पश्चिममा बढ्दो पूर्वीय दर्शनको मोह

सभ्यताको जग र समाजको पहिचान हो, संस्कृति। पहिचान तव जीवन्त बन्छ, जब त्यस समाजको भाषा, मूल्य मान्यताका व्यवहारहरू मौलाउन पाउँछन्। त्यसैले यिनलाई संस्कृतिको आधारशीला भनिन्छ। यिनै आधारशीलाका जग हुन्, हाम्रा पूर्वीय दर्शन अनि चिन्तन। अनि, तिनका प्रतिक हाम्रा मठ मन्दिर। यी आस्थाका केन्द्र सरल जीवन र सहजीकरणका मार्ग हुन्। यस्तै चिन्तनमा मन विसाउने मानिसको फेरिएको बासस्थानसँगै मठ मन्दिरहरू। बहुसंख्यक मानिसको बसार्इंसराईंको गन्तव्य बनेको अमेरिका एउटा त्यस्तै देशहरुमध्ये एक हो। यसै सन्दर्भमा पूर्वीय चिन्तनप्रतिको पश्चिममा बढेको आकर्षणबारे चर्चा गरिने छ। विशेषतः अमेरिकामा रहि विविध क्षेत्रबाट समाज उत्थानमा योगदान दिइरहनु भएका बौद्धिक व्यक्तित्वसँग गरिएको छलफललाई प्रस्ततु गरिएको छ। 

Shyam Karki
 डा. श्याम कार्की (मेरिल्याण्ड गर्भनर्स कमिसन अन साउथ एसियन अमेरिकन अफियर्सका सदस्य)

पूर्वीय संस्कृति पहिचान हो। विशेषतः नेपाल बाहिर केही वर्षपछि जीवनयापन सहज बन्न थालेपनि मानिसले आफ्नो संस्कृति कसरी जोगाउने भन्ने तिर लाग्छ। यसैको परिणाम हो, अमेरिकामा पनि मन्दिर निर्माण बढ्दै जानुु, जसले संस्कृतिको जगेर्ना गर्छ। यसको अर्कोपाटो छ।

भाषा, साहित्य र कला। हामी नेपाल बाहिर बसेकाले संस्कृति जगेर्ना गर्नु भनेको सन्ततीको लागि हो। बच्चा हुर्कदै गएपछि म को हुँ भन्ने प्रश्न आउन थाल्छ। अनि त्यतिबेला आफ्नो संस्कृति र समाजिक मूल्य मान्यताबारे हुने अलमल्याईले नैराश्यता जन्माउँछ। त्यसैले बच्चालाई हुर्किदै गर्दादेखि नै आफ्नो संस्कृति देखाउनु जरुरी हुन्छ र सिकाउनु पर्छ। 

त्यसैले अहिले अमेरिकाका विभिन्न राज्यहरु जहाँ नेपालीको संख्या बढ्दै गएको छ, त्यहाँ नेपाली भाषा कक्षा सिकाउन थालिएको छ। भाषा संस्कृतिको ढोका हो। संस्कृतिको खोजमा अघिल्लो पुस्ताले आवश्यकसीपको उपाय दिन सक्नुपर्छ। त्यसमा पनि सामुहिकताभन्दा एकल समाजको बढ्दोपनाले परिवार साघँुरिदै जान्छ। नजिकको मान्छेलाई हेर्ने प्रचलन घट्छ। त्यस्तो बेलामा मानसिक तनावको क्रम बढ्छ।

त्यसैले पनि अमेरिकाका मानसिक तनावले पिरोलिएका मानिस प्रशस्त भेटिन्छन्। पूर्वीय संस्कृतिमा दर्शन बढी छ। यहाँ मानिसमा सेवाभाव छ। त्यसैले ज्ञान पहिलो खुट्किलो हो। दर्शन र चिन्तन मनन गर्नको लागि जसले म को हुँ भन्ने भावनासँग सेवाभावमा लाग्न सघाउँछ। हरेक धर्मका राम्रा पाटा छन्। तर गरिबी बढी र कम शिक्षित भएका स्थानमा समाजिक विकृतिहरू प्नि धेरै हुन्छन्। 

