनेको कुरा उनलाई झल्झल्ती याद छ। 

गाउँका मानिस एकले अर्कोलाई भन्दै थिए, ‘हो, थाह बा तोहरा ? उमा काकी के बेटी नु भइल खिय।’
एक–कान दुई–कान हुँदै वरिपरिका गाउँहरु झबराहा, मसिहानी, सन्ठी, मनिअर्वा तथा निचुटाका आफन्तजनसम्म उनको जन्मोत्सवको खबर पुग्यो। 

वृद्धाको माइती गाउँ धर्मपुरमा ६ घर पहाडी परिवारको बसोबास रहेको थियो। यसअलावा झखरा, मसिहानी, सन्ठी र लमरियामा पनि पहाडी समुदायको बसोबास थियो। 

गाउँघरका मानिससँग कुराकानी गर्ने माध्यम भोजपुरी भाषा नै थियो। अपवादबाहेक परिवारमा समेत भोजपुरी भाषा नै चलनमा थियो। यद्यपि कुटुम्बहरुसँग नेपाली भाषामा कुराकानी गरिन्थ्यो। 

१५ वर्षको उमेरमा उनको विहे वीरगञ्ज छपकैयाको धुनप्रसाद शर्मासँग भएको थियो। आषाढ महिनामा भएको बिहेमा दुल्हा पाल्की चढेर आएका थिए। ‘बराती’ (जन्ती) हरु बैलगाडामा र केही पैदल पुगेका थिए। आजजस्तो विभिन्न परिकार वा माछा/मासुको चलन थिएन। 

आर्थिक आम्दानी र खाद्यान्न सामग्रीको उपलब्धता आजको जस्तो थिएन। बारातीलाई दाल–भात वा दही–चिउरा खुवाइन्थ्यो। राती बिहे भयो। एकाबिहान ‘बरियात’ फर्कियो। मोहरफा (मेहना) मा दुलहीको श्रृङ्गारमा सजिएर पतिको घर आएको कुरा उनको सम्झनामा ताजै छ। 

उनी आफ्नो जीवनकालका तिता–मिठा पलहरु पार गर्दै बाँचिरहेकी छिन्। उनी भन्छिन्, ‘जीवनमा पीडादायी समयको सामना नगर्ने कोही पनि नहोला। दुःख र सुख भनेको जीवनको अभिन्न साथीजस्तै हुन्।’ एक छोरा र एक छोरीको सानैमा अवसान भयो। दुई छोरा र दुई छोरी बाँचे। 

पति पनि परमधाम गइसकेको धेरै भयो। पछिल्लो समय नाति (शत्रुध्नको छोरा) गुमाएको गहिरो पीडा मनमा आइरहन्छन्। छोरा–बुहारी, छोरी–ज्वाइ“ र नाति पनातिहरुलाई देखेर विगतको पीडा कम हुने बताउँछिन्। पहाडी समुदायका उनी फर्रर भोजपुरी भाषामा कुरा गर्दा पहाडी हुन् कि मदेशी ठम्याउन मुस्किल पर्छ।    

विगतमा प्रसुति महिलाको सवालमा उनको अनुभव यस्तो छ, ‘उतिबेला गाउँ–गाउँमा स्वास्थ्य केन्द्र थिएन। एकमात्र वीरगञ्जमा स्वास्थ्य सेवा उपलब्ध थियो। वीरगञ्ज आउनलाई सडक र सवारीको उपलब्धता आजको जस्तो थिएन। 

प्रसुतिहरुको लागि ‘चमइन’ नै डाक्टर सरह सहयोगी थिए भन्नुपर्छ। उनी भनिन्, ‘गाउँमा एक भनाई नै प्रचलित थियो–‘जे जराई पेटा, उ खेलाई बेटा।’ 

यसको भावार्थ के हो भने पेटमा बच्चा रहेदेखि जन्मेपछिको केही महिनासम्म गरिष्ठ वा अपाच्य भोजन सुत्केरीले गर्नुहुँदैन। जिब्रोले मागे अनुसारको भोजन गर्नुहुँदैन। जुन सुत्केरीले सुपाच्य भोजन गर्छिन्। ऊ आफू र बच्चालाई स्वस्थ्य राख्छिन्। 

माइतीमा उनले नजरबन्दको तमाशा देखेको कुरा आजसम्म याद छ। खलिहानीमा सोहोरेको धानले दुलदुल घोडाको खेल, भालु र बाँदरको खेल, नजरबन्दको खेल आदि हेर्न पाइन्थ्यो। 

एक प्रसङ्गमा उनी भनिन्, ‘रहिला (चना), खेंसारी आ काँच गहुँके ‘होरहा’ (आगोमा पोलेको) खाए में बडी स्वादिष्ट लागे।’ 

अहिले थरीथरीका सामग्री उपलब्ध छन् तर हाम्रो बेलाको पारम्परीक खाद्यँन्न बिषादी रहित थियो। अचेल बिषादी रहित पाउन मुश्किल छ। देहातको छानामा फलेको कोंहडाको तरकारी र भँथुवाको अदौरी उनलाई धेरै मन पर्छ।

वीरगञ्जदेखि माइती धर्मपुरसम्म धेरैपटक पैदल यात्रा गरेको स्मरण छ उनलाई। माइतीको यात्राबारे उनी भनिन्, ‘तीन घण्टा हिँडेर पोखरिया पुगेँ, एक जनाको ठाँटीको घर थियो। कसको थियो, नाम याद छैन। एक बुढीआमाले भन्थिइन्, ‘बबी सुस्ता ल, खा ल त जइह (नानी आराम गर, खाउ अनी जानु), केहीबेर आराम गरिन्थ्यो, खाना खाइन्थ्यो, त्यसपछि धर्मपुरको यात्रा गरिन्थ्यो।’

यस वर्ष अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक संघ पर्साले सम्मान गरेकोमा उनी हर्षित छिन्। जन्मदेखि आजसम्मको जीवन यात्रा फर्केर हेर्दा लामो यात्रा गरे झैं अनुभुति हुँदो रहेछ, उनलाई। 

हिजो बुबाआमाको काखमा हुर्कियो। सखीसहेलीसँग रमाइलो गरियो। बिहे भयो। पतिसँग जीवन बिताइयो। आमा भइयो। छोराछोरी हुर्काइयो। सासू भइयो। जीवनमा नाति–नातिना आए। हजुरआमा भइयो। 

स्मरण् गर्दा, सगरमाथाको शिखरमा पुगेजस्तै नौ दशक लामो जीवनयात्रा हिजोको कुराजस्तो लाग्छ उनलाई। छोरा र बुहारीले खानेबारे सधैँ सोधिरहने कुराले आत्मसन्तुष्टि हुँदोरहेछ, उनलाई।

चिसो भएकोले आज उनलाई चम्सुरको साग र भन्टाको तरकारी खान मन छ। उनले छोरा शत्रुध्नलाई बताइसकेकी छन्। आमाको जीवनयात्रा सुखशान्तिसँग बितोस्, हाम्रो यही कामना छ।

प्रकाशित मिति: : 2021-01-15 11:35:00

प्रतिकृया दिनुहोस्