ब्यङ्ग
टिभी हेरेको योगी महाराजा भन्दै हुनुहुन्थ्यो, ‘वर्तमानमा बाँच!’ उहाँलाई भनिदिन त सजिलो तर हामीलाई धेरै गाह्रो। यसो सोचेर ल्याएको, कुरा धेरै गहन रहेछ। सोचे जस्तो सजिलो रहनेछ। मैले त नसक्ने नै भएँ है।
१. किनभने, हामीले जुन कुरालाई वर्तमानमा देखेका छौं वास्तवमा त्यो भूतको हो। मान्छेको ‘देख्ने’ क्षमताले भूत मात्र देख्छ। मान्छेले देख्ने भनेको प्रकाश परावर्तित भएर हो। परावर्तित प्रकाशले त्यो वस्तुको रूप बोकेको हुन्छ। हाम्रो आँखामा त्यो परावर्तित प्रकाश परेपछि हामीले त्यो वस्तु देख्छौं।
ध्रुवतारा हामीभन्दा ४ सय ३४ प्रकाश वर्ष टाढा छ, यसको मतलव हामीले जुन ध्रुवतारा देखेका छौं, त्यो ४ सय ३४ वर्ष पुरानो हो। त्यो निभ्यो भने हामीले ४ सय ३४ वर्षपछि मात्र थाह पाउँछौं। त्यस्तै, हामीले देख्ने सूर्य ८.३२ मिनेट पुरानो हो, चन्द्रमा १.२८ सेकेन्ड पुरानो हो।
हामीले वरिपरि जे देखेका छौं ती वर्तमानका होइनन्, ती भूतका हुन। कुनै नजिकका वस्तु निकट भूतका र टाढाका वस्तु सुदूर भूतका तर सवै भूतका हुन, वर्तमानका होइनन्।
२. किनभने, हामीले जुन कुरालाई वर्तमानमा सुनेका छौं, वास्तवमा त्यो भूतको हो। मान्छेको ‘सुन्ने’ क्षमताले भूत मात्र सुन्छ। चन्द्रमाबाट मलाई कसैले केही भन्यो, मानौं फजिक्सका अरू नियम लागू हुदैन भने त्यो कुरा मैले करिब १३ दिनपछि मात्र सुन्छु। म बसेको ठाउँभन्दा १ किमी टाढा केही पड्कयो भने त्यो पड्क्याइँ करिब ३ सेकेन्ड पुरानो हो, वर्तमानको हैन। हामीले सुन्ने सवै आवाज भूतका आवाज हुन, कुनै निकट भूतका र कुनै सुदूर भूतका तर सबै भूतका हुन, वर्तमानका होइनन्।
३. किनभने, हाम्रो शरीरले जुन कुरा मागिरहेको छ, त्यो वास्तवमा भविष्यको लागि मागेको हो। मान्छेको ‘माग्ने’ क्षमताले नै वर्तमानको लागि माग्दैन, भविष्यको लागि माग्छ।
मान्छेको दिमागले शरीर सञ्चालनको योजना गर्छ। हाम्रो शरीरलाई ‘वास्तव’ मै पानीको आवश्यकता पर्नुभन्दा २० मिनेटअघि नै दिमागले तिर्खाको अनुभूति गराउँछ रे। पानी खाएर शरीरमा पुगेर पानीको आवश्यकता पुरा हुन करिब २० मिनेट जति लाग्ने भएकोले हामीले अहिले अनुभव गरेको तिर्खा अहिलेको होइन, २० मिनेटपछिको हो।
त्यस्तै शरीरलाई वास्तवमै शक्तिको आवश्यकता पर्नु भन्दाअघि नै दिमागले भोकको अनुभूति गराउँछ, खाना खाएर शक्तिमा परिवर्तन हुन लाग्ने समय विचार गरेर। हामीलाई जुनबेला भोक लागेको हुन्छ, खास भोक त्यो बेला हुदैन, खास भोक त त्यसको केही घण्टापछि मात्र लाग्छ। हामीले अहिले अनुभव गरेको यो भोक वर्तमानको भोक होइन, भविष्यको भोक हो।
हाम्रो शरीरले अहिले जे अनुभव गरिराखेको छ, त्यो भविष्यको आवश्यकतालाई अनुभव गरेर गरिराखेको छ। हाम्रो शरीरको ‘डिमाण्ड सिष्टम’ ले वर्तमानको लागि माग्न सक्दैन भने सप्लाई पनि भविष्य कै लागि हुन्छ। अनि यस्तो अवस्थामा मलाई ‘वर्तमान’ देउ भनेर माग्दैमा कसरी पाइन्छ?
अनि, हाम्रो वर्तमान देख्ने क्षमता पनि छैन। सुन्ने क्षमता पनि छैन। त्यो भन्दामाथि शरीरले नै वर्तमानको लागि केही कुरा माग्नै सक्दैन भने योगीहरूले खाली वर्तमानमा बाँच मात्र भनेर कहाँ हुन्छ। प्रकृतिले क्षमता नै नदिएपछि! गाह्रो छ, कुरा! त्यसैले मैले योगी महाराजाका कुरा कोसिस गरेर पनि गर्नै सकिन!
(नोटः रमाइलोको लागि लेखेको है। रिटायर्ड भएपछि कुनै योगी महाराजालाई गुरु मानेर कोही वर्तमानमा बाँच्न सफल हुनुभएको छ भने त्यो ‘कन्टिन्यु’ गर्नुहोला है। त्यसबाट तपाईलाई धेरै फाइदा हुनपर्छ।)