मधेशले केही गर्नै सक्दैन तरु आउनुहोस्, विश्वलाई चकित बनाउने गरी कृषिमा लागेका युवाहरुले गरेको एउटा साधारण तर पत्याउनै नसकिने काम बारे चर्चा गरौँ।
कृषिमा ड्रोनको उपयोग। एक सय बिगाहा बढि जमिनमा ड्रोन प्रविधीबाट खेती। जनकपुरको कथा हो यो। मधेश डुल्दै गर्दा भेटिएको।
धनुषा जिल्लाको हथरा गाउँका खेतीयोग्य जमीनमा एकाएक ड्रोनले आकाशमा फन्को लगाउन थाल्यो। ड्र्रोनले करिव डेढ सय विघा (जग्गा) क्षेत्रफल आकाशबाट अवलोकन गर्दै गर्दा उक्त दृश्य हेर्न गाउँलेहरूबीच तँछाडमछाड चल्यो।
मधेशी समुदायको बाहुल्य रहेको क्षिरेश्वरनाथ नगरपालिका ९ को हथरा गाउँका स्थानीयहरू अचम्म मान्दै आकाशतिर हेरिरहेका थिए।
कोही घरको छत र बार्दलीबाट हेरिरहेका देखिन्थे भने कतै लकडाउनले घरमा थन्किएका सपरिवार आँगनमा भेला भएर आकासमा उडिरहेको ड्रोनतिर आँखा लगाइरहेका देखिन्थे।
ड्र्रोन उडेको उक्त दृश्यले कतिपयलाई आतकिंत तुल्याएको थियो। आश्चर्यभावमा आकाशतिर हेरिरहेका एक स्थानीय किसानलाई यसले किसानलाई नै सहयोग गर्ने यन्त्र हो भन्ने थाहा थिएन। भन्दै थिए, ‘हेलिकप्टरबाट गोलाबारी हुन लाग्यो कि क्या हो १ उनले यसो भनिरहँदा केही समय भागदौड पनि मच्चिएको थियो।
प्रधानमन्त्री आधुनिक कृषि परियोजनामा आवद्ध युवाहरूको एक समूहले हथरामा ड्रोन प्रविधीबाट खेती गर्ने भएपछि प्रदेश नम्बर दुईका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह त्यस समूहका युवाहरुलाई प्रोत्साहन गर्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। र, उनले ड्र्रोन उडाएर ड्रोन प्रविधिबाट शुरु गर्न लागिएको खेतीको उद्घाटन गरेका थिए।
जग्गाको बन्दोवस्त
धनुषा, महोत्तरी र सिन्धुलीका ३० जना युवाहरूको समूह प्रधानमन्त्री आधुनिक कृषि परियोजनामा आवद्ध भएका छन्।
सो समूहका लागि आधुनिक प्रविधिबाट सामूहिक कृषि गर्न प्रदेश दुईको अस्थायी राजधानी जनकपुरस्थित श्रीराम गुठीबाट ठेक्कामार्फत् गुठीको नाममा रहेको एक सय ४८ विघा १० कठ पाँच धुर जग्गा १० वर्षको लागि भाडामा लिइएको छ।
उनीहरुले वार्षिक १० लाख रुपैयाँ उक्त जग्गाको भाडा र नाफाको २५ प्रतिशत श्रीराम गुठीलाई बुझाउने गरी ठेक्कामार्फत् जग्गा लिएका हुन्।
युवाहरुको समूहले ड्रोनको सहायताले माछा पालन तथा अत्याधुनिक कृषि गर्नेछ। युवाहरु मध्येका एक राजेश महतोको नाममा आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्द्र नामक फर्ममार्फत् युवाहरूले ११ ओटा माछापालनका लागि पोखरी खनिसकेका छन्।
उक्त जग्गामा कृषि जोनका रुपमा कृषि गर्ने लक्ष्य लिएको बताउँदै युवाहरुको समूहमा आवद् ढल्केवरका युवा अगुवा प्रमोद चौधरीले भने , ‘लगानी छुट्याएर आएको नाफा बराबरी बाँढ्ने छौँ र सामाजिक दायित्व पनि हुने भएकाले हथरा गाउँमा आधुनिक पढाईका लागि वालवालिका लक्षित बिद्यालयहरु वरीपरिको गाउँमा खोल्ने हाम्रो उदेश्य रहेको छ।
