विद्युतीय ग्रिड आधुनिकीकरण गर्न एडिबीले दियो सवा १८ अर्ब ऋण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको विद्युतीय ग्रिड आधुनिकीकरण कार्यक्रमका लागि एसियाली विकास बैंक (एडिबी)ले १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) ऋण दिने भएको छ । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले सो सम्बन्धी ऋण सम्झौतामा बुधबार हस्ताक्षर गरेका हुन्।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य राखेको छ ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेको छ । यसमध्ये १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिने भएको हो ।

विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयको भनाई छ । यो आयोजनाको कार्यान्वयन भने नेपाल विद्युत प्राधिकरणबाट हुनेछ ।
 

प्रकाशित मिति: : 2020-12-30 15:18:00

प्रतिकृया दिनुहोस्