एउटा ‘जेन्टलमेन’ क्रिकेटरको निधन

नवीन अर्याल

काठमाडाै‌ं

कुरा हो, २००८ सालको। कोलकाताको पहिलो श्रेणीको क्रिकेट क्लब राजस्थान दार्जिलिङ आउने निश्चित भएछ, त्यहीँको प्रतिष्ठित स्कुल नर्थ प्वाइन्टविरूद्ध मैत्रीपूर्ण खेलका लागि। स्कुलले आफ्नो तयारी जोडतोडका साथ सुरु गर्‍यो।

तर, एउटा टोलीका लागि एक जना खेलाडी पुगेनछ। कसलाई खेलाउने? ठूलो हल्लीखल्लीका बीच स्कुलले निर्णय गरेछ, ७ कक्षामा अध्ययनरत एक नेपाली ठिटो–शक्ति राणालाई खेलाउने। 

त्यतिबेला शक्ति निकै साना थिए। दुब्ला, पातला। त्यसैले सिनियर खेलाडीको तर्क थियो, उनले राजस्थानजस्तो मजबुत क्लबविरूद्ध राम्रो गर्न सक्दैनन्। 

तर शक्तिले सबैलाई चकित तुल्याए, पहिलो खेलमै ५० रन बनाएर। उनको त्यो खेललाई लिएर पुरै दार्जीलिङभर हङ्गामा भयो। फर्किने बेला राजस्थानका कप्तान निर्मल चटर्जीले भनेछन्, ‘केही गरी कोलकातामा पढ्न आइस् भने मलाई भेट।’ 

त्यसपछि शक्तिको खुलदुली झनै बढ्यो। उनी हरेक रात सपनामा राजस्थानबाट क्रिकेट खेलेको देख्थे। किनभने वेष्ट बंगालमा राजस्थानको ठूलो धाक थियो। यो क्लबबाट सातजना रणजी खेलाडी खेल्थे। निर्मल त्यतिबेलै बंगाल रणजीका कप्तान थिए। दत्तु फट्कर, जो पछि भारतीय टेस्ट टोलीका कप्तान भए, उनी पनि यही क्लबमा आबद्ध थिए। त्यसैले शक्तिको सपनै बन्यो, राजस्थानका लागि खेल्ने। फेरि क्लबको कप्तानले नै यति महत्त्व दिएर बोलाएपछि। 

२०११ साल स्कुलको पढाई सकेपछि शक्तिका बाबु आफ्ना छोरालाई नेपालमै पढाउन चाहन्थे। उनको पुरै परिवार २००७ सालको क्रान्तिपछि नेपाल फर्केको थियो। बाबुको प्रयत्न सफल भएन। शक्तिले कोलकातामै पढ्ने निर्णय गरे। किनभने राजस्थानबाट एकपल्ट भएपनि क्रिकेट खेल्ने भूत सवार थियो, उनको दिमागमा। 

कोलकाताको सेन्ट जेभियर्समा भर्ना भए। तर, उनको धेरै समय, स्कुलमा भन्दा राजस्थान क्लबको कोलकाता मैदानमा बित्यो। त्यही वर्ष उनले राजस्थानमा अनुबन्धित रहँदै बंगाल स्टेट क्रिकेट च्याम्पियनसिप खेले। यो बंगालको सबभन्दा ठूलो र प्रतिष्ठित क्लब प्रतियोगिता थियो। त्यतिबेला क्लबका कप्तान थिए, दत्तु फट्कर। उपाधि राजस्थानले नै जित्यो। यही प्रतियोगिता खेल्दा उनले भारतको सबभन्दा ठूलो इडेन गार्डेन रंगशालामा खेल्ने सौभाग्य पाए। 

राजस्थान क्लबमा त्यतिबेला एकसय एक ब्याट्सम्यान। त्यसैले प्रायः ब्याटिङ गर्ने मौका तल्लो क्रममा मात्र पाए। तर, एकपल्ट गजबको संयोग जुरेछ। उनी राम्रो ब्याट्सम्यान भएको दत्तुलाई थाहा थियो। त्यसैले स्पोर्टिङ युनियनविरूद्धको खेल अगाडि दत्तुले सोधेछन्, ‘तँलाई अगाडि ब्याटिङ गर्ने रहर छ?’ 