एक बिगाहाको दरले ११ बिघामा पोखरी खनेका उनिहरुले १० बिगाहामा बाख्रा पाल्ने फर्म, १० बिगाहामा भैँसी र करिब ८ बिगाहामा जर्सी गाई पाल्ने आधुनिक फर्म बनाउने तयारी गरेकाछन्। त्यस्तै डेढ विगाहामा कुखरा फर्म, १ विगाहामा हाँस फर्म खोल्ने युवा मध्येका एक श्याम साह तेलीले जानकारी दिए।
उनले भने, ‘बगुँरचाहीँ पोखरीको किनार वरीपरि बनाउछौँ र अन्यमा धान, मकै, गहुँ, लहारीको दाल, मम्फली, तरभुज, लिच्चि, च्याउ र माच लगाएर लहरे तरकारीको खेती गर्ने तयारी हाम्रो छ। हामी यो कृषि फर्मलाई मान्छे डुल्न आउने ठाउँको रुपमा विकास गर्ने योजनामा छौँ।’
नेपाली कांग्रेसका केन्द्रीय पार्षद समेत रहेका राजेश महतोका अनुसार पोखरी खन्न नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत् एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। महतो भन्छन् , ‘प्रधानमन्त्री ओलीको प्रोत्साहनकै कारण तराई–मधेशका हामी युवाहरू ड्रोन प्रविधिबाट अत्याधुनिक खेती गर्न उत्साहित भएका हौँ।’
ड्रोनबाट यसरी हुन्छ खेती
नेपालमा ड्रोन उपयोगिताको ब्यवसाय सुरु गरेका र काठमाण्डौबाट ड्रोन लिएर आएका डिकेड इन्टरनेशनल प्रालीका निर्देशक बिष्णुबहादुर ढकालका अनुसार सबैभन्दा पहिला ड्रोन उडाएर खेती गर्ने जग्गाको तस्वीर कैद गरिन्छ।’
नेपालमा ड्रोनको आधिकारिक विक्री वितरण समेत सुरु गरेका निर्देशक ढकाल भन्छन्, ‘ड्रोनबाट जग्गाको तस्विर लिईसकेपछि खेतीको किसिमअनुसार प्रोग्रामिङ गरिन्छ र त्यसपछि लाइन प्रोग्राममा फिट गरिन्छ।’
दुवै प्रोग्रामिङ फिट गरेपछि गहुँ, धान, मकै के को खेती गर्ने हो त्यसको विउविजन ड्रोनमा लादेर उडाइन्छ। ड्र्रोन उडेर फिट गरेको प्रोग्राममा निर्धारण गरेको दुरीमो विउविजन छर्दै अघि बढ्छ।
‘अहिले नेपालमा प्रयोगमा ल्याइएको ड्रोनले ५ किलोग्राम वजनसम्म धानेर काम गर्न सक्छ’, निर्देशक ढकाल भन्छन्, ‘मानिसले भन्दा त धेरै छिटो काम गर्ने नै भयो, बिउविजन छर्ने वा गस्ती गर्ने जनशक्तिको आबश्यकता पनि परेन।’
निर्देशक ढकालका अनुसार ड्रोन प्रविधिको सहायताले जर्मनी, फ्रान्स, अमेरिका, इजरायल जस्ता देशमा कृषि फस्टाइरहेको छ।
उनी भन्छन्, ‘नेपालमा भने बल्ल यहाँका युवाहरूले ड्रोनबाट खेती गर्न सुरु गरेका छन्। यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो।’
ढकालले बताए अनुसार प्रोग्रामिग बनाएर ड्रोनबाट मल र बिषादी लगायत आवश्यक किटनाशक औषधि छर्कनसमेत प्रयोग गर्न सकिनेछ।
खेतीको रेखदेख ड्रोनबाटै
ड्रोन उपलब्ध गराउने काठमाडौंको डिकेड इन्टरनेशनलले प्रारम्भिक चरणमा प्राविधिक उपलब्ध गराउने र कृषिमा लागेका सम्बन्धित युवाहरुलाई नै प्रशिक्षणको अवस्था गर्ने अनि युवाहरु प्रशिक्षित भइसकेपछि प्रदेशस्थित कृषि मन्त्रालयले उपलब्ध गराउने कृषि प्राविधिकको सहयोग लिएर खेतीको काम गर्ने योजना उनीहरुको छ।
ड्रोनले खेतीको रेखदेख समेत गर्ने निर्देशक ढकालले बताए। यहाँ खेती गरिरहेका युवाहरूलाई ड्रोनको रेखदेख पनि आवश्यक पनि थियो।
खेतीमा लागेका युवाहरुको समूहमा आवद्ध् महोत्तरी बर्दिबास नगरपालिका ६ किसानपुरका मनोजकुमार साहका अनुसार एक वर्षअघि अज्ञात समूहले पोखरीमा बिष हालेर ११ ओटै पोखरीमा हालेको माछाको भुरा सखाप बनाइदिएको थियो।
