जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा अब एकजुट रहन सक्ने अवस्था न्यून रहेको दावी गरेका छन्।
मंगलबार जसपाले काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै एकजुट रहन सक्ने अवस्था न्यून रहेको दावी गरेका हुन्।
‘नेकपा अब एकजुट रहन सक्ने अवस्था न्यून छ। प्रतिनिधि सभा भंग जायज देखाउन अनुउचित थियो भन्ने स्पष्ट देखिएकै छ,’ उनले भने।
उनले ओलीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर गरेकोले अल्पमतमा परिसकेको बताए।
उनले भने, ‘प्रधानमन्त्रीविरूद्ध ८६ जनाभन्दा बढी सांसदले हस्ताक्षर नै गरेका थिए। उहाँ अल्पमतमा परिसक्नुभएको अवस्थामा प्रतिनिधिसभा भंग गर्नुभयो। यसो गर्न मिल्दैन।’
उनले प्रतिनिधिसभा अहिले पनि ज्युँदै रहेको दावी गर्दै सभामुखले बैठक बोलाएर कामकारवाही गर्न सक्ने बताए।
‘संसद अहिले पनि ज्युँदै छ। सभामुखले बैठक बोलाएर कामकारवाही गर्न सक्नुहुन्छ। उहाँले बैठक बोलाउनेबारे ठोस निर्णय लिनुपर्छ,’ उनले भने।