चीनमा नयाँ सुरक्षा कानुन पास, राष्ट्रपति सीद्धारा सैनिकलाई युद्धको तयारीमा बस्न उर्दी

आर्थिक मुद्धामा अमेरिकासँग तथा सीमा विवादमा भारतसँग लडिरहेको चीनले जनवरी एकदेखि लागु हुने गरेर नयाँ सुरक्षा कानुनमा मोहर लगाएको छ।  

राष्ट्रपति सी चिङफिङले हस्ताक्षर गरेको नयाँ सुरक्षा कानुनमा आफ्नो सैनिकलाई युद्धका लागि तयारी अवस्थामा बस्न उर्दी जारी गरेका छ। 

राष्ट्रपति सीको पछिल्लो कदमले चिनियाँ सेनालाई युद्धमा होम्मिन थप आत्मबल मिलेको विभिन्न समाचार एजेन्सीहरूले बताएका छन्। ६७ वर्षीय सी चीनको सेन्ट्रल मिलिट्री (सीएमसी) र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) प्रमुख हुन्। 

स्थानीय चिनियाँ मिडियाले पनि यसको पुष्टी गर्दै राष्ट्रपतिले पिपुल्स लिबरेसन आर्मी (पीएलए) र पिपुल्स आर्म्ड पुलिस फोर्स (पीएलएफ) लाई युद्ध अभ्यासको विशेष महत्वमा राखेका छन्। चिनियाँ सेनामा हाल करिब २० लाख सैनिक आवद्ध छन्। 

राष्ट्रपति सीको नयाँ आदेशपछि चीनको आर्म्ड फोर्स नयाँ युगमा प्रवेश गरेको दावी गरिएको छ। समाचार एजेन्सीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले सैन्य अभ्यासलाई आफ्नो तरीका तथा रणनीतिको आधारमा तयार पार्दैछ। सेनाको लडाईको क्षमतामा तीब्र विकाश गर्न र अभ्यास सत्रमा सुधार ल्याउन राष्ट्रपति सीको आदेशले ठूलो काम गर्ने बताइएको छ। 

राष्ट्रपति सीको आदेशमा भनिएको छ– सेनाले आफ्नो अधिकारी र सैनिकलाई युद्धको वास्तविक अवस्थाअनुसार आफूलाई तयारी अवस्थामा राख्नु पर्नेछ। 

सैन्य अपरेशनका लागि रिसर्चमा बढी ध्यान दिनुपर्नेछ। यसमा जुनसुकै बेला युद्ध हुने सम्भावनालाई मध्यनजर राख्दै हाई–अलर्टमा बस्नुपर्ने तथा इमर्जेन्सीको अवस्थामा दुश्मनलाई तुरुन्त उत्तर दिने हिसाबले अभ्यास गर्नुपर्नेछ। 

भर्खरै पास भएको नयाँ नियममा ज्वाइन्ट अपरेशनका लागि ट्रेनिङ र एक्सरसाइजलाई विशेष महत्व दिनुपर्नेछ। यसमा संयुक्त लडाकु क्षमता बढाउन अन्तर ट्रेनिङ सर्भिस बलियो हुनुपर्ने पनि बताइएको छ। 

यस्तै कमाण्डरको ट्रेनिङ वैज्ञानिक र प्रविधिमैत्री हुनुपर्ने पनि जिकिर छ। सैन्य क्षमता बढाउन हाईटेक हार्डवेयर र उच्चस्तरीय ट्रेनिङ आवश्यक पर्ने बताइएको छ। 

सेनाका अधिकारीले आफ्नो ट्रेनिङ र सुपरभिजनलाई राम्रोसँग अध्ययन तथा अनुसन्धान गर्नुपर्ने तथा व्यवस्थापन र योजनामा सुधार गर्नुपर्ने बताइएको छ। 
यसमा हरेक सैनिकमा लडाई गर्नसक्ने क्षमताको विकास गर्न आदेश दिइएको छ। 

कम्युनिस्ट पार्टीको सयौं वर्ष प्रवेशको हर्ष मनाउने हिसाबले नयाँ उपलब्धी हात पार्न सेनालाई विशेष लक्ष्य दिइएको पनि समाचार एजेन्सीले बताएका छन्। 

राष्ट्रपति सीले यस्तो आदेश २०१८ को जनवरीमा पनि दिएका थिए। यतिबेला उनी उत्तरी चीनको सुटिङ रेन्जमा पुगेका थिए। २०१२ मा चिनियाँ सेनाको प्रमुख बनेपछि उनले आफ्नो सेनालाई लगातार युद्धका लागि तयारी अवस्थामा बस्न आदेश दिँदै आइरहेका छन्। उनले चौथो पल्ट आफ्नो सेनालाई युद्धको तयारी गर्न आदेश दिएका हुन्। 

चिनियाँ अखबारहरूले देशभित्र र विदेशमा चिनियाँ हितलाई सुरक्षित राख्न नयाँ रक्षा कानुन ल्याइएको बताएका छन्। संसोधित कानुनले विशेष गरेर राष्ट्रिय स्तरमा को–ओर्डिनेशन मेकानिजम तयार पार्न सहयोग गर्ने बताइएको छ। 

यसमा सरकारी तथा प्राइभेट सेक्टरलाई नयाँ डिफेन्स टेक्नोलोजीमा रिसर्च गर्न भनिएको छ। जसमा साइबर सेक्युरिटी, स्पेस र इलेक्ट्रो–मेग्नेटिक्स जस्ता सेक्टर समावेश छन्।

प्रकाशित मिति: : 2021-01-06 09:30:00

प्रतिकृया दिनुहोस्