पर्साको नारायणी अस्पतालमा ६१ जनाको स्वावको नमुनाको पीसीआर परीक्षण गर्दा बारा, पर्साका गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालका कोभिड १९ संयोजक डा सरोज रोसन दासले दिएको जानकारी अनुसार बाराका ३ र पर्साका ३ जना गरी कुल ६ जनामा कोरोना पुष्टि भएको हो।
पर्सामा थपिएका संक्रमितहरु वीरगञ्ज महानगरपालिका १० का ४८ वर्षीय एक महिला र त्यहीँ ठाउँका एक ५० वर्षीय पुरुष र वडा नम्बर १५ बस्ने एक २५ बर्षीय महिला रहेको डा दासले बताए।
यसैगरी बाराको जितपूर सिमरा उपमहानगरपालिका वडा नम्बर एकमा दुई जना पुरुष र एक महिला गरी तिन जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका संयोजक डा दासले जानकारी दिए।
दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु २३ देखि ३३ रहेको छ।