र....... उमेशले सुदीक्षालाई अमेरिका उडाउन सकेनन्

बिएल संवाददाता

काठमाडाै‌ं

(पुष २४ गते)शुक्रबार राती करिब पौने नौ बजे महानगरीय प्रहरी वृत महाराजगञ्जमा एक अपरिचित महिलाले फोन गरिन्। ती महिलाले अतालिदै भनिन्,‘यहाँ मेरी बहिनी र ज्वाँइको हत्या भएको छ।’ 

सुचना आएको ५ मिनेटमै महाराजगञ्जका डीएसपी रोशन खड्काको टोली टोखा नगरपालिका–३ ग्राण्डी भिलाको अपार्टमेन्टमा पुग्यो।  

प्रहरीको टोली पुग्दा पलङमा रगत बगिरहेको अवस्थामा एक पुरुषको शव थियो। ती पुरुषको शवको अलिक तलपट्टी एक महिला झुन्डिएको अवस्थामा थिइन्।

प्रहरीले सुरुमै सुचना दिने महिलालाई खोजतलास गर्‍यो। ती सूचना दिने महिला रहेछिन् मृतक महिलाकी दिदी शर्मिला गिरी। 

प्रहरीले मृतकबारे सोधखोज गर्दा ती महिला सुदीक्षा रहेको खुल्नमा आयो। 

प्रहरीले घटनास्थलमा पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्‍यो। घटनास्थलमा लोहोरो फेला परेको थियो। त्यसमा लतपतिएकोको थियो रगत। 

रगतमा लतपतिएको पुरुषको शव भने परिचान गर्न प्रहरीले सकेन। उता शर्मीलालाई पनि हम्मेहम्मे भयो। 

प्रहरीले अनुसन्धानको सुरुमै सुदीक्षाले उक्त पुरुषको हत्या गरेको हुनसक्ने अनुमान लगायो। ती पुरुषको टाउँको मसला पिस्ने लाहोरोले हानेको देखिएको छ। यता उनको शरिरमा चोटैचोट देखिएकोले पनि अनुसन्धानको सुइ उनीतिरै नफर्किने कुरै थिएन।

त्यसमाथि उमेशको शव कुहिएर गनाएको अवस्था थियो भने सुदीक्षाको शव भने ताजा अवस्था थियो।

यो हत्याले एक बर्ष अगाडि पूर्व सचिव अर्जुन कार्कीको घरमा उनकै श्रीमती गिता कार्कीको हत्या गरेर कामदारले आफूले आत्महत्या गरेको झझल्को दियो प्रहरीलाई।  

तर अनुसन्धानमा खटिएका प्रहरी टोली सदस्यको मनमा भने ती पुरुष को हुन्? भनेर खुल्दुली बढायो। 

पारिवारिक स्रोतलाई मान्ने हो भने शर्मिलाले ती पुरुष र उनको परिवार चिनेकी थिइनन्।  

प्रहरीले पुरुषको पहिचान नभएको भन्दै स्थानिय जनप्रतिनिधि, शर्मिला र उनका भाईको रोहवरमा घटनाको मुचुल्का उठायो।

त्यसपछि शुक्रवार राती नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्ज पठायो। 

यता शनिवार (पुष २८) गते विहान ३ बजे ती मृतक पुरुषको पहिचान खुल्यो। उनी रहेछन् वानेश्वरका ३३ वर्षीया उमेश केसी।

भाइबरमा क्यानडाबाट माइजुले फोन गरेर बताएपछि मात्र थाहा भयो उनी रहेछन् उमेश।

हतासमा उमेशका दाजु हिमेश विहानै महानरीय प्रहरी वृत महाराजगञ्ज पुगे। 

घटनाबारे बुझ्न गएका उनीहरुलाई मृतकाको परिचान नखुलेकोले खबर नगरेको प्रहरीले जवाफ दियो।