मानिसलाई आफ्नो कुरा मिल्नेसँग, छलफल गर्ने सुखदुःख बाढ्ने मन हुन्छ। त्यसका लागि सामाजिक ठाउँ मन्दिरलाई लिने गरिन्छ। अहिले नेपालीहरूको पनि संख्यात्मक वृद्धिसँगै मन्दिर निर्माण गर्ने क्रम बढिरहेको छ। मन्दिरमा सांस्कृति अभ्यास गर्न पाइन्छ। सकारात्मक उर्जा, भजन र पूजा पाठ गर्नु भनेको मन स्वस्थ्य राख्नुु हो। यसको आफ्नै उपयोगिता छ।

नेपाली युवाले पनि मन्दिर उपयोगितालाई आत्मसात गरेको पाइन्छ। मन्दिर बनाउने कार्य सहज छैन। यसका लागि दिगो व्यवस्थापन जरुरी हुन्छ। उदाहरणका लागि हिन्दुु बुद्ध मन्दिर बाल्टिमोरलाई हेरौं। यस मन्दिर निर्माणाधिन छ। कृषिजन्य स्थानमा भएकाले सरकारबाट अनुमति लिनुपर्यो। स्थानीयको सहमति, बाटो, पानी शौचालयको व्यवस्थापनका लागि समय लाग्यो। पूँजी सबैभन्दा महत्वपूर्ण पक्ष रह्यो। कानुनी अधिकार सुरक्षित राख्नु पर्छ। 

 Tara N. Niraula
डा. तारा निरौला (विद्यावारिधी शिक्षा क्षेत्रमा संगठन र नेतृत्व विकास)

पछिल्लो केही समय विशेषतः पश्चिमी समाजमा जीवनको वैकल्पिक उपाय खोजी गरेको देखिन्छ। पूर्वीय दर्शन आगाल्नुको कारण पूर्वीय दर्शनमा विशेषतः  हिन्दुु र वुद्धिज्म मानसिक शान्तिलाई लिएर मेडिटेशन, योगा गर्ने प्रचलन, प्राकृतिक प्रकारको परम्परागत अभ्यासलाई पश्चिमी मुलुकका मानिसले अपनाउन लागेको देखिन्छ।  जसको परिणाम अमेरिकामा पनि ठाउँठाउँमा विभिन्न बुद्धका गुम्बाहरू एवं हिन्दुु मन्दिरहरु, शान्ति केन्द्रहरु, ध्यान केन्द्रहरु खोलेर मानिसले सुविधा उपलब्ध गराएको पाइन्छ। 

पूर्वीय संस्कार र संस्कृतिमा बढी मात्रामा मेडिटेशन, आयुर्वेदिक प्रकृतिका खानपिनका अभ्यासलाई पश्चिमेलीले बुझेको देखिन्छ। उदाहरणको लागि बेसारलाई लिन सकिन्छ। पूर्वीय संस्कारमा बेसार अनिवार्य वस्तुका रुपमा लिइन्छ।

खानपान, पूजाअर्चनामा जसको औषधीय मूल्य पनि उत्तिकै रहेको अध्ययनले जनाएको छ। आयुर्वेदिक संसारको मूल्य र मान्यतामा जुन औषधि खाए पनि साइड इफेक्टको प्रभाव हुदैन। 

संसार अहिले साँघुरो भएकाले मानिस एक ठाउँबाट अर्को ठाउँमा, एक संस्कृतिका मान्छे अर्को संस्कृतिप्रति आकर्षित भएका हुन्। नेपाल जाँदा कहिल्यै हातले खाना नखाएको व्यक्तिले दालभात तरकारी हातले खाएका हुन्छन्। पूर्वीय दशर्नमा हामी सरल छौं। सरलता अर्को विशेषता हो।

