ओली पदबाट झर्नैपर्छ, त्यो दिन धेरै छैन: नेतृ शाक्य (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्माको कदमले कम्युनिस्ट आन्दोलनलाई केहि धक्का लागेको बताएकी छिन्। ओली सत्ताबाट झर्न धेरै समय नभएको उनको ठहर छ। 

बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले भनिन्,‘आन्दोलन निर्णायक बिन्दुमा पुग्न धेरै बेर लाग्दैन। ओली पदबाट झर्नैपर्छ। त्यो दिन धेरै छैन। ओलीले घुँडा टेक्नैपर्छ।’

उनले प्रधानमन्त्री ओली कमरेडबाट तानाशाह बनेको आरोप लगाएकी छिन्। 

‘तानाशाही र स्वच्छाचारी भएकाले उनलाई कमरेड भन्नुको औचित्य सकियो। कम्युनिस्ट आचरण एक रत्ति पनि नभएकोलाई कसरी कमरेड भन्नु,’ उनले प्रश्न गरिन्।

उनले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले चीरहरण गरेको समेत आरोप लगाइन्।

‘ओलीले हामीले दुःख गरेर बलिदान गरेर ल्याएको संविधानमाथि धावा बोले, संघीयतामाथि, गणतन्त्रमाथि अपहरण र चीरहरण गरेका छन्’, उनले भनिन्।

प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौं तातिसकेको पनि उनले बताइन्। ‘काठमाडौं कि तात्दै तात्दैन,तातेपछि सेलाउँदैन। अब काठमाडौं तातिसकेको छ,’ उनले भनिन्।

नेतृ शाक्यले काठमाडौं तातेपछि हरेक आन्दोलन सफल भएको दावी गर्दै ओलीविरुद्धका आन्दोलन निर्णायक बन्ने बताइन्।

 ‘ओलीविरुद्धको आन्दोलन निर्णाय बन्न धेरै समय लाग्दैन, उहाँले कुर्सी छाड्नै पर्छ’, उनले भनिन्। 

प्रकाशित मिति: : 2021-01-13 14:37:00

प्रतिकृया दिनुहोस्