उखु किसानको पीडा : मालिकले भुक्तानी दिएनन्, माइतीघरमा धर्ना बसेकै बेला बैंकले लिलामी निकाल्यो

बाह्रखरी

काठमाडाैं

काठमाडौं । गौशाला धर्मशालाको कोठा नम्बर ३ मा गगनदेव राय च्यादर बेरेर बसेका छन् । उनले जसोतसो काठमाडौंको जाडो छल्‍ने प्रयास गरिरहेका छन् । सर्लाहीदेखि उखुको पैसा आउला कि भनेर काठमाडौं आएका रायलाई बैंकको ऋणले भने छाडेन । उनी आन्दोलनका क्रममा काठमाडौंमै रहेका बखत गाउँबाट खेत लिलामीको चिठी आयो ।

‘‘यता मिल मालिकहरुले उखुको पैसा कहिले दिने हुन् थाहा छैन,’’ राय मलिन मुद्रामा भन्छन्, ‘‘उता बैंकले खेत लिलाम गर्ने भयो । उखु खेतीले घरबार गुमाउनुपर्ने अवस्था आयो ।’’

गाउँले युवाको साथ लागेर उनी मंसिर २७ गते गाउँबाट हिँडेका हुन् । काठमाडौंमा मंसिर २८ देखि आन्दोलन सुरु भयो । उता बैंकले पनि मंसिरको २९ गते नै रायको खेत लिलामीको सूचना निकाल्यो ।

सुरुमा त उनले घरमा लिलामीको पत्र आएकामा विश्‍वास नै गरेनन् । गाउँकै एकजनाले आन्दोलनमा आएका साथीलाई पत्रको फोटो पठाएपछि मात्र जानकारी पाएको राय बताउँछन् । उनले आफूले लगाएको सबै उखु अन्नपुर्ण मिलमा बुझाएका हुन् । तर उनलाई मिल मालिकले भने रकम नबुझाएको वर्षौं भइसकेको छ । बरु कृषि विकास बैंकले रायको पीडाको वास्तै नगरी जमिन लिलामीको सूचना सार्वजनिक गर्‍यो ।

आफ्नो नाममा रायको एक बिघा मात्र जमिन छ । केही अधियाँ दिने सर्तमा रायले कृषि विकास बैंकबाट ऋण लिएर उखु लगाए । त्यही ऋण बाट उखु लगाएका रायले त्यसैको रकम पाउन काठमाडौंमा आन्दोलनमा बस्नुपरेको छ । यता आन्दोलनको टुंगो छैन पाउनुपर्ने पैसा पाउने कि नपाउने भनेर बरु उता जमिन लिलाम हुने पक्का-पक्की झै भइसकेको उनी सुनाउँछन् ।

प्रकाशित मिति: : 2020-12-23 09:10:00

प्रतिकृया दिनुहोस्