नेपाल सबै खाले संक्रमणमा छ । हरेक तह र तप्कामा दुईवटा वर्ग प्रष्टसँग देखिएको छ, एउटा शासक, अर्काे शासित । यी दुईबीचको द्वन्द चरमसीमामा पुगेको छ। तर, दुर्भाग्य शासित वर्ग द्वन्दमा छैन यहाँ, आत्मसमर्पण गरिरहेको छ। यो आत्मसमर्पणमा ऊ कि त मुलुक छोडेर विदेशिदै छ कि मुलुकमै रहेर पनि दोस्रो दर्जाको नागरिक भएर बाँच्न विवश छ । अनि, हरेक क्षेत्रका शासक वर्ग भने साम, दाम, दण्ड, भेद लगाएर मुलुक दोहनमा लागेका छन् र आफूलाई अरू शक्तिशाली
बनाइरहेका छन् ।
हुन त संसारमा कुनै पनि मान्छे अपरिहार्य हुदैन । औचित्य र सन्दर्भका आधारमा आवश्यक मात्र हुने हो । यदाकदा धेरै क्रियाशील हुँदा वा चल्दा कसैलाई आफू अपरिहार्य हुदै गएको लाग्न सक्छ । तर, यथार्थमा त्यस्तो हुदैँन, त्यो भ्रम मात्र हो ।
कुनै एक क्षेत्रमा हैन, हरेक क्षेत्रमा यो लागू हुन्छ । चलचित्र क्षेत्र पनि योभन्दा पृथक हुदैन । अझ चलचित्र त पुरानो स्वाद र अनुहारमा धेरै टिक्ने क्षेत्र नै हैन, यसमा छिटोछिटो नयाँ स्वाद र अनुहार आवश्यक भैरहन्छ । त्यसैले चलचित्र क्षेत्रमा एउटा भनाइ नै छ, जो बिक्छ ऊ मात्र टिक्छ । तर, लामो समयसम्म टिक्न र बिक्न सजिलो हुदैन । सन्दर्भअनुसार आफ्नो भूमिका परिवर्तन गर्न सक्ने भर्सटाइल व्यक्तित्व भने लामो समयसम्म टिक्न सक्छन् । तर, त्यस्ता मेधावी प्रतिभाको संख्या हातको
औलामा गन्न सकिने मात्रै हुन्छ ।
नेपाली चलचित्र क्षेत्रले पनि निकै लामो यात्रा तय गरेको छ । सत्य हरिश्चन्द्रबाट नाप्दा साँढे ६ दशक अनि चलिचत्र आमाबाट नाप्दा पाँचदशक उकालो लागिसक्यो नेपाली चलिचत्र । यो लामो यात्रामा सय हैन, हजारको संख्यामा चलिचत्रकर्मीले यो क्षेत्रमा आफ्नो कर्म गरेका छन्, योगदान पुर्याएका छन् । कतिले पर्दा पछाडिबाट, कतिले पर्दा अगाडिबाट ।
नेपाली चलचित्रलाई आजको अवस्थामा ल्याइपुर्याउने हजारौ चलचित्रकर्मीमध्ये हामी कति चलचित्रकर्मी सम्झन्छौ ? दश, बीस, तीस, चालिस ? योभन्दा बढी त यही क्षेत्रका मानिसले पनि सम्झन नसक्लान् । हुन त विर्सनु पनि अस्वभाविक हैन । किनकि सम्झने गरेर उल्लेखनीय योगदान गर्ने चलिचत्रकर्मीको संख्या थोरै नै हुन्छ।
नेपाली चलचित्रमै शोध गर्ने व्यक्तिका पनि सीमा हुन्छन् । उनीहरूले लिने नमूना आकार आफैंमा एउटा जबर्जस्त सीमा हुन्छ भने आफ्नो विवशता र बाध्यता उल्लेख गर्ने एउटा शीर्षक नै हुन्छ, लिमिटेसन्स । यसले धेरै कुरामा शोधार्थीलाई जोगाइदिन्छ ।
संसारमा कुनै पनि मान्छे अपरिहार्य हुदैन । औचित्य र सन्दर्भका आधारमा आवश्यक मात्र हुने हो । यदाकदा धेरै क्रियाशील हुँदा वा चल्दा कसैलाई आफू अपरिहार्य हुदै गएको लाग्न सक्छ । तर, यथार्थमा त्यस्तो हुदैन, त्यो भ्रम मात्र हो ।
सीमा (लिमिटेसन) र नजिकपन (प्रोक्सिमिटी) लाई छोडेर सम्झनुपर्ने नाम कति होलान् नेपाली चलचित्रमा ? पहिलो भए बापत इतिहासका लागि सम्झनुपर्ने पनि केही होलान् । ती बाहेक साँच्चीकै योगदानका लागि सम्झनुपर्ने कति होलान् यस क्षेत्रमा ? समयले उत्तर मागिरहेको एउटा प्रश्न हो यो । हिसावजस्तो ठ्याक्क उत्तर नआए पनि वस्तुपरक हुने हो भने उस्तै उस्तै उत्तर आउन सक्छ ।
