कोरोना महामारीका कारण समस्यामा परेका कुुष्ठरोगीको जीविकोपार्जनका लागि एक संस्थाले आर्थिक सहयोग गर्ने भएको छ।
द ल्याप्रोसी मिसन नेपालले मोरङ, सुनसरी र झापा जिल्लाका १०० कुष्ठरोगीलाई एक वर्षका लागि सहयोग परियोजना सञ्चालनमा ल्याउने भएको छ।
यो रोग भगवान्को श्राप नभएर जीवाणुको कारण हुने विषय सबै नागरिकलाई बुझाउन आवश्यक छ। तीन जिल्लाका कुुष्ठरोग प्रभावित व्यक्तिलाई स्वरोजगार बनाउन रु २५ हजार बीउ पूँजी, कुुष्ठरोगी र उनीहरुको परिवारलाई खाद्यान्न सहयोग, शुल्क बुझाउन नसकी अध्ययन छुटेका बालबालिकाको शुल्क भुक्तान, शैक्षिक सामग्री प्रदान गरी रु ३५ लाख ३० हजार रकम खर्च गर्ने मिसन नेपालका प्रदेश नं १ का प्रमुुख विपीन दासले जानकारी दिए।
विराटनगर महानगरपालिकाका प्रमुुख भीमप्रसाद पराजुुलीले कुुष्ठरोग नियन्त्रणका लागि जनचेतना जागृत गराउनुपर्नेमा जोड दिँदै संस्थाले सही तथ्याङ्क उपलब्ध गराउन आग्रह गरे। यो तथ्याङ्क कुष्ठ रोग हेर्ने कोशी अस्पताल इकाइमा र सहयोगी संस्थामा पनि उपलब्ध नभएकोले महानगर प्रमुख पराजुलीले तथ्याङ्क आवधिक गर्न र दुरुस्त राख्न निर्देशन दिए।
महानगरपलिकाका प्रमुुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले कुुष्ठरोगीलाई समाजमा अरु नागरिक सरह व्यवहार गर्नुपर्नेमा जोड दिँदै तथ्याङ्क बिनाको योजनाले लक्ष्य हासिल गर्न नसकिने भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए। मिसनका नेपालका निर्देशक शोभाकर कँडेल तथा आइडिया नेपालका प्रमुुख अमर तिम्सिनाले आगामी दिनमा सबै कुुष्ठरोगीलाई समेट्ने गरी तथ्याङ्क सार्वजनिक गरिने र यसबाट काम गर्न पनि सजिलो हुने उल्लेख गरे।
कुष्ठ रोग लागेका बिरामीले आफूलाई लागेको रोगको बारेमा समाजमा अहिले पनि कसैलाई खुलेर भन्न सक्ने वातावरण नरहेको विराटनगरस्थित कुष्ठरोग उपचार विभागका अहेब नीरजकुमार ठाकुर बताउछन्। उपचार गराउन आएका बिरामीले आफ्नो नाम र ठेगनासमेत गोप्य राखिदिन अनुरोध गर्ने गरेको ठाकुरको भनाइ छ।
कतिपय बिरामीले रोगलाई लापारवाही गरिदिने र नियमित औषधिसमेत सेवन नगरिदिनाले शरीरको भागले काम नगर्ने र अङ्गभङ्ग हुने गरेको ठाकुरले जानकारी दिए। कुष्ठरोग छाला तथा बाहिरी नशामा हुने एक प्रकारको सरुवा रोग हो। कुष्ठरोग लागेमा शरीरमा रातो र फुस्रो दाग देखिनु, कानको लोती सुनिनु, हातघोडा लाटो हुनु कुष्ठ रोगको लक्षण हुन्। शुरुमा नै यस्ता लक्षण कसैलाई देखा परेमा स्वास्थ्य केन्द्रमा गएर उपचार गराएमा र नियमित औषधि सेवन गरेमा यो रोग निको हुने गरेको ठाकुर बताउछन्।
एक जना कुष्ठरोग लागेको बिरामीबाट सजिलै दुईदेखि चार जनासम्म सर्छ तर यो रोग लागेर उपचार गराउन ढिला गर्न नहुने अहेब ठाकुरले भने। उनले यो रोग लागेमा नडराई खुलेर उपचारको लागि स्वास्थ्य केन्द्रमा आउन समेत आग्रह गरे।
कुष्ठ रोगको औषधि बिरामीको अवस्था हेरि छ महिनादेखि दई वर्षसम्म नियमित सेवन गर्नुपर्ने हुन्छ। कुष्ठरोगको औषधि सरकारले सबै सरकारी स्वास्थ्य केन्द्रमा निःशुल्क वितरण गर्दै आएको छ। औषधिको अभाव नरहेको जानकारी ठाकुरले दिए। कुष्ठरोग बालबालिकादेखि बुढाबुढी सबैलाई हुनेगर्छ।
खासगरी यो रोग मानिसको शरीरको हातखुटा र कसैको आखाँमा हुनेगर्छ। कुष्ठरोगका बिरामीले आगो, तातो र चोटपटक लाग्नबाट सक्दो जोगिनुपर्ने हुन्छ। कुष्ठरोग लागेका बिरामीमा नशाले दिने स्पर्सशक्ति हराएकोले नशामार्फत चल्ने अङ्ग कमजोर हुने, चल्न नसक्ने र औला बाङ्गो हुने हुन्छ।
सुनसरीबाट आफ्नी ९ वर्षीय छोरीको उपचार गराउन आउनु भएकी एक महिलाले आफ्नो छोरीलाई यो रोग लागेपछि परिवारको सदस्यले आफू र छोरी दुबैलाई हेला गर्ने गरेको र परिवारका सदस्यले जहिले गाली गर्ने गरेको पीडा सुनाए। कतिपय कुष्ठरोगी उचित उपचार नपाएर वा पारिवारिक सहयोग नपाएर मन्दिर वा विभिन्न सार्वजनिक ठाउँमा भिख मागेर जीविकोपार्जन गरिरहेकाले यसतर्फ सरकारको ध्यान जानु आवश्यकत देखिन्छ। रासस