‘अमेरिकी संसदमा भएकाे हिंसात्मक घटनाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ’ (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रियसभा सदस्य कोमल वलीले अमेरिकी संसदमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेकी छिन् । 

बिहीबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै संसद अमेरिकामा भएको हिंसा लोकतन्त्रमाथि नै खतरा भएको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भड्काएको हिंसामा परी हालसम्म चार जनाको मृत्यु भएको छ।

राष्ट्रपति ट्रम्पका समर्थकले संसद भवनमा गरेको आक्रमणको क्रममा एक महिलाको गोली लागेर तथा अरु तीनजना (एक महिला र दुई पुरूष)को ‘आकश्मिक स्वास्थ्य समस्या’ का कारण निधन भएको प्रहरीले जनाएको छ।

उनले भनिन्,‘अमेरिकी संसदमा जुन हिंसात्मक घटना भयो, यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ । दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएको छ।’

सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई यस्ता गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउँने भन्दै उनले हमला गर्नेको विरोध गरिन् ।

राजधानीमा भएको झडपको क्रममा कम्तिमा १४ सुरक्षाकर्मी घाइते भएका छन्। अहिलेसम्म प्रहरीले ५२ जना भन्दा बढिलाई पक्राउ गरेको छ। त्यसमध्ये ४७ जना कर्फ्यू उल्लंघन गरेका कारण पक्राउ परेका हुन्।

नोभेम्बर ३ को निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो वाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमा प्रवेश गरेका थिए। उनीहरू इँटा, बोतल र बन्दुक बोकेर संसद भवनभित्र छिरेका थिए। 

उनीहरुले संसद भवनमा प्रवेश गरेर हिंसात्मक गतिविधि गरि सदनको संयुक्त सत्रमा अवरोध गरेका थिए।

जो वाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट सांसदहरुलाई रोकी नतिजा उल्ट्याउने प्रयासमा ट्रम्पका समर्थक लागेका हुन्। अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।

यसअघि बुधबार नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनको इलेक्टोर कलेज मतको अन्तिम परिणाम सार्वजनिक गर्न कंग्रेसको बैठक बसिरहेका बेला ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए।

प्रकाशित मिति: : 2021-01-07 13:44:00

प्रतिकृया दिनुहोस्