धेरै दिनदेखि ब्याटिङ गर्न नपाएका शक्तिको मुखबाट तुरुन्त उत्तर निस्केछ, ‘ओहो किन नहुनु।’तर, उनलाई राम्रोसँग थाहा थिएन, विपक्षी टोलीको विषयमा। त्यो टोलीबाट भारतकै खुंखार फास्ट बलर (त्यतिबेला) सुटे बनर्जी खेल्थे। उनलाई ‘फस्ट डाउन’ पठाउने निर्णय भयो। शक्तिको त्यतिबेला बानी थियो, गाड नलगाई खेल्ने। पहिलो विकेट झरेपछि त्यत्तिकै जान के लागेका थिए, दत्तुले कराएछन्, ‘गाड नलगाई जाने भए, पर्दैन।’

धेरै खेलमा ब्याटिङ गर्न नपाएको लोभ शक्तिले आफ्नो पुरानो मान्यता तोडे। र, दत्तुकै आग्रहमा गाड लगाएर क्रिजमा उत्रिए। त्यतिबेलासम्म सुटे बनर्जीको ‘फास्ट बल’ प्रति उनी पुरै अनभिज्ञ थिए। 

एउटा बल स्विङ हुँदै भित्र पसेछ, सिधै शक्तिको गाडमा बजारियो, ड्याम्म। सुरुमा उनलाई लागेछ, ल बर्बाद, खसी भइयो क्यार। तर, त्यतिबेला चारवटा तारलाई मोडेर बनाइने गाडले जोगायो। 

पछि उनले सम्हालिँदै राम्रो ब्याटिङ गरे। यो प्रदर्शनपछि केही खेलमा उनले अगाडि ब्याटिङ गर्ने मौका पाए। उनले इस्ट बंगालविरूद्ध ६० रन बनाए। 

एक वर्ष कोलकातामा क्रिकेट खेलेपछि उनी काठमाडौं फर्किए। 

नेपाल फर्किएपछि उनले त्रिचन्द्र कलेजबाट क्रिकेट खेले। त्यतिबेला नेपालमा विष्णु ट्रफी र मदन मेमोरियल सिल्डको आयोजना हुन्थ्यो। सन् १९५५–५६ (२०१२ साल) मा भएको विष्णु ट्रफीमा त्रिचन्द्रलाई लिग जिताउन उनको भूमिका महत्वपूर्ण थियो। उनले काठमाडौं खेल मण्डल (केकेएम) विरूद्ध पहिलो खेलमै बनाएको १ सय १ रनको सतकीय इनिङ पुरानो पुस्ताका क्रिकेटरहरूलाई अहिले पनि याद छ। यस्तै विधा व्यायामविरूद्ध उत्कृष्ट ८७ र क्यानविरूद्ध ७१ रन बनाएका थिए। तर, उनी सहभागी त्रिचन्द्रले मदन मेमोरियल सिल्डमा भने उपविजेतामा चित्त बुझाउनु पर्‍यो। उनी सन् १९५७–५८ को सिजनमा उत्कृष्ट ब्याट्सम्यान घोषित भए। 

शक्तिलाई त्यतिबेला आफ्नो टोलीबाट खेलाउन झगडा नै पथ्र्यो। मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मिनिस्टर–११ र आर्मी–११ बीच एउटा मैत्रीपूर्ण खेल भएको थियो। त्यतिबेला बिपी, सुवर्ण सबै मिनिस्टर–११ बाट खेलेका थिए। किरणशमशेर राणा आर्मी कमाण्डर थिए। उनको टोलीमा सिंहप्रताप पनि थिए। भर्खरै कोलकाताबाट फर्केका शक्ति सिंहदरबारस्थित खेल मैदानमा पुगेका मात्र के थिए, उनलाई खेलाउने विषयलाई लिएर झगडा सुरु भयो। 

कुमारमणि दीक्षित (बिपी प्रधानमन्त्री हुँदा स्वकीय सचिव) ले कुरा उप्काए, ‘शक्ति सिभिलियन हुन्। हाम्रोबाट खेल्नुपर्छ।’ केही बेरको झगडापछि मातृकाले नै विवाद सुल्झाए। अन्तिममा टुंगो लागेछ। शक्ति आर्मी–११ बाट खेले। 

यस्तै, सन् १९७० ताका केकेएमले मैत्रीपूर्ण खेलका लागि शक्तिलाई आफ्नो टिमबाट खेल्न आग्रह गर्‍यो। उनी खेल्न टुँडिखेल पुगेछन्। तर, खेल रहेछ, जेन्टलमेन क्रिकेट क्लब (जेसीसी) विरूद्ध। त्यो क्लब स्थापना गरेका थिए, भुटानका पूर्व प्रधानमन्त्री लेनी दोर्जीले। लेनी दार्जीलिङ पढ्दै गर्दा शक्तिका साथी। हप्काएछन्, ‘कहाँ उताबाट खेलेको!’ दुबै टोलीको विवादपछि अन्ततः लेनी दोर्जीको जेसीसी क्लबबाट खेल्दै घर फर्किएछन्। 

