कालू पाध्या, शंकर पाध्या दुबै मिली एक,
दुई मिली नेपाल बाइजाउ अधिया नटेक।
वि.सं १८४६ मा जुम्ला राज्यलाई नेपाल राज्यले षडयन्त्र पूर्वक हराएको थियाे। हारेकाे शक्तिलाई दबाउने युद्धको नियम अनुसार जुम्लीहरु नेपाल राज्यको काेपभाजनमा परे।
परिणाम हालसम्म पनि काठमाडौंमा रहेका स्वयम्भूका आँखासमेत जुम्ला हेर्नेबेला नदेख्ने भइजान्छन् भने त्यसबेलाकाे राज्यले कति दमन गर्याे हाेला, अनुमान लाउन कुनै आइतबार कुर्नु पर्दैन।
महिला र १४ वर्ष मुनिका केटाकेटी बाहेक अरु सबैलाई काटिदिनु भन्ने तत्कालीन नेपाल राज्यका जित्ने राजाकाे आदेश दिएकाे बताउछन्, यहाँका बुढापाका। त्यसकाे प्रमाण स्वरुप आज पनि गाउँघरमा यस्ताे गीत गाइन्छ।
भातु खायाे साेभान शाहीले ताउली हाल्याे कुम्ला,
झिति(जिति) हाल्याै गाेराखाय, जनिमार जुम्ला।
अर्थ: ‘जनताबाट कर उठाएर राजा साेभान शाहीले खाए। खाने, पकाउने सामान बाेकेर उनी गइहाले। हारेकाे उनले हाे। ठिक छ गाेर्खालीहरु जित तिम्रै भयाे। तर, यसरी जुम्ली जनता नमार।’
यस्ताे बर्बर अत्याचार सहेका जुम्लीहरुलाई राज्यले दबाइ राख्न कयाैं शर्त ताेकेकाे थियाे। कयाैं हर्जना तिराएकाे थियाे। त्यसमध्ये एक हाे, अधिया शर्त।
वर्षभरि खेतबारीमा काम गरेर अन्न भित्र्याएर भकारी भर्ने बेला आधा भन्दा बढी गाेर्खालीहरुले लिन थालेपछि रात दिन खेतमा काम गर्ने जुम्ली महिलाकाे मनमा आगाेकाे राँकाे बलेकाे थियाे।
त्यस बेला मिलेर संघर्ष गर्नुपर्ने कालू र शंकर पाध्या झगडिएका थिए। उनीहरुलाई मिलेर संघर्ष गर भनी महिलाहरुले आवह्वान गर्दा माथिकाे गीत गाइएकाे हाे।
त्यसपछि मिलेका कालु र शंकर पाध्या नेपाल गई दियालाेकाे जुलुस गरेका थिए। तत्कालीन शासकाे घैंटाेमा घाम लागेकाे थियाे र माग पूरा भई अधिया सर्त काटिएकाे थियाे। त्यसयता जुम्लीले कर बाहेक अधियाबापत अन्न तिरेनन्।
तर, जबजब जुम्लीलाई संकट पर्छ तबतब उनीहरु दियालाे बालेर शासक खाेज्ने काममा तल्लीन हुन्छन्। फेरि एक पटक त्यस्तै भएकाे छ, जुम्लामा। जब २०४० सालदेखि बालि आएकाे बिजुली एकाएक अनिश्चित भयाे त्यसपछि जुम्लीकाे मनमा आगाेकाे राँकाे बलेकाे छ। सदरमुकाम खलंगामा नियमित बिजुली आपूर्ति नहुँदा दियालो बालेर राज्यको ध्यानाकर्षण गरिएको छ।
चन्दननाथ नगरपालिका तथा सदरमुकाम खलंगामा चार वर्ष अघिदेखि बिजुली अनियमित हुँदै अनिश्चित हुँदा शासक खाेजेर राज्यको ध्यान खिच्न दियालो बालिएकाे हाे।
विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो।
समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो। नयाँ भनिएका डुब्लिकेट (नक्कली) मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक–पटक बिग्रिने गरेपछि जुम्लीहरु उज्यालाेबाट अँध्यारोतिर धकेलिएका हुन्।
त्यसमाथि जुम्लामा अड्डा जमाएर बसेकाे विद्युत् प्राधिकरणको चरम लापरवाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुका साथै विद्युत तथा सञ्चार सेवाबाट समेत बञ्चित हुनु परेकाे छ।
अत्ति भएपछि विद्युत आपूर्ति संघर्ष समिति गठन गरेर आन्दोलन थालिएको छ। जसले दियालाे बाली अँध्यारोमा राज्य र उसकाे अंग विद्युत प्राधिकरण खाेजिरहेकाे छ।
‘भारतीय निर्माण कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ संघर्ष समितिका संयोजक राजबहादुर महतले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमाथि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता। राज्य नामकाे छैन प्रसादका आँखाले थानकोट भन्दा बाहिरकाे नेपाल देख्दैनन्। यस्ता अवस्थामा दियालो बालेर उनीहरुलाई खाेज्नु बाहेक विकल्प छैन।’
विद्युत तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति तथा नागरिक समाजका अध्यक्षसमेत रहेका उनले तत्काल जेनेरेटरबाट भएपनि विद्युत आपूर्ति गर्नुपर्ने, राष्ट्रिय प्रसारण लाइन ६ महिना भित्र जडान गरी स्थायी रुपमा विद्युत आपूर्ति गर्नुपर्ने बताए।
उनले टेण्डर आव्हान गरी जोडिएको मेसिनमा पटक पटक खराबी देखिएकोले छानविन गरेर कानुनी प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
त्यस्तै जुम्लामा फोन र नेटको क्षमता समेत कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकोले नेपाल टेलिकम शाखा जुम्ला र संचार मन्त्रालय समेतको ध्यानाकर्षण गर्न विद्युत तथा सञ्चार सम्बन्धी प्रयोगमा आउने सामग्री नेपाल टेलिकम र विद्युत प्राधिकरणमा बुझाउने जस्ता कार्यक्रमहरु गरि राज्य खाज्ने काम भइरहेको छ।