शुक्रवार दिउँसो वानेश्वरमा आफ्ना दाजु हिमेशसहित परिवारसँग भेटघाट गरेर करिब बेलुका ४ बजे आफूहरु बस्दै आएको टोखाको हाउजिङमा गएका थिए। 

त्यसपछि उनीहरुको सम्पर्क परिवारसँग नभएको मृतक उमेशका दाजु हिमेशले बिएल नेपाली सेवालाई बताए। 

‘दिउँसो वानेश्वरमा पारिवारीक जमघट थियो। त्यो सकिए लग्तै उनीहरु टोखा लागेका थिए,’ मृतकका दाजु हिमेशले भने,‘त्यसपछि हाम्रो सम्पर्क भएको थिएन।’

उमेशको हत्या र त्यसपछि उनी श्रीमती सुदीक्षाले गरेको आत्महत्यामा त्यहाँ भेटिएका सबुत प्रमाणले तेस्रो पक्ष हत्यामा संलग्न हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनायो। 

प्रहरीले सुदीक्षासँग जोडिएका व्यक्तिहरुलाई सम्पर्क गर्दै अनुसन्धान अगाडि बढायो। तर हातमा लाग्यो शून्य।

यता प्रहरीलाई उमेशका परिवारले दबाब दिन थाले।

परिवारले घटनाको मुचुल्का उठाउने समयमा आफूहरुलाई नबोलाएको र अगाडिको ढोका केही नभएको तर पछाडिको ढोकाको चुकुल निकालिएका जस्ता कुराले यो तेस्रो पक्षको हात रहेको दाबी गरे। 

‘प्रहरीले हामीलाई किन बोलाएन्? हत्या भएपछि त्यहाँ भएका पहिचान खुल्ने कागजहरुले पनि हामीसँग सम्पर्क हुनसक्थ्यो तर पहिचान नभएर नबोलाएको गैरजिम्मेवारी जवाफ दिएको छ,’ मृतकका दाजु हिमेशले बिएल नेपाली सेवालाई भने,‘ यी यावत कुराले गर्दा तेस्रो पक्ष पनि संलग्न भएको अनुमान सहजै लगाउन सकिन्छ।’ 

प्रहरी भने पोष्टमार्टको पर्खामा रह्यो। आइतबार त्रिविले पोष्टमार्टम रिपोर्ट प्रारम्भिक प्रतिवेदन बाहिर ल्याएपछि अमेरिका जान लागेका वानेश्वरका ३३ वर्षीय उमेश र सुदीक्षाको हत्यापछिको आत्महत्यालाई प्रमाणित गर्ने तथ्य आएपछि घटनाको ‘च्याप्टर’ लगभग ‘क्लोज’ भएको हो। 

आइतबारको प्रारम्भिक रिपोर्ट अनुसार सुदीक्षाले उमेशको हत्या गरेको केहि समयपछि आफूले आत्महत्या गरेको प्रमाणित भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए। 

‘सिलौटोको लोहोले हानेर हत्या गरेको र केहि समय पछि आफै आत्महत्या गरेको प्रारम्भिक रिपोर्टमा देखिएको छ,’ एसएसपी सिंहले बिएल नेपाली सेवासँग भने,‘थप कुरा अनुसन्धान पछि पत्ता लाग्ला।’

त्रिवि शिक्षण अस्पतालका चिकित्सकका अनुसार उमेशको हत्या भएको १० देखि १२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको देखिन्छ। 

चिकित्सकले उमेशको मृत्युको कारण  ‘ब्लन्ट फोर्स इन्जुरी’ बताएका छन्। निधारमा लागेको चोटका कारण ‘ओभर ब्लिडिङ’ भएर ज्यान गरेको चिकित्सकले निस्कर्ष निकालेका छन्।

एसएसपी सिंहका अनुसार पोष्टमार्टम रिर्पोटको लिखित रिपोर्ट नआए पनि तेस्रो पक्षको संलग्नता देखिएको छैन। 

‘अहिलेलाई तेस्रो पक्षको संलग्नता देखिने प्रमाण फेला परेका छैनन्,’ एसएसपी सिंहले भने। 