शक्ति राणा, नेपालका एकमात्र यस्ता क्रिकेटर हुन्, जसले नेपाली कलेजमा पढ्दै पटना विश्वविधालयका लागि भारतको विश्वविधालयस्तरीय क्रिकेट प्रतियोगिता खेले। २०१३ सालताका उनी त्रिचन्द्र कलेजमा पढ्दैथिए। त्यतिबेला त्रिचन्द्र कलेज पटना विश्वविधालय मातहत नै थियो। 

कल्याणमणि दीक्षित पटनामा डक्टरी गर्दैथिए। बनारसमा विश्वविधालयस्तरीय क्रिकेट प्रतियोगिता हुने निश्चित भएछ। कल्याणमणिले नै सिफारिस गरेछन् ‘नेपालमा शक्ति राणा र रमेशविक्रम शाह नाम गरेका दुई राम्रा खेलाडी छन्।’ यी दुबै खेलाडीलाई ट्रायलका लागि पटना विश्वविधालयले तत्कालै झिकायो। रमेश विक्रम भने पटना विश्वविधालयको टोलीमा अटाउन सकेनन्।

नेपाल फर्किहाले। तर, शक्तिले भने बनारसमा दिल्लीविरूद्ध खेल्ने मौका पाए। त्यतिबेला दिल्लीको कप्तान प्रकाश भण्डारी थिए, जो त्यतिबेला भारतका लागि टेस्ट खेल्दै थिए। त्यही शक्तिको भेट विदेशीभूमिमा भारतका लागि पहिलो टेस्ट सतक हान्ने मुस्ताक अलीसँग भएको थियो। मुस्ताकले उनको खेलको खुब तारिफ गरे। हात पनि मिलाए। 

त्यही साल नरशमशेर राणाको अगुवाइमा क्यान–११ को नाममा नेपाली राष्ट्रिय टोली मैत्रीपूर्ण खेलका लागि पटना पुगेको थियो। यहाँ शक्तिले आफ्नै देशविरूद्ध पटना विश्वविधालयबाट खेले। त्यहीँबाट अर्को मैत्रीपूर्ण खेलका लागि कोलकाता लागेको नेपाली टोलीमा भने उनलाई पनि समावेश गरियो। 

२०३९ सालमा वीरगञ्जमा भएको क्रिकेट प्रतियोगितामा उनले सबैलाई मन्त्रमुग्ध पारे। दर्शकको चर्को हुटिङका बीच उनले वीरगञ्ज क्रिकेट क्लबका बलर प्रकाश श्रेष्ठ (गायक) को बलमा देब्रे हातले छक्का हाने। त्यसअघि उनी दाहिने हातले ब्याटिङ गर्थे। उनी दाहिने हाते ब्याट्सम्यान हुन्। 
त्यसको ४ वर्षपछि काठमाडौंमा भारतीय दुतावासविरूद्ध खेल्दै उनले सक्रिय क्रिकेटबाट सन्यास लिए। भारतबाहिर सन् १९७०–७१ तिर थाइल्याण्डको बैंककमा खेल्न गएको नेपाली राष्ट्रिय टिमका उनी प्रमुख खेलाडी थिए। 

नेपालमा शक्ति राणाले काठमाडौं खेल मण्डल (केकेएम), जेन्टलमेन क्रिकेट क्लब र क्यानबाट क्रिकेट खेले। उनै शक्ति राणाको भदौं २८ गते अर्थात सेप्टेम्बर १३ मा ८७ वर्षको उमेरमा बुढानिलकण्ठस्थित आफ्नो घरमा निधन भयो। नेपालमा ‘जेन्टलम्यान’ क्रिकेटरको छवी बनाएका शक्ति पछिल्लो समय समाजसेवामा निकै सक्रिय थिए। 
 

प्रकाशित मिति: : 2020-12-16 21:41:00

प्रतिकृया दिनुहोस्

    मैले भन्नुपर्द नेपालका अहिलेसम्म्को स्टाईलिस्स्ट ब्यट्सम्यान शक्त राणा नै हुन भन्नुमा कुनै अन्याय हुने छैन ।वहाको बारेमा प्रकाश पारेर लेखक ले धरै राम्रो काम गर्नु भएको मैले अनुभव गरेको छु शक्ति दाइ प्रति हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏

    • 3 बर्ष अगाडि
    • Bijay kumar sharma

    We will never forget you. We will pray for him as he prayed for us. May God give him eternal rest.

    • 3 बर्ष अगाडि
    • Navin Rayamajhi