‘कुडा नखोल मुनौंदो (मनमा) पहाड छ’ (भिडियाेसहित)

सुन्केसराको कथामा सिलङ्गीको रुख बढेजस्तै लाम्रामा द्यारका (देवदार) रुख बढे। परिणाम आज लाम्रा जोली (जोडी) द्यारका रुखबाट चिन्निन्छ। 

हुनत लाम्रा चिनिने थुप्रै बिम्ब र प्रतिक छन्। प्रतिभा छन्। कथा–व्यथा छन्। सबैभन्दा ठूलो कुरा गाउँलेले नखोलेका कुडा छन्।

लुम्रेलका (लाम्राका गाउँलेलाई चिनाउने शब्द) नाना (साना) मनमा लुकेका तर बादलले संसार ढाकेजस्तै ढाक्न सक्ने कुडा खोतल्न आयोजना गरिएको कार्यक्रम थियो, लाम्रा संवाद अर्थात गाउँका कुडा।

तीन दिन चलेको कार्यक्रममा नौ डोका कुडा कस्ता होलान् भनी म त्यहीँ बसे। सुने। दुई दिनसम्मका कुडा बिएल नेपाली सेवाले उतिबेलै लगातार प्रकाशन गरेको थियो। कारण बस ढिलो भएका तेस्रो दिनभरिका नापा, नापा कुडा आज गर्दैछौं। 

लाम्रा द्यारका रुखको चर्चा कथा, कहानीमा त पाइन्छ नै, वास्तविकतामा पनि देख्न सकिन्छ। त्यसका लागि सके लाम्रा जानुपर्छ, नसके फोटो हेर्न सकिन्छ। अझ बढी जान्न र बुझ्न लाम्रा र लुम्रेलबारे प्रसारण हुने सामग्री हेर्न सकिन्छ।

यी रुखका राजा हुन। उखानै छ– हजार वर्ष खडी, हजार वर्ष पडी, हजार वर्ष सडी। 
अझै खडा रहेका र हरिया लक्का जवान देखिने यी जोली द्यारका रुखले पक्कै पनि हजार वर्ष कटाएका छैनन्। खडी (खडा) रहिरहेका यिनको पडी (पल्टने) र सडी (सड्ने वा कुहिने) हजार–हजार वर्ष गरि दुई हजार वर्ष अरु बाँकी नै छन्। 

तपाई आफैले लाम्रा गाउँमा रहेका जोली द्यारका रुख हेर्न नपाए पनि तपाईकै कम्तीमा पनि बीस पुस्तापछिको नाति, पनाती–जनातीले हेर्न सक्नेछन्। सम्झनुहोस्, अब कुडा पनि कम्तीमा त्यति बेलासम्म हुनेछन्। त्यही भएर नै अहिलेका नौ डोका कुडाले भोलि संसार ढाक्नेछन्।

******

जोलीधारका रुखलाई बिहानको चम्किलो सूर्यले सिङ्गारेपछि गाउँले सार्कीबाडाको थाडामा आउँछन्। 

थाडो र बाडो हिमाली बस्ती विकासका अनुपम नमुना हुन। पश्चिमा विज्ञानले चमत्कार गर्नुभन्दा पहिला प्रकृति जस्तो छ, उस्तै गरि काम धन्दा गर्ने रैथानेहरूले आविस्कार गरेका हुन्। थाडा, बाडा र ओटालाहरू, जसले चिसोबाट बचाए, सिङ्गो बाडाको सुरक्षा गरे। आपसमा सहयोग आदानप्रदान गर्न सिके र सद्भावना कायम राखे।

लामाथाठाको इतिहासबारे कति कुरा बाहिर आएकै छैनन्। कर्णालीको ऐनामा रोग, भोग, अशिक्षा, फोहोर आदि मात्र देखाउनेले यस्ता सुन्दर पक्ष लेखेनन्। त्यसमाथि गोर्खाली आँखाले हेर्नेहरू पूर्वाग्रहको कुष्टरोग लागेका थिए। त्यसैले चाहेर पनि लेखेनन्।

आजभोलि बाडाका थाडामुनि, ओटालाका भित्रपट्टि कति चैनले निदाउँदा हुन्, कतिका तमाम दुःख, पीडा होनन्। मलम लगाउन आउनेले फोटो बेचिदेला भनी चिन्ता मानिबसेका छन्। यो कल्पनाभन्दा पनि वास्तविकता हो।

थाडाका शिरमा बनाइका कुल देउताका थान र त्यसमाथि ठड्याइएको लिङ्गोले प्रकृतिपुजक समुदायको मौलिक परम्परालाई उजागर गर्छ। 

यी कुडालाई कतै आधुनिकताको लेपनले छपक्कै छोपिदिने हो कि भन्ने चिन्ता त्यहाँका स्थानीयले गरे। जायज चिन्तामा गाउँलेले चासो देखाए। परिणाम लुम्रेलले इतिहासमा एउटा नौलो काम गरे। पुराना चाल–चलनको संरक्षण गरे। यसैका लागि त चलेको थियो, ‘ठेक, थिति र राजनीति’ सत्र।

