उद्देश्य के लिनु उडी छुनु चन्द्र एक...
लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविताको यो हरफ सबैलाई कण्ठै होला र यहीअनुसार आफ्नो लक्ष्य पनि राखेका हाेलान्।
तर, जब लक्ष्यको कुरा हुन्छ ललिता बस्नेत अलमल पर्छिन्। उनले लक्ष्य के हो भनेर नबुझेकी पक्कै होइनन्, तर लक्ष्य राखेर के हुने हो र भन्दै निराश पनि भएकी हुन्।
२१ वर्षीया ललिता ‘मस्कुलर डिस्ट्रोफी’ बिरामी हुन्।
मस्कुलर डिस्ट्रोफी एक वंशानुगत रोग हो।
डिस्ट्रोफिन नामक प्रोटिनको कमीले माशंपेसी कमजोर हुँदै जान्छ। जति उमेर बढ्दै जान्छ, हिँड्न, हात खुट्टा चलाउन समस्या हुँदै जान्छ।
१४ वर्षको कलिलो उमेरमा ललितालाई मस्कुलर डिस्ट्रोफी भयो। यो कुरा न उनलाई थाहा भयो न उनको घरपरिवारलाई।
विस्तारै उनलाई हिँड्न समस्या भयो। उनलाई बोल्न पनि समस्या हुन थाल्यो। बहिनीको सहायतामा विद्यालय जान थालेकी थिइन्।
समस्या बढ्दै जान थालेपछि उनलाई उपचारका लागि लगियो। अनि मात्र थाहा भयो मूल समस्या। उनलाई वंशानुगत रोग लागेको रहेछ।