तुलनात्मक रुपमा अन्य संस्कार, धर्मलाई सहज रुपमा स्वीकार गछौै। हाम्रो दर्शन नै अतिथि देवो भवः को छ। जुन पाश्चात्य संसारमा कम पाइन्छ। यो व्यक्तिवादी चिन्तनबाट बढी प्रभावित छ। पश्चिमी संस्कारमा विकासको लहर बढ्दै गर्दा व्यक्तिवादी प्रवृति हावी भएको छ। सूर्य उदयसँगै जल चढाउनुको महत्वबारे थाहै नपाई गरिआएको परम्परा ठानेर निरन्तरता दिने हामी धेरै छौं। र, यो परम्परा निरन्तर पुस्तान्तर हुँदै आएको छ । यद्यपि यसको मनोविज्ञान र यसले स्वास्थ्यको महत्व छ। 
 
Murali Adhikari

डा. मुरली अधिकारी (टेक्सस हिन्दू मन्दिरका अध्यक्ष )

पृथ्वीमा मानव श्रृष्टिले निश्चित आयु लिएर आए। विशेषतः मानिसलाई ८४ वर्षको जीवन भनिने गरिन्छ। यो निश्चित समयका लागि पाएको मानव जीवन कसरी बाच्ने, मानव जीवन के हो? के गर्नुपर्छ भन्ने चिन्तन शुरु भयो। यहीे चिन्तन नै पूर्वीय दर्शन हो।

मानव जीवन जन्म जन्मको संस्कारबाट आएको छ। ‘तिमी भित्रका स्वभावलाई बसमा राख्न सके तिमी भित्रै परमात्मा छन् र त्यसको व्यापकतालाई थाहा पाउँछौ भन्ने दर्शन पूर्वीयहरूको हो। यसैका लागि ध्यान जप, तप, मन्त्र र योगको दर्शन नै पूर्वीय दर्शन हो।’

यो संसार अहिले व्यापक भएको छ। प्रश्न उठ्छ्, के मानिस खान पिउन, मोजमस्ती गर्न मात्र जन्मिएको हो? मुुख्य कुरा मान्छेले जीवन कसरी विताउने भन्ने नै हो। भोगको आनन्द, धनको आनन्द अनि सम्मानको आनन्द क्षणिक हुन्। 

जगतभर जहाँ रहेपनि प्रकृति वा ईश्वरले दिएको सत्ता एउटै हुन्छ। त्यसले जीवनको परम अवस्थामा पुर्याउँछ। जहाँ अनन्दै आनन्द छ। तर, मानिस भोगको अशक्ति धनको लालचा, अनि सम्मानको भोको बन्दै गएको छ। पूर्वीय दर्शनले साधना गर्न सिकाउँछ। साधना गर्दै जाँदा परम आनन्दमा पुगिन्छ। जीवनमा तीनवटा कुरामा विचार पुर्याउनु पर्छ। भोगभित्र रुप रंग, स्वस्पर्श, गन्ध पर्छ। यो पापको बाटो हो।

धन प्राप्तिको कामना क्षणिक लाभयुक्त देखिन्छ तर शरीर नासवान छ। त्यो धन प्राप्तिको इच्छाले जीवनलाई थकाउँछ। सम्मान मिथ्या हो। यो क्षणिक सुखदायी छ। यसको भोगको पनि मूल्य चुकाउँनुपर्छ। धन सम्पत्तीको संचय गर्ने अभियानले मानव जातिलाई तनावमा लान्छ। सीमित समयका लागि पाएको शरीर नासवान हो। भाग्यले पाएको जीवन हो यो। यसलाई फाल्न हुदैन। यो मोक्षको तर्फ लानुपर्छ। त्यसो भए, के कर्म नै नगर्ने हो त? होइन कर्म गर्नुपर्छ। निष्काम कर्म। साधनामा रुपमा कर्म गरिनु पर्छ। अकर्ता भएर कर्म गर्नुपर्छ । 

बन्धनका रुपमा कर्म नगर भन्छ, पूर्वीय दर्शन। निष्काम कर्मको कुरामा अडिक छ। अलिकता पाउँदा रमाउने, गुमाउँदा रुने होइन। जीवन परमपद मोक्षका लागि हो। र, यो जीवनको अवसर हो। जीवनलाई सरल बनाउन साधना अनिवार्य हुनुपर्छ।

