पर्यटन व्यवसायीको मागः विदेशी पर्यटकलाई ७ दिन क्वारेन्टिन बढी भयो, एयरपोर्टमै पीसीआर गरौँ

नेपाल खबर

काठमाडाैं

पर्यटन व्यवसायीले ७ दिन क्वारेन्टिनको व्यवस्था हुँदा विदेशी पर्यटक आउन नमानेको बताएका छन्।

व्यवसायीहरुले ७ दिन क्यारेन्टिनको सट्टा विदेशी पर्यटकको एयरपोर्टमै पीसीआर टेष्ट गर्न माग गरेका हुन्। 

पर्यटन व्यवसायीहरुको छाता संगठनले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग एयरपोर्टमा पिसिआर टेष्टगरी नेगेटिभ आए घुम्न दिनुपर्ने बताएका छन्।

पर्यटन व्यवसायीले वसन्त ऋतुमा नेपाल घुम्न आउने भन्दै बुकिङ गरेका पर्यटकले समेत बुकिङ रद्द गरिरहेको बताएका छन्। व्यवसायीले नेपाल घुम्न आउने पर्यटकलाई अनअराइभल भिसा, ७ दिन क्वारेन्टिन व्यवस्था र पीसीआर रिपोर्टले अन्योल परेको बताएका छन्। 

‘नेपाल आउन विदेशी पर्यटक अहिले पनि चासो देखाइरहेका छन्। इन्क्याइरी आइरहेका छन्’, टे«किङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘तर हाम्रो झन्झटिलो प्रक्रियाले गर्दा आउन चाहेनन्।’

उनले पीसीआर नेगेटिभ भएका पर्यटकलाई सहजै नेपाल प्रवेश दिनुपर्ने बताउँदै एयरपोर्टमै स्वाब संकलन गर्ने व्यवस्था गर्नुपर्ने बताए।

‘अहिले विश्वभर कोरोनाविरुद्ध खोप लगाउन सुरु भएको छ। खोप लगाएर नेपाल आउन चाहने पर्यटकलाई के गर्ने? खोप लगाएकालाई पनि पीसीआर नेगेटिभ माग्नु व्यावहारिकता हुँदैन कि?’, सुवेदीले भने।

टानका पूर्वअध्यक्ष नवराज दाहालले अराइभल भिसा सहजै पाउने व्यवस्था गर्नुपर्ने बताए। ट्रेकिङ परमिटलाई सहज बनाउनुपर्ने उनको भनाइ छ।

‘अनअराइभल भिसाको बारेमा स्पष्ट नहुँदा नेपाल आउन चाहने पर्यटकले समेत दुःख पाएका छन्’, दाहालले भने, ‘भिसाको लागि दूतावास जानुपर्ने भनिएको छ। कुनै दूतावासले नेपाल गएपछि एयरपोर्टमै भिसा पाउने बताउँदा नेपाल आएका पर्यटकले पनि दुःख पाएका छन्।’

प्रकाशित मिति: : 2021-01-11 15:26:00

प्रतिकृया दिनुहोस्