पूर्णिमा बिक
‘हमरा बिच बाटमै छोडके चला गेलल्, हम्रा साथमे लेकर जावना, हमरा लोगके कौन देख्बे ? देख रे बाबु !’
(हामीलाई बिच बाटोमा छोडेर गयौ, मलाई पनि साथमा लगेर जाऊ, हामीलाई अब कसले हेर्छ ?)
पुर्पुरोमा हात लाउँदै एक महिला रुँदै सहिद गंगालाल अस्पतालको प्राङ्गणमा थचक्क बसिन्। रंगिएको सिउँदो, पहेँलो सारी लगाएकी उनी भक्कानिएर छाती पिट्दै रुन थालिन्। उनी तिनै उखु किसान नारायण राय यादवकी श्रीमती सुनादेवी यादव हुन् जसको श्रीमान्को मंगलबार बिहान ६५ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।
उनी अस्पताल परिसरमा श्रीमानलाई देख्न नपाउँदा निकै छट्पटाएर रोइरहेकी थिइन्। आफ्ना नाति रमेशलाई रुँदै भनिरहेकी थिइन्, ‘एकबेर देखल दे हम्रा राजा के’अर्थात मलाई एक पटक श्रीमानलाई हेर्न देऊ। तर उनका नाति यसमा असमर्थ थिए। रमेश उनकी छोरीका छोरा हुन्।