सत्तामा गोरखाली आएपछि गाउँमा विकृति आए। चाकडी गर्ने परम्पराले उचाई लियो। मौलिक चालचलनलाई आयातित धर्म र संस्कृतिले विस्थापित गर्‍यो। गाउँले चलाएका ठेकथिति पनि शक्ति र सत्ताको आडमा नमान्नेको जमात बढ्यो। 

छुवाछुत मान्ने, छोइछिटो गर्ने, छुई मान्ने लगायतका आन्तरिक समस्यातिर कसैले ध्यान दिन पाएन। भारो पडिम (श्रम सहकार्य),  वनपात लगायत मौसममा हुने काम शरीरका नसामा रगत बगेसरी चलिरहे। अ‍ैंचो–पैंचो (सर–सापट) हालसम्म पनि चलेका छन्। चकडीको परिणाम स्वरुप सत्ताले कनिका छड्ने काम छोडेको नाई। विकास–निकास अधुरा र मधुरा छन्।

बजारको जस्तो पहुँच गाउँले बनाउन सकेन। राजनीतिमा गाविस अध्यक्ष र क्षेत्रपालसम्म भएपनि राष्ट्रिय राजनीतिमा पकड जम्न सकेन। तर हाल आएर समन्वय समितिको प्रमुख जस्तो उच्च ओहोदामा लुम्रेल पुगेका छन्। नयाँ पुस्तामा राजनीतिक चेत नहुनु समस्या हो।

महिलामा विचारले राजनीति गर्न पाउनेभन्दा पनि श्रीमानको राजनीतिक आस्थाले प्रभाव परिरहेको निचोड ठेक, तिथि र राजनीति सत्र सञ्चालन गरिरहेकी नारायणी चौलागाईले निकालिन्।

******

एक थान फोटोकपी सिंहदरबार गाउँमा आइपुगेपछि फोटोकपी शासकहरूको बोलवाला छ। जान्ने–सुन्ने मुखियाको मुख्तियारी चलिरहेको छ। जसले गाउँमा पानीको समस्या हुँदा पनि बाल दिइरहेको छैन भने उति आवश्यक नभएको जंगलमा बाटो पुगाएको छ।

स्वास्थ्य चौकीमा ओक्तो मुलो छ, छैन थाहा नाई। गाउँलेको आयुले राष्ट्रिय आँयलाई पनि प्रभावित पार्छ र मानव विकास सुचकांकको रेटिङमा पछाडि परिन्छ भन्ने हेक्का नराखी नेताहरू विकासका भाषण गर्छन्। 

पुलिस प्रशासन सम्बन्धको आधारमा न्याय दिन्छ। घटना दर्ता गर्छ। सुशासन कायम गर्ने कुरामा समस्या आइरहेका छन्। स्थिर बसेको गाउँमा हलचल भइरहन्छ। पत्रकार पूर्ण चौलागाईले सञ्चालन गरेको विकास र सुशासन सत्रले यी कुडा खोतल्यो।

******

बहुप्रतिक्षित अथवा प्रमुख अतिथि सत्रभन्दा हुन्छ। कर्यक्रममा सबैभन्दा पछाडि प्रमुख अतिथिले बोलेजस्तै, प्रमुख अतिथिलाई सबैले कुरेजस्तै थियो, बुजुका कुडा सत्र। 

नातिनी जयलक्ष्मी चौलागाईले गाउँकी सबै बजुलाई खेडिन् (जम्मा गरिन्)। एक–एकको जीवन खोतल्ने कोसिस गरिन्। मनमा पीडाको पहाड बोकेकी बजुहरूको आवाज बोल्दा बोल्दै काप्न थाल्यो, भक्कानो फुट्न थाल्यो।

हाँस्दा–हाँस्दै बालापनमा पुगेकी बजुहरूको ढाल्ला खेल्दा खेल्दै बिहे भयो। पोइली घरले बुहारी छोरी सम्झेन। बच्चा पाउने साधन र कामदारभन्दा माथिल्लो दर्जा दिएन। 

छुइ भएका कुडा, बिरामी भएर तातो ओछ्यानमा पल्टिन नपाएका कुडा, लोग्ने नभएर सबै पुरुषका कामधन्दा पनि आफैले गर्नुपरेका कुडा, धान फलाएर पनि रोटामात्रै खान पडेका कुडा, कुडै कुडाले होला बजुहरू अगाडि बढ्न सकिनन्। त्यही बेला एउटी बजुको आवाज आयो, कुडा नखोल मुनौंदो (मनमा) पाहाड (पहाड) छ।

बाँकी बजुका कुडा शृङ्खलामा क्रमश आउने छन्। लागिरहेछ बजुका कुडा लाम्राका जोलीद्यारका रुखको आयुझैं हजारौं वर्षसम्म पनि सुनिने छन्।

प्रकाशित मिति: : 2020-12-28 17:52:00

प्रतिकृया दिनुहोस्