बाँकेमा विकराल बालविवाह

बाँकेमा बालविवाहले विकराल रुप लिएको देखिएको छ। बाँकेमा वर्षेनी ८० प्रतिशत भन्दा बढी बालविवाह हुने देखिएको एक तथ्यांकले देखाएको हो । 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको प्लान इन्टरनेशनल नेपालले २०१९ मा बाँकेमा गरेको एक प्रारम्भिक सर्वेक्षणका अनुसार ८० प्रतिशत धन्दा बढी बालविवाह हुने गरेको छ ।  

तथ्यांकअनुसार यहाँ १९ वर्ष मुनिका किशोरीको ८०.७९ प्रतिशत विवाह उमेर नपुगी हुन्छ । 

भने १९ वर्ष मुनिका किशोरहरुको बालविवाह गर्ने प्रतिशत ६०.९२ प्रतिशत छ । उक्त सर्वेक्षणले जिल्लाका आठ वटै स्थानीय तहमा हुने गरेको बालविवाहको अवस्था उल्लेख गरेको छ । 

यहाँ रहेको एक उपमहानगर, एक नगर र ६ गाउँपालिकामा पनि  बालविवाहको अवस्था भयावह देखिन्छ ।   

आठ पालिकामध्ये राप्तीसोनारी गाउँपालिकामा सबै भन्दा बढी बालविवाह हुने गरेको छ । त्यहाँ १९ वर्ष मुनिका महिलाहरुको ८३.१६ र पुरुषको ७२.६३ प्रतिशत बाल विवाह हुने गरेको  पाइएको छ । 

सबै भन्दा कम डुडुवा गाउँपालिकामा उमेर नपुगि ५०.२२ प्रतिशत महिलाले विवाह गर्दछन् । भने  ८३.१६ प्रतिशत पुरुषको विवाह २० वर्ष अगाबै हुन्छ । 

सर्वेक्षण अनुसार  नेपालगन्ज उप–महानगरपालिकामा ८३.१६ प्रतिशत १९ वर्ष मुनिका महिला र ५२.६३ प्रतिशत पुरुषको विवाह हुन्छ । यस्तै कोहलपुर नगरपालिकामा ६८.४ प्रतिशत महिलाले बालविवाह गर्दछन् । 

४९.४० प्रतिशत पुरुषहरुले विवाह किशोराअवस्था मै हुन्छ ।  कोहलपुर साक्षर घोषणा गरिएका मध्ये एक स्थानीय तह हो । जिल्लाको सबै भन्दा दुर्गम र  विकट मानिएको नरैनापुर गाउँपालिकामा भने महिला र पुरुषको समान ६७.३७ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । 

यसैगरि खजुरा गाउँपालिकामा ७१.५ प्रतिशत महिला र ५१.५८ प्रतिशत पुरुषको विवाह हुन्छ । यस्तै जानकी गाउँपालिकामा ७४.५ प्रतिशत महिला र पुरुषको ५८.९५ प्रतिशत र बैजनाथ गाउँपालिकामा ६७.१३ प्रतिशत महिला र ५१.५७ प्रतिशत पुरुषको बालविवाह हुने गरेको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ । यस्तै अहिले कोरोना  महामारीको समयमा समेत बाँकेमा उल्लेख्य मात्रमा बालविवाह भएको देखिएको छ । 

जिल्लामा बालविवाह सम्बन्धी काम गर्ने संस्था स्याक नेपालका  बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश पाण्डेका अनुसार लकडाउनको समयमा पनि सबैभन्दा बढी बालविवाहका घटना बाँकेको राप्ती सोनारी गाउँपालिकामा भएका थिए । चैत महिनायता बाँकेमा ५० वटा बालविवाह विरुद्धको उजुरी परेका थिए ।

 ‘स्कुल जान नपाउँदा बहकिएर बालविवाह गर्न थाले’ उनले भने, ‘त्यस्ता धेरै विवाहका उजुरीसम्म आएका छैनन् ।’ राप्ती सोनारीमा मात्रै चैत–साउनसम्म मात्रै २४ जनाको बालविवाह  भएको तथ्यांकले देखाउँछ । 

यस्तै जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७५/०७६ मा २५ र २०७६/०७७ मा ५९ वटा बालविवाहका मुद्दा दर्ता भएका थिए । यता राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीसरा खत्रीले लकडाउनको बीचमा बालविवाह अत्यधिक बढेको भन्दै स्थानीय यस विषयमा गम्भीर भएको बताउँछिन्। 

उनका अनुसार गाउँपालिकामा सबै भन्दा ठूलो समस्याका रुपमा रहेको बालविवाह न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रम गरिनेछ । कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य भिमबहादुर नेपाली, चेतनाको कमि, प्रवृत्तिको बढ्दो दुरुपयोग, स सामाजिक मूल्य मान्यताका आधार जस्ता कारणले बालविवाह  अवस्था भयावक भएको बताउँछन् । 

उनी भन्छन्, ‘२० वर्ष नपुगि गरिने विवाहलाई बालविवाह भनेको छ । यो गैरकानुनी हो। यस्तो कार्य गर्ने कारबाहीको भागिदार हुन्छ । हामीले कोहलपुरमा पनि बालविवाहविरुद्ध वडा स्तरसम्म संयन्त्र निर्माण गरेका छौं ।’ 

बाँकेमा मुस्लिम समुदायमा १६ वर्ष मै विवाह गर्न पाउने माग गर्दै  गत वर्ष दुईपटक आन्दोलन समेत भएको थियो ।

प्रकाशित मिति: : 2020-12-23 12:14:00

प्रतिकृया दिनुहोस्