ओझेलमा परेको पर्सागढीको इतिहासलाई अब स्थानीय सरकारले उजागर गर्ने (भिडियाे)

नेपाल र भारतमा तत्कालीन ब्रिटिश सरकारका सेनाबीच वि.सं १८७१ मा भएको युद्धमा विजयी प्राप्त भएको सम्झनामा आइतवार पर्सागढी नगरपालिकामा २०६औं विजयोत्सव मनाइएको छ।

विक्रम संवत् १८७१ पुस १९ गते नेपाल र ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो। 

जसको नेतृत्व चौधरी समुदायका रञ्जित थारुले एक कुशल सैनिक कमान्डरका रुपमा गरी अंग्रेजका फौजहरुलाई आफ्ना सुझबुझले हराएका थिए।  

सोही दिनको स्मरणमा साइक्लिङ, पदयात्रा , नेपाली सेना, सशस्त्र प्रहरी साथै स्थानीयवासीहरुले आफ्नो परम्परा–संस्कृति झल्कने पोशाक तथा झाँकीको प्रदर्शन गरी हातहतियार तथा बाजागाजासहित र्‍यालीको आयोजना गरि भव्यताका साथ विजय उत्सव मनाएका छन्। 

पर्सागढी नगरपालिकाबाट निकालिएको र्‍याली नगरपरिक्रमा गरि विजय हासिल गरेको स्थल पर्सागढी मन्दिरमा पुगेर कोणसभा गरी सम्पन्न भएको थियो। 

साथै कार्यक्रममा विजयगढिको रुपमा चिनिएको पर्सागढीको इतिहास झल्किने स्थानीय भाषा भोजपुरीमा रञ्जित थारुको विजयगाथा सुनाइएको थियो। 

विजयउत्सवमा नगरप्रमुख लोकनारायण यादवले २ सय ६ वर्षअघि हाम्रा पुर्खाहरुको प्रयासले गर्दा आज हाम्रो देश अंग्रेजको शासनबाट जोगिएको स्मरण गराए। 

भारतमा रहेका ब्रिटिश सेनाको टुकडीले पर्सागढीमा आएर टेन्ट गाडी नेपालमा कब्जा गर्न खोज्दा नेपाली सेना तथा यहाँका स्थानीय वासीले ब्रिटिश सेनालाई भगाएको सम्झनामा आज विजयोत्सव मनाइएको उनले बताए।

‘पर्सागढी कै नामले पर्सा जिल्लाको नाम राखिए पनि यहाँको इतिहास अहिलेसम्म ओझेलमा रहेको छ, ‘उनले भने,‘अब पर्सा गढिको इतिहासलाई उजागर गर्न स्थानीय सरकारले विजयउत्सवको सुरुवातका साथ अगाडि बढाएको छ।’ 

अबको प्रत्येक वर्ष पुस १९ गते पर्सा गढिमा विजय उत्सव मनाइने र यस क्षेत्रको पर्यटकिय बिकाशका लागी नगरपालिकाले बजेटसमेत छुट्याएको प्रमुख यादवले बताए।  
 
उपप्रमुख अर्चना चौधरीले नेपाल भरिका गढिहरु मध्ये पर्सा गढिको पनि आफ्नै इतिहास रहेको बताइन्। जसमा लडाइमा जित हासिल गरेका रञ्जित चौधरीको ठुलो योगदान रहेको उनले भनिन्। 

अंग्रेजसँगको लडाइमा हाम्रा पूर्वजहरुले प्रयोग गरेका हातहतियार अझै पनि सुरक्षित रहेको उनले बताइन्। 

उनले लडाइमा प्रयोग गरिएको कतिपय सामग्रीहरु अहिले पनि उत्खन्न गर्दा भेटिने गरेकाले त्यस्ता सामग्री भेटे सुरक्षित राखिदिन स्थानीयवासीमा आग्रह गरिन्।

ऐतिहासिक महत्व राखेको पर्सागढीलाई अझै राम्रो बनाउनेतर्फ् नगरपालिकाले पूर्ण सहयोग गर्ने उनले आश्वासन दिइन्। यसका लागि नगरपालिकाले स्थानीय सरकार गठन भएको सुरुवाति वर्षमा १० लाख बजेट छुट्याएको र आव ७५/७६ मा पनि १५ लाख बजेट छुट्याएकाले कुल २५ लाख रुपैयाँ बजेट रहेको उनले जानकारी गराइन्। 

‘नगरपालिकाले गढिमा पार्क तथा संग्रहालयको निर्माणका लागी बजेट छुट्याएको तर स्थानीय वासीले अतिक्रमण गरेको जग्गा फिर्ता नगरेकाले समस्या भइरहेको छ,’ उनले भनिन्,‘ यसका लागि स्थानीयवासीले सहयोग गरे निर्माणको कार्य चाडै नै सुरुवात हुनेछ।’

चण्डीप्रसाद गण वीरगञ्जका प्रमुख सेनानी मदनजङ्ग राणाले पर्सागढीमा गौरवका साथ उत्सव मनाउनुपर्ने बताए।  

‘हाम्रा पुर्खाले ज्यान दिएर यो ठाउँको रक्षा गरेको हुनाले ऐतिहासिक महत्वको पर्सागढीको संरक्षण, संवद्र्धनमा सबैले सहकार्य गर्नुपर्छ,’ उनले भने।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले पूर्वजले इतिहास बनाएको स्थलको संरक्षण र विकासका लागि राज्यले प्राथमिकता नदिएको गुनासो गरे। 

‘ओझेलमा रहेको पर्सागढीमा नेपाली सेनाले चासो लिएपछि ‘नयाँ युग’को शुरुवात भएको महशुस भएको छ,’ उनले भने। 

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्सागढीसम्म जाने बाटो राम्रो हुनुपर्नेमा जोड दिए। वडा नं ८ का अध्यक्ष किशुनदेव प्रसादयादवले पर्सागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए।

पर्सागढी नगरपालिकाको आयोजनामा पर्सागढी मन्दिर व्यवस्थापन समिति, नेपाली सेना, पर्यटक पत्रकार सङ्घ पर्सा, होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा, वीरगंज उद्योग वाणिज्य सङ्घको सहकार्यमा विजयोत्सव मनाइएको हो। 

साथै सो कार्यक्रममा वीरगञ्जको घण्टाघरबाट साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवाल नेतृत्वको १५ जनाको टोली साइकलमा पर्सागढी पुगेका थिए।

 

 

प्रकाशित मिति: : 2021-01-04 12:49:00

प्रतिकृया दिनुहोस्