‘ड्र्रोनले सुरक्षा दिने भएपछि ढुक्क भएका छौँ, ’ड्रोनबाट खेती गर्न पाउँदा हौसिएका मनोजले भने। निर्देशक ढकालका अनुसार प्रोग्रमिङकै सहाराले ड्रोनले तोकिएको निश्चित ठाउँमा गस्ती गर्ने छ।’
ढकाल भन्छन्, ‘राती होस् कि दिउँसो होस् गस्तीमा उडेको ड्रोनले प्रोग्रामिगंको सहाराले तस्विर खिच्ने छ। त्यस तस्वरमा देखिएको ब्यक्तिले खेतिलाई असर वा क्षति पुर्याइरहेको देखिएमा त्यही तस्वीरको सहाराले दोषीलाई कानुनी कार्वाही गर्न प्रमाण जुट्छ।’
आवश्यकता अनुसार प्रोग्रामिङमा समयतालिका फिट गरेर ड्रोनलाई गस्तीमा पठाउन सकिने ढकालको दावी छ।
नेपालमा कृषिका लागि ड्रोन बहुपयोगी हुने भन्दै निर्देशक ढकालले क्षमता अनुसार ड्रोनको मुल्य फरक हुने जानकारी दिँदै भने।, ‘युवाहरुले प्रयोगमा ल्याउन लागेको ड्रोन ५ किलो क्षमताकाको हो। यसको खरीद मुल्य चाहीँ १२ लाख रुपैयाँ हो।’
कृषि बिश्लेषक हरिहर न्यौपाने ड्रोनलाई कृषि क्षेत्रमा मात्रै होईन अन्य क्षेत्रमा पनि प्रयोग गर्दा नियन्त्रण निर्देशित (कन्ट्रोल ड्रिभन) गर्न सक्नुपर्ने तर्फ सचेत गराउँदै भन्छन्, ‘ड्रोनको उपयोगले कम जनशक्तिमा कृषि गर्न त सकिएला तर यसले वातावरणीय असन्तुलन पनि ल्याउन सक्छ।’
प्रधानमन्त्रीलाई अवलोकन गराउने सोच
डोनबाट खेती सुरु गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध ६ सय युवाहरूलाई रोजगार उपलब्ध गराउने र आफूहरुले गरेको आधुनिक कृषिको स्थलगत अनुगमनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने योजना रहेको समूह सदस्य सिन्धुलीका प्रकाश राईले बताए।
उनी भन्छन्, ‘प्रधानमन्त्रीकै प्रोत्साहनले खेती थालिएको हो, हामीले गरेको काम देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याइछाड्ने हाम्रो विचार छ। राससमार्फत् यो सन्देश प्रधानमन्त्रीसम्म पुगोस्।’
स्थानीय जनताहरूबाट अचेल ड्रोनबाट खेती शुरु गर्ने युवाहरूको यस समूहको प्रशंसा गरिएको पाइन्छ।
प्रदेश दुई सरकार, स्थानीय सरकारका प्रतिनिधिहरू माझ मात्रै होइन लेखक, पत्रकार, बुद्धिजीवी सबैले युवाहरूको यस शुरुवातलाई साहस ठान्दैे प्रशंसा गर्न थालेका छन्।
ज्वालासिहं नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चा छाडेर गाउँको विकास निर्माणमा होमिएर कहलिएका महोत्तरी बर्दीवास किसाननगरका राजेश सिहं (राजु) भने,‘ड्रोनबाट खेती शुरु गर्ने हिम्मत जुटाएर युवाहरूले उदहारणिय काम गरेका छन्। यस समूहलाई सबैको सहयोगको खाँचो छ।’
नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वरप्रसाद गुप्ता ड्रोन प्रविधिको उपयोगबाट खेती गर्न लागेका युवालाई संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले सहयोग गर्नुपर्ने बताउछन्।
कृषिका लागि आश
सिँचाई बोरीगंबाट र नगरपालिकाको सहयोगमा विद्युत आपूर्तीको ब्यवस्था गर्ने योजनमा छन् उनीहरु।
