ट्रम्पलाई अर्काे धक्का, आन्तरिक सुरक्षा मन्त्री चाड वुल्फले पनि दिए राजीनामा

Greg Nash/Pool/Getty Images
Greg Nash/Pool/Getty Images

अमेरिकाका कार्यबाहक आन्तरिक सुरक्षा मन्त्री चाड वुल्फले राजीनामा दिएका छन्।

 राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा कार्यबाहक वुल्फले सोमबार मध्यरात (स्थानीय समय) देखि लागु हुने गरि राजीनामा दिएका हुन्।

सन् २०१९ को नोभेम्बरदेखि वुल्फ कार्यबाहक आन्तरिक सुरक्षा मन्त्रीका रुपमा कार्यरत थिए।

उनले राजीनामा दिएलगत्तै संघीय आकश्मिक व्यवस्थापन एजेन्सीका प्रमुख पिट गेनोरले कार्यबाहक आन्तरिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका छन्।

गएको बुधबार राष्ट्रपति ट्रम्पको उक्साहटमा उनका समर्थकले संसद भवनमा गरेको हिंसात्मक आक्रमणपछि तीन मन्त्रीले राजीनामा दिइसकेका छन्। 

यसअघि शिक्षा मन्त्री बेट्सी डेभोस र यातायात मन्त्री एलिन चाओले राजीनामा दिएकी थिइन्।

संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले ट्रम्पका समर्थकहरुले हतियारसहित अबको केही दिन देशभर हिंसात्मक प्रदर्शनको तयारी गरेको चेतावनी दिएका बेला वुल्फले राजीनामा दिएका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएका जो वाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको एफबिआईले उल्लेख गरेको छ।

जनवरी २० मा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि ५० वटै राज्यका राजधानी तथा वासिङ्गटन डिसीमा भेला हुने तयारीमा हतियारधारी समूह रहेको जानकारी प्राप्त भएको एफबिआईले जनाएको छ।

अहिलेसम्म राष्ट्रपतिमा निर्वाचित वाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले क्यापिटल हिल बाहिर हुने विशेष कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने तयारी छ।

शपथग्रहण समारोहलाई सुरक्षित पार्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि चिन्ता थपिएको छ।

प्रकाशित मिति: : 2021-01-12 08:40:00

प्रतिकृया दिनुहोस्