पूर्वीय दर्शनले अज्ञानका मार्गका रुपमा रहेका यी विचारलार्ई छोड्दा अर्को मार्ग प्राप्त गर्न सकिन्छ। त्यो नै मुक्तिको विन्दु हो भन्छ। यस विन्दुलाई बढाउँ। उर्जावान हुँदै गइन्छ। शरीरका सात चक्रलाई नै जगाउने हो। अनित्य वस्तुको पछाडि नदौडौं। विचारविहिनताले शान्ति जन्मिन्छ। कर्म कर्तव्यका रुपमा मात्र गर्नुपर्छ। मोक्षमा पुग्दा प्रकृतिमा विशुद्ध रुपमा आउन सक्छ । मायाको वसमा नफसौ । मुुक्तिले विशुद्ध चेतना जन्माउँछ। 

पश्चिमेली समाजमा किन पूर्वीय दर्शन प्रिय लाग्न थालेका हुन् भने याहा सम्पन्नताले सबै पाएको अवस्था छ। भोग जति भोग्दै गए। अतृप्ती नै। समाज धनी भयो। भोजमोज सारा प्राप्त तर क्षणिक भोगले भोग नै जगायो। त्यो परनिर्भरता जन्मायो आफैभित्र। ग्लानी जन्मिन थाल्यो।

यस्तो समाजका लागि शान्ति ठूलो विषय भएर आयो। वासनाले जीवनलाई तान्न थाल्यो। जति भोग्यो, त्यति भोगिरहने। त्यो पराकाष्टा भयो। त्यसले मानसिक, आत्मिक अशान्ति, रोग, मनस्थिर, दुःखी चञ्चलपना बढ्न थाल्यो। अनि वास्तवमा क्षणिक भौतिक सुखले आत्म सुखी हुन सकेन। 


 प्रेम संग्रौला (अर्थविद्, कोलम्विया विश्वविद्यालय, विश्व विकास बैक वासिङटन) 

पूर्वीय दर्शन प्राचीन दर्शन हो। आदिकालिक सम्भयता हो। अमेरिकाको त्यति लामो इतिहास छैन। बेलायतीको १५ औं शताब्दीदेखिको इतिहास पाइन्छ। अमेरिका कोलम्बसले पत्ता लगाएको नयाँ महादेशको आदि सम्भयताबारे धेरै थाहा छैन। तर दक्षिण अमेरिकामा भने भाषा सभ्यता थियो। पूर्वीय दर्शन सिन्धुुघाँटीको सभ्ययता, मोहन नेव, बेबीलोनको बगैचाको सभ्यता आदिकालका सभ्यता हुन्। 

यसै सन्दर्भमा मानिसको जीवनबारे खोज अनुसन्धान गर्न चाहनेहरू धेरै छन्। खोजी भइरहेको पनि छ। कारण, पश्चिमी संस्कृति जनजीवनमा योगा, मेडिटेशनका कुरा चल्छन्। जुन पूर्वीय कुरा हो। अहिले संयुक्त राष्ट्र संघमा पनि योग दिवस मनाउन थालिएको छ।

अब ‘मेडिटेशन डे’ का लागि पनि पहल हुँदै छ। प्रश्न उठ्छ योग र मेडिटेशन किन अन्र्तराष्ट्रिय दिवसको रुपमा मनाउनु पर्यो? जीवन भौतिक शरीर मात्र होइन, प्राणले चलेको हुन्छ। 

पश्चिम जनजीवनमा सुख सुविधाका सबै वस्तुहरु उपलब्ध छन्। हिँड्न, खान, वस्न, तातो–चिसो वातानुकूूलित साधन घरहरू पहुँच योग्य छन्। सुख सुविधाकै कारण अब त बच्चाहरू हिँड्न पनि नजान्ने हुन कि, भन्ने अवस्था भइसकेको छ। 

आधुनिक प्रविधिको प्रभाव यतिसम्म पर्न थालिसकेको छ कि, अब स्कूलको नानीहरूले अक्षर लेख्न नै नजान्ने भइसकेका छन्। त्यसकारण समाज, अत्याधुनिक र मेकानिकल भएको छ। त्यसले हामीलाई अत्यन्त कठिन घडिमा लगेको छ। त्यो जीवनशैलीलाई व्यवस्थित गर्न पनि पश्चिमी लेखक, दार्शनिक, अनुसन्धानकर्ताले पूर्वीय दर्शनको सरल जीवनशैली, प्रसन्नतालाई पछ्याइरहेका छन्।  