कुल वार्षिक लगानी १५ लाखसम्म गर्ने र उत्पादित सामाग्री देशका प्रमुख शहर र स्थािनय हाट बजारमा बेच्ने योजना आफूहरुको रहेको अगुवा राजेस महतो बताउँछन्। पछिल्लो समय तिनै तहको सरकारले कृषिलाई प्रोत्सहाउभम३न गर्न अनुदान र सहयोग गर्ने भएकाले पनि आफूहरु कृषितिर आकर्षित भएको बताए महतोले।
नेपालका करिब दुई तिहाई जनसंख्या रोजगारी तथा जिविकोपार्जनको लागि कृषि क्षेत्रमा निर्भर भएता पनि यस क्षोत्रको कूल गार्हस्थ उत्पादनमा करिब ३२.५ प्रतिशत योगदान रहेको आर्थिक सर्वेक्षण २०१५ मा उल्लेख छ।
राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि उत्पादन सामाग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्बन गर्न नसक्नु र कृषि विकासका लागि आवस्यक सिँचाई , कृषि सडक, ग्रामिण विद्युतिकरण, कृषि उद्योगहरुसँगको समन्वयको अभाव रहँदै आएको अनि बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई पूर्ण ब्यवसायको रुपमा नभई परम्परागत रुपमा मात्र आवलम्बन गरिदै आइएको सर्बविदितै छ।
यस अवस्थामा युवाहरुले ड्रोन प्रविधीबाट कृषि गर्ने जुन हिम्मत गरेकाछन् यसलाई प्रदेश सरकारको तर्फबाट सलाम गर्छु , कृषि मन्त्री साहले यस पक्तिकारसँगको कुराकानीमा भने, ‘युवाहरुलाई सहयोग र प्रोत्सहान गर्न म तयार छु।’
त्यति सजिलो छैन, चुनौतिका चाङ छन्
ड्रोन प्रयोग गर्न नेपालमा कानुनी उल्झन छ। कृषिमा मात्र होइन, नेपालमा बोर्डर रेखदेख गर्न र पहाडी क्षेत्रमा हलुका सामानहरु ढुवानी गर्न समेत ड्रोन पयोगमा ल्याउन सकिन्छ।
तर आवश्यक कानुनको अभावमा नेपालमा ड्रोन तस्विर र भिडियो खिच्न मात्र प्रयोग गरिएको छ। ‘नेपाल जस्तो बिकासोन्मूख देसका लागि ड्रोन धेरै उपयोगी हुन्छ,’ निर्देशक ढकाल थप्छन्, ‘तर कानुनी उल्झनले नेपालमा ड्रोनको सदुपयोग गर्न सकिएको छैन।’
नेपालमा ड्रोनको प्रयोग गर्दैपिच्छे प्रत्येक पटक सरकारसँग अनुमती लिनुपर्ने हुन्छ। सूचना तथा सञ्चार, प्रविधी मन्त्रालय, नागरिक उड्ययन तथा पर्यटन मन्त्रालय हुँदै गृह मन्त्रालयसँग पनि अनुमती लिनुपर्ने हुन्छ।
आफू मातहात नपर्ने भन्दै सञ्चार मन्त्रालयले अनुमती दिन मान्दैन। नागरिक उड्ययन मन्त्रालयले प्लेन उड्ने रुटमा नपर्ने गरी सात सय ग्राम मुनी बोक्ने क्षमताको तथा तीन सय फिट माथी सम्म ड्रोन उडाउन अनुमती लिनु पर्दैन भन्छ तर गृह मन्त्रालयले शान्तिसुरक्षामा खलल पुग्ने भन्दै अनुमती नै दिदैन।
किन त? जनफिकारहरुका अनुसार अमेरिका लगायत केही देसले ड्रोनबाट युद् लडिरहँदा कतिपय देशमा विद्रोहीहरुले ड्रोनबाटै गोलाबारुद बर्षाउन समेत प्रयोगमा ल्याइरहेकाछन्।
कानुन सुधार आयोगका अध्यक्ष माधव प्रसाद पौडेल अहिले भएको कानुनले ड्रोनको उपयोग गर्ने सम्बन्धमा पूर्णरुपले सम्बोधन गर्न नसकेको बताउँदै बताउछन्।
ड्रोन उपयोग सम्बन्धि आवस्यक कानुन ब्यवस्था गर्न जरुरी छ। उनका अनुसार ड्रोन आईटीसँग सम्बन्धित भएकाले सञ्चार मन्त्रालयसँग पनि अनुमती लिनुपर्ने ब्यवस्था गरिएको हो। तर यो अपूर्ण छ।
उनी अगाडी थप्छन् , तर हामीलाई त सम्बन्धित निकायहरुले अनुरोध गरेपछि मात्रै ड्रोन प्रयोगमा सहज हुनेगरि कानुन बनाउन सुझाव दिने हो नि त। तर ड्रोनको उपयोगितामा राज्य सम्बेदनशील बन्नैपर्ने हुन्छ।’
