ईयु र बेलायतबीच व्यापार सम्झौंतामा पनि सहमति

रमेशराज वास्तोला

लिजवन (पोर्चुगल)

बेलायत र युरोपेली युनियन (ईयु) बीच ऐतिहासिक व्यापार सन्धिमा सहमति भएको छ। ब्रेगजिटबाट बाहिरिने बेलायतको निर्णयपछि विगत १० महिनादेखि यो विषयमा विवाद चुलिएको थियो। 

बेलायत ३१ जनवरीमा ईयुबाट बाहिरिएको थियो। तर, व्यापारको समस्या कायमै थियो। बिहीबार बनेको सहमतिपछि अब आउँदो बुधबार दुवै पक्षबीच सम्झौंतापत्रमा हस्ताक्षर हुनेछ। 

सम्झौंतापत्रमा सहमति बनेपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोसल मिडियामा आफ्नो एउटा तस्वीर पोस्ट गरेर लेखेका छन्, ‘सम्झौंता भयो’। यस्तै, ईयु कमिसन अध्यक्ष उर्सला भोन डेर लेयनले पनि लेखेका छन्, ‘अन्ततः हाममी राम्रो सम्झौंता गर्न सफल भएका छौं। दुवै पक्षका लागि ठिक छ।’

यही साता ब्रेकजिटबाट बाहिरिने बेलायतको निर्णय एक वर्ष पुरा हुदैछ। बिहीबारको सहमतिपछि ईयुको व्यापार–व्यवसायको स्ट्रक्चरबाट बेलायत बाहिरिने छ। यो सहमतिपछि ईयुमा आवद्ध २७ देश र बेलायतको सम्बन्ध भविस्यमा कस्तो हुनेछ, त्यो अहिलेसम्म निर्धारण हुनसकेको छैन। 
विशेषतः व्यापारलाई लिएर दुई पक्षबीच तीन वटा कुरामा सहमति बन्न सकेको थिएन।

यी दुई पक्षबीच फेयर कम्पिटिसन, भविस्यमा आउनसक्ने विवादलाई सल्टाउनसक्ने एउटै मेकानिज्म र बेलायतको समुन्द्रमा ईयु देशका जनतालाई माछा मार्ने अधिकार दिने कि नदिने भन्ने विषय निकै पेचिलो भएको थियो।

यसअघि जोनसनले सम्झौंतामा सहमति नबने ईयुभन्दा पनि बेलायतलाई बढी फाइदा हुने बताएका थिए। उनले व्यापार सम्झौंताको एउटा मोडलमा हस्ताक्षर नभएको खण्डमा बेलायतले विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को नियम पछ्याउने जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2020-12-25 07:49:00

प्रतिकृया दिनुहोस्