एउटै माघमा कक्रिएर हामी
सिरकभित्र गजधम्म पसी
सगरमाथा र कंचनजंगाको
चर्चा गरिरहेका छौं।
यस्तै माघ थियो उ बेला पनि
जहाँ हाम्रा जीजु बाजेहरु
एक सर्को लुगामा
जंगल फाँडिरहेका थिए
हो हाम्रा पूर्खाहरु
उ बेला यस्तै माघमा
सगरमाथा चढिरहेका थिए।
जातीयताको कुरा गर्दै हिंडेको
धेरै भो हामी
टिस्टा वारी र टिस्टा पारी
अनि टिस्टा को बगरै बगर
धेरै भो लडेको हामी
धेरै भो बगेको हामी
हाम्रा पूर्खाहरु पाखुरी भर मै
विश्व चहारी सके
अनि हामी
हाम्रै सीमानामा सुस्ताई रहेछौं।
ए ! माटोमा सीमा रेखा कोर्नेहरु
त्यो आकाशमा सीमा कोरेर देखाउ
क्षितिजसम्ममात्र देख्ने तिम्रा नजरहरु
कति विषाक्त भैसकेका छन्
अनि हामी
दोषी नजर बोकेर
बिजुवा खोजिरहेछौं।
ए ! माघमा कक्रिनेहरु हो !
कसरी सहने हो ग्रीष्मको उद्दण्डता
पोल्ने छ भत् भत् तिम्रा कायाहरु
अनि बनावटी हावा घरभित्र थुनेर
शीतल समीरको
आनंद उठाईरहेछौ।
हिजो हाम्रा पुर्खाहरु
समय कटनी मेलो सार्न
खन्यु र नेभाराहरुमा
सुसेली मार्दै गीत गाउँथे
हो त्यही क्षण
तssssल टारबाट
माइली उकालो हेर्ने गर्थिन्
माssssथीबाट फूलमाया
तssssssल हेर्ने गर्थिन्
अनि शर्माएर जान्थिन्।
खै त अहिले हामी
न खन्यु न नेभारा
हातभरीको मोबाइल मै
जुनी बिताईरहेछौं
हो हामी एउटै माघमा
धेरै कक्रिरहेछौं।
न हामीले समय सम्हाल्न सक्यौं
न समयले हामीलाई सम्हाल्न सक्यो
समय कुदीरहेछ
हामी कुदीरहेछौं
यी रफ्तारहरुमा
यी दौड़धुपहरुमा
हामी नै पछाडिरहेछौं
सपना सजाउने क्रममा भोलीको
अस्तित्व गुमाइरहेछौं
ए !माघमा कक्रिनेहरु हो
हामी
एउटै माघमा कक्रिरहेछौं।