उमेशका कागजात भेटिएनन्

घर परिवारको मन्जुरी विना ६ वर्ष अगाडि उमेश र सुदीक्षाको विवाह भएका थियो। त्यससँगै सुदीक्षा माइतीको रेखदेखमा टोखा बस्दै आएकी थिइन्। 

सुर्खेत स्थाई घर भएका माइती टोखामा बस्ने भएकाले उमेशले सुदीक्षालाई उनीहरुको नजिकै आपर्टमेन्टमा राखेका थिए।

उमेश २०७२ साल बैशाख २८ गते सुदीक्षालाई नेपालमै छाडेर  ‘विजनेश इन मास्टर्श’ पढ्न अमेरिका भासिए। 

सानैदेखि तिछ्ण दिमाग भएका उनले विजनेश इन मास्टर्श सकेर व्यापार गर्दै आएका थिए। उनले अमेरिकाको वासिन्टन डिसीमा कफि शप र रेस्टुराँ चलाउँदै आएका थिए।

आफ्नो पढाई पुरा गरेपछि उनले त्यहाँ व्यापार गरेर नेपालमा सुदीक्षाकी दिदी शर्मिलालाई २ करोड रुपैयाँ घर बनाउन सहयोग गरेको परिवारलाई बताएको दाजु हिमेशले बताए। 

‘उसले हामीलाई दिदीलाई घर बनाउन २ करोड जति सहयोग गरेको बताएको थियो,’ हिमेशले भने,‘त्यस बाहेक सामाजिक सञ्जाल सगुनमा पनि ८/९ करोड नेपाली रुपैयाँ जति लगानी गरेको भन्थ्यो।’

सामाजिक सञ्जाल सगुनका गोविन्द गिरी सुदीक्षाको नजिकको आफन्त भएको हिमेशले बताए।

‘अब गएर त्यो पैसा झिकेर अरु व्यापार गर्छु भन्थ्यो,’ दाजु हिमेशले भने,‘तर दैबले देख्न सकेन्।’

उमेशले गत असोजमा अमेरिकाको ग्रीन कार्ड पाएपछि परिवारकै सल्लाहमा श्रीमतीलाई अमेरिका लैजानले योजना बनाए।  

परिवारकै सल्लाह बंमोजिम उनी यहि कार्तिक ६ गते श्रीमतीलाई लिन नेपाल ओर्लिए। उनी आउँदो माघ १ गते श्रीमतीसहित अमेरिका जाने योजनामा थिए। 

उमेशका दाजुका अनुसार परिवारसँग राम्रै सम्बन्ध भएको थियो सुदीक्षाको। उनीहरुको आफ्नो चाहना अनुसार नै बसेका थिए। 

‘परिवारसँग राम्रो सम्बन्ध थियो। अरु आउनुहुन्थ्यो तर दिदी शर्मिलासँग मात्रै हाम्रो सम्पर्क थियो। भाई अमेरीका जाने बेलामा बुवाआमा आउनु भएको थियो रे,’ मृतकका दाजु हिमेशले भने,‘त्यस बाहेक अरु कुनै परिवारका सदस्यहरुसँग चिनजान छैन।’

यता प्रहरीले अमेरिका जान तयार पारेको कागजात खोज्न थाल्यो। 
तर फेला पार्न भने सकेन्। 

उनीसँग नागरिकता, पासपोर्ट लगायत अमेरिका जनाको लागि चाहिने आवश्यक कागजातहरु नभेटिनुले पनि हत्या भएको परिवारले दाबी छ। 

‘अमेरिका जानको लागि आवश्यक पर्ने कागजात थियो तर परिवारले घटना स्थलबाट ती कागजात भेटाएन, ती कागजपत्रहरु कहाँ गए?’ मृतकका दाजु हिमेशले प्रश्न गरे।
 

प्रकाशित मिति: : 2021-01-11 18:18:00

प्रतिकृया दिनुहोस्