भारतले कोरोना भाइरसविरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। औषधि नियन्त्रण महानिर्देशनालयले ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको हाे।
‘कोभिसिल्ड’ अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको खाेप हाे। यता बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको खाेप हाे ‘कोभ्याक्सिन’।
केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताइएका थियाे।
सेरम संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो। सेरमले अहिले नै अक्सफोर्ड/अस्ट्राजेन्का खोपको ५ करोड डोज उत्पादन गरिसकेकाे छ।
सेरमले यो खोप भारत सरकारलाई प्रति डोज २ सय ५० र निजी क्षेत्रलाई १ हजार भारूमा बेच्न लागेको जनाइएकाे छ।
कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी ‘कोल्डस्टोर चेन’को व्यवस्था गरिसकेको जनाइएको छ। ‘कोभ्याक्सिन’ भने भारतको मौलिक उत्पादन हो।
भारत बायोटेकले बनाएको ‘कोभ्याक्सिन’को प्रभावकारिताबारे भने विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन्। यद्यपी महानिर्देशनालयको निर्णयसँगै भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक बाटो खुलेको छ।
भारतले आगामी ६ महिनामा झन्डै ३० करोड मानिसलाई कोरोना भ्याक्सिन दिने बताएको छ। भारतमा अहिलेसम्म एक करोड बढी मानिसलाई कोरोना संक्रमण भएको छ भने डेढ लाखले ज्यान गुमाएका छन्।
पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ।
बाँकी २७ करोडका सम्बन्धमा भने अन्तिम निर्णय लिन बाँकी रहेको भारत सरकारका स्वास्थ्यमन्त्री डा हर्ष वर्धनले शनिबार बताएका थिए।
उत्पादनस्थलदेखि पहिलो चरणमा खोप लगाइने केन्द्रसम्म खोपलाई चाँडोभन्दा चाँडो पुर्याउन कार्गो जहाजदेखि भ्यानसम्म तयारी अवस्थामा राखिएको छ। उक्त तयारीको परीक्षण गर्न शनिबार देशभरि नै खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो।