कोरोनाविरुद्धको खोपः खरिदमा भारत, रुस र युइएलाई सरकारको पहिलो प्राथमिक्ता

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना भाइरसविरुद्धकाे खोप ल्याउन भारत, रुस र युइएसँग छलफल गरिरहेको बताएका छ।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिरहेकोले खोप चाँडै आउने जानकारी दिए। 

‘रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको छ,’ उनले भने,‘सरकारले ती देशका सरकारसँग निकटम सम्बन्ध राखेर खोप प्राप्तिका लागि पहल गरिराखेको छ।’

उनले खोप ल्याउन सहज भने नरहेको स्पष्ट पारे। 

‘छिमेकी देशहरूमा खोप आइसक्यो हामीले कहिले पाउने भन्ने चिन्ता देखिएको छ। समाचारहरू पनि आएका छन्। खोपको प्राप्ति अन्य व्यवसायिक चिजजस्तो रहेन। यो राजनीतिक सामग्री हुन पुगेको छ। केही निश्चित देशमा यसको विकास र आपूर्ति गर्न सक्ने अवस्था छ,’ उनले भने।  

 उनले खोप खरिदमा निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी रहेको जानकारी दिए।  

उनले भने, ‘सकेसम्म सरकारले अरू देशका सरकारसँग नै समन्वय गरी खोप प्राप्तिका काम गर्छ। खरिद प्रक्रियामा निजी क्षेत्रलाई पनि पर राख्दैनौं।’

कोभ्याक्सबाट आउने खोप सुरुमा जोखिम वर्ग, ५० वर्ष उमेर माथिका र दीर्घरोगीलाई लगाइने समेत उनले जनाए। 

कोभ्याक्समार्फत आउने खोप सुरुमा ३० प्रतिशत जनसंख्यालाई दिइने र बाँकी ३० प्रतिशत खरिद प्रक्रियामार्फत ल्याइने जानकारी दिँदै त्रिपाठीले निःशुल्क खोप प्रदान गरिने जानकारी दिए। 

‘खोप खरिदका लागि अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भइसकेको छ। र कानुनी अड्चनसमेत हल भइसकेको छ,’ उनले भने। 

उनले खोप ल्याएपछि भण्डारण र खोप लगाउने जनशक्तिलगायत आन्तरिक व्यवस्थापनको काम अब धेरै बाँकी नरहेको पनि बताएका छन्। 

‘खोप लगाउनको लागि १६ हजार खोप केन्द्र परिचालित गरिने छ,’ मन्त्री त्रिपाठीले भने,‘ यस कार्यमा खट्नको लागि ५ हजार कर्मचारी र ५२ हजार स्वयंसेवक खटाइने छ।’

खोप भण्डारण पर्याप्त रहेको उनले बताए। संक्रमणको दर घटेपनि जोखिम पनि यथावत् रहेको बताउँदै मन्त्री त्रिपाठीले सतर्कता अपनाउन समेत आग्रह गरे।

प्रकाशित मिति: : 2021-01-11 16:21:00

प्रतिकृया दिनुहोस्