अध्यादेशप्रति देउवा पनि असन्तुष्ट, संवैधानिक परिषद्को बैठकमा नजाने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन्।

सरकारले अध्यादेश ल्याएपछि उनले बैठकमा नजाने निर्णय लिएका हुन्। 

‘बिहानको बैठकमा अध्यादेश ल्याएमा सहमति हुँदैन भन्दाभन्दै दिउँसो एकाएक जारी भएको छ। अबका बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले सभापतिज्यू सहभागी हुनुहुन्न,’स्वकीय सचिव भानु देउवाले भने ।

उनले देउवा पार्टीमा छलफल नगरि कुनै पनि बैठकमा उपस्थित नहुने समेत बताए। 

‘अब पार्टीमा परामर्श नगरी कुनै पनि बैठकमा सहभागी नहुने उहाँले बताउनुभएको छ,’ सचिव देउवाले भने। 

यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए।

बिहान प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक कोरम नपुगेर स्थगित भएको थियो। 

त्यसैपछि प्रधानमन्त्री ओलीले अध्यादेशको सिफारिस गरेका थिए। मन्त्रिपरिषदबाट सिफारिस गरिएको भएपनि मन्त्रीहरुले त्यस विषयमा कुनै छलफल नै नभएको बताएका छन्।

अध्यादेश ल्याएपछि कांग्रेसले आपत्ति जनाएको छ । देउवा अनुपस्थितमा  संवैधानिक परिषदको बैठकमा सहभागि नभएपनि यसलाई अगाडि बढाउने तयारी थालिएको छ। ओलीले आजै बेलुकी ५ बजेलाई बैठक बोलाएका छन्।


 

प्रकाशित मिति: : 2020-12-15 16:29:00

प्रतिकृया दिनुहोस्