हामीले सभ्यताका कुरा गर्दा, परम्परा र हाम्रा जीवन सुखी बनाउन केही कुरा मिलाउनुपर्छ भन्ने बुझेर पश्चिमीहरू अहिले बुद्धको प्रार्थना, योगाअभ्यासको अभ्यास सुरुवात गर्दै आएका छन्। हाम्रो संस्कार, परम्परा दर्शनले हामीलाई सामान्यतया थाहा नपाइकन शरीरलाई स्वस्थ बनाउने उपाय समावेश गरिएको पाइन्छ, जस्तै भजन गर्दा ताली बजाउनु। मन्दिरमा भूूइँमा पलेँटी मारेर वस्नु। जुन योगाको एउटा आसन हो।

पश्चिममा चर्चमा त्यो हुदैन। ठूलो पार्टी भएजस्तो हुन्छ। अतः पूर्वीय दर्शनमा कतिपय कुुरालाई जीवनमा थाहा नपाइकन हामीले संस्कार र संस्कृतिमा मिसाई दिएका छौं। हाम्रा आमाबुवाले गरेको सनातन किसिमको प्राचीन शैली छ। त्यो निरन्तर छ। जस्तो हामी अमेरिकामा छौं। नेपालको तुलनामा सकसमा बाच्नेहरू छौं। गाउँको मान्छेभन्दा थोरै सुखी हुनुपर्ने हो। तर हामीभित्रैदेखि सुखी छैनौं। सबै आधुनिक सुखसुविधा छन्। तर किन हामीलाई निन्द्रा लाग्दैन? औषधि खानुपर्छ। 

हाम्रो परम्परागत जीवनशैली अर्थात् पूर्वीय दर्शनले मासिनको शरिर र मस्तिष्कलाई नै सुखी बनाउन सक्नेहुन्छ। यहाँ भौतिक सुख धेरै छ तर शान्ति र आनन्दको लागि भौतारिएको धेरै पाइन्छ। त्यसैले हाम्रा योगाभ्यासहरु प्रचलित बन्दै गएका हुन्।

प्रकृतिसँग नजिक पुर्याउने माध्यमको खोजीमा लागेका छन्। त्यसैले पूर्वीय दर्शन अत्यन्त पुरानो सुुसंस्कृत र सबै किसिमका ज्ञानले भरिपूर्ण पाइन्छ। तिनका केही उदाहरण बेद, गीता, महाभारत, ग्रन्थहरु हुुन्। त्यस्तै बुद्ध दर्शन इन्डोनेसियालगायत देशमा फैलियो। २२ सय वर्षअघि बुद्ध आएपछि उनले परम्परागत बौद्धमार्गलाई सम्बृद्ध बनाएर नयाँ दर्शन निर्माण गरे। मेडिटेशन बुद्धको दर्शन हो भने योगा हिन्दू दर्शन हो । 

पूर्वीय दर्शनकै एउटा विज्ञान अक्कुपन्चर हो। यो पनि पश्चिमी देशमा लोकप्रिय छ। आयुुर्वेदिक विज्ञान पनि उस्तै लोकप्रिय छ। जर्मनीले होमियोप्याथिक विधालाई अगाले। इसाई धर्म धेरै पुरानो धर्म होइन। धर्म दर्शन एउटा पाटो हो। तर सबै दर्शनका अंगमात्र हुन्।

समग्रमा पूर्वीय दर्शन सम्पूर्ण हिसाबले आत्मसात भएको दर्शन हो। त्यसैले पश्चिमाहरु पूर्वीय दर्शनमा आधारित पुस्तकको अध्ययन खोजमा लागेका छन्। यसका लागि पहिलो जान्नुपर्ने माध्यम संस्कृत भाषा हो। नेपालमा भने संस्कृत भाषाको  महत्वलाई राजनीतिकरण गरी महत्वहिन बनाइएको छ। 

प्रकाशित मिति: : 2020-12-15 21:15:00

प्रतिकृया दिनुहोस्