झापास्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार साँझ साढे ७ बजे दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरर्णाथी सिबिर सेक्टर नं. डी ४, छाप्रा नं. ३२५ मा बस्ने ६० वर्षीय देशमान राईको मृत्यु भएको हो।
बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा अचानक आगलागी हुँदा त्यसभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी राईको घटनास्थलमै मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले दिए।
आगलागीबाट छाप्रा, छाप्राभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद ३ लाख रुपैयाँ, खाद्यान्य तथा लत्ताकपडा सबै जलेकाले अनुमानित ८ लाख रुपैयाँको धनमाल क्षति भएको छ।
आगलागी स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा राति सवा ८ बजे निभाइएको थियो।
पोस्टमार्टमका लागि राईको शव दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। आगलागीको कारण थाहा हुन नसकेकाले थप अनुसन्धान भइरहेको छ।