यता धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला ड्रोन प्रयोगमा ल्याउन मन्त्रालयहरुबाट अनुमती लिएर मात्रै नहुने बताउँदै जिल्ला प्रशासन कार्यालयबाट पनि प्रयोग गर्दैपिच्छे अनुमती लिनुपर्ने बताउछन्।
कृषिका नाममा यदि कसैले जनतालाई मानसिक रुपमा त्रसित बनाउन ड्रोन चलाउन थाल्यो भने तुरुन्त पक्रेर कार्वाही गरिन्छ। प्रजिअ निरौला भन्छन् , ‘मैले ड्रोन चलाए रे भनेको सुनेको छु तर जिल्ला प्रशासनमा अनुमती लिन कोही आएको छैन। अब ड्रोन चलाएको स्थानियले रिपोर्ट गरे भने प्रहरी लगाएर पक्रिने हो , कार्वाही चलाउने हो।
हुनथाल्यो आक्रमण
लकडाउनका बेला यहाँ खेती गरिरहेका धेरैजसो युबा आ–आफ्नो घरमा घरबन्दीमा परे। यही मौका छोपेर करिव ३५ जनाको अराजक समूहले पोखरीमा चारो हाल्न बसेका ५ युवामाथि सांघातिक हमला गर्यो। पोखरी किनारमा उनीहरुले आफू बस्न बनाएको अस्थायी काठे टहरा पनि त्यो अराजक भिडले भत्काएर आगो लगाई दियो।
बताइएअनुसार त्यस हमलामा परी १९ वर्षीय अलि हसन नदाफ सख्त घाईते भएका छन् भने प्रकाश राई, रामकरण महतो, राकेश महतो, श्याम साह सोनारलाई समेत कुटपिट गरिएको थियो।
युवाहरुका अगुवा राजेश महतोकाअनुसार हथराटोलका पल्टु मुखिया, जीवछ मुखिया, गंगा मुखिया, मिथिलाविहारी नगरपालिका ६ का रामकिशुन मुखिया, क्षिरेश्वरनाथ नगरपालिका ९ औरहाका किशोरी चौधरी, रामएकवाल चौधरी, रामविलास राउत, उतिमलाल राउत, सियाशरण राउत लगायतको नेतृत्वमा आएको समूहले हमला र तोडफोड गरेका थिए।
त्यो अराजक भिडले टहरामा भएको चारओटा सानो खाले ट्रेण्ट , पर्स र महत्वपूर्ण सामाग्रिहरु आगो लगाएर टहरासँगै डढाईदिएको श्याम साह सोनारले बताए।
पीडित रामकरोन महतोका अनुसार ३० देखि ३५ जनाको समूहमा आएका उनिहरुले टहरामा रहेका खाना बनाउने भाँडा वर्तन , कृषि फर्म दर्ताको कागजपत्र, ग्याँस चुल्हो, ३ थान मोवाइल, लतकपडाहरु , माछा फर्ममा प्रयोग हुने सामाग्रीहरु ३० हजार रुपैयाँ बराबरको ४ ईञ्चको पानी तान्ने मेशिन, पायप, विजुली तार र खाद्य पदार्थ समेत उनीहरुले लिएर गएका गएकाछन्।
गुठीको जग्गा बर्षौँ अघिदेखि भोगचलन गर्दै र बेच्दै आएकाहरुको योजनामा आक्रमण भएको राजेस महतोको भनाई छ। ईजरायलमा एग्रिकल्चर अध्ययन अनुसन्धान गरिरहेका महतोकै अगुवाईमा धनुषा , महोतरी र सिन्धुलीका युवाहरु सगंठित भएर यहाँ कृषि सुरु गरेका हुन्।
यसअघि महतोको ११ ओटै पोखरीमा बिष हालेर माछाको भुर नष्ट गरिए पनि विष हाल्नेहरु अहिलेसम्म अज्ञात रहेको पनि महतोले बताए।
यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यि युवा किसानहरुमाथी हमला भएको पुष्टि गर्दै आक्रमणकारीलाई नियन्त्रणमा लिएर कार्वाही अगाडि बढाइने बताए।
हमलाकारीहरुलाई लकडाउन उल्लंघन गरेको र हमला गरेको विषयमा कार्वाही अगाडी बढाइने प्रजिअको भनाइ छ। तर कोरोना कहरका कारण भने जसरी कार्वाही अगाडी बढाउन नपाएको प्रजिअ निरौलाको स्वीकारोक्ति छ।