नेपाली चलचित्रमा इतिहासका कारणले सम्झिने नाममा निर्देशक डीबी परियार (सत्य हरिश्चन्द्र- पहिलो नेपाली चलचित्र), हिरासिंह खत्री (आमा- नेपालमा बनेको पहिलो चलचित्र), बीएस थापा (माइतिघर- निजी क्षेत्रबाट बनेको पहिलो चलचित्र), प्रताप सुब्बा (परालको आगो- पहिलो नेपाली कला चलचित्र), किशोर राना (राँको- पहिलो सिनेमास्कोप चलचित्र), तुलसी घिमिरे(कुसुमे रूमाल- पहिलो सिल्भर जुब्ली चलचित्र) आदि पर्छन् । यसैगरी पहिलो नायक शिवशंकर (आमा), पहिलो नायिका भुवन थापा (आमा), चरित्र अभिनेत्री शान्ति मास्के, वसुन्धरा भुषाल, चैत्यदेवी आदिको पनि नाम लिनुपर्ने हुन्छ । चरित्र अभिनेतामा हरिप्रसाद रिमाल, ऋद्धिचरण, हरिहर शर्मा, नीर शाह आदिको लामै सूची बन्छ । चलचित्रका प्राविधिकको सूची पनि लामै बन्छ । तर, उनीहरूको योगदान तिलको दाना जति पनि मानिएको छैन । किनकि, हामीमा योगदानको बारेमा न बताइदिने एप्रिसियसन संस्कार छ न त्यो सम्झाइदिने सूत्रधार नै ।
एक समीक्षकका रूपमा हेर्दा नेपाली चलचित्रको हिजो र आजबीच आकाश जमीनको फरक छ । न हिजोकाले आजकालाई चिन्छन् न आजकाले हिजोकालाई नै चिन्ने माहौल छ । यो सबै चलचित्र संस्कारको अभावले भएको हो । चलचित्र संस्कारमा चलचित्रको आधिकारिक इतिहास हुन्छ, चलचित्र साहित्य हुन्छ। ती दुबैको अध्ययन गर्ने चलचित्र संस्कार हुन्छ र एउटा न्युनतम ज्ञानको तह भएका मानिस मात्र यस क्षेत्रमा आउँछन्। अझ चलचित्रकर्मीसँग त राम्रा चलिचत्रको अर्काइभ नै हुन्छ। चलचित्र महोत्सवमा चलचित्रकर्मी एकआपसमा भेटघाट गर्ने, अनुभव साटासाट गर्ने, नयाँ पुरानाका चलचित्र हेरेर अप्रिसियसन गर्ने संस्कार हुन्छ ।
तर, दुर्भाग्य नेपाली चलिचत्रकर्ममा यस्तो केही नै छैन । पछिल्लो समय त झन म्युजिक भिडियोको मोडलिङबाट आएका, काँचको पर्दाबाट आएका, रंगमञ्चबाट आएका, पुरानो मूलधारका चलिचत्रकर्मीको सरसंगत, नातापाता आदिबाट आएका गरेर थरिथरिका स्कूलिङका चलिचत्रकर्मी पाइन्छन् । अझ त्यसमा राजनीतिक कित्ताकाट पनि थपिएको छ । फलत: चलिचत्रकर्मीमा एकले अर्कालाई सम्मान गर्ने, कामको एप्रिसियनसन गर्ने सोच र कोण केही नै छैन । यसले गर्दा नेपाली चलिचत्रकर्म नाट्रयश्वरीको क्षेत्र हो र यसमा एक किसिमका गुरूकुल पद्धति आवश्यक हुन्छ भन्ने खालको चिन्तनको पनि खडेरी देखिन्छ ।
पछिल्लो समय नेपाली चलचित्रकर्ममा अवार्डको असार लागेको छ । अनेकौ खाले संघसंस्था स्थापना भएका छन् र ती संघ संस्थामा पद ओगट्ने रोग नै लागेको छ । यी दुबै कोणबाट पाइने मान, सम्मान, खादा, माला, वधाई आदि इत्यादिमै अहिलेको चलचित्र संस्कार रूमल्लिएको छ । यो पछिल्लो खाले कस्मेटिक चलचित्र संस्कृतिले सिर्जना पक्ष मात्र गौढ हुदै गएको हैन, सम्मानको प्राच्य संस्कृति पनि स्खलित हुन पुगेको छ।
यो लामो यात्रामा नेपाली चलचित्र उद्योग पाराडाइम सिफ्टको अवस्थामा पुगेको छ । हिजोको डोमिनेन्ट पाराडाइम अब अल्टरनेटिव पाराडाइम हुने स्थिति सिर्जना भएको छ । त्यसैगरी मूलधार बैकल्पिक र बैकल्पिक मूलधारमा स्थानान्तर हुने सम्भावना पनि बढ्दो छ । सारमा, नेपाली समाजका सदस्य जसरी फरक ढंगले कथा भन्न थालेका छन्, त्यसकै सिको गर्न थालेका छन्, नेपाली चलिचत्रका निर्देशक पनि । चलचित्र क्रमश: मिडिया सेन्ट्रिकबाट सोसाइटी सेन्ट्रिक हुँदै गएर तावा तातेको बेला हो यो । ठीक यही बेला, सबै कोण र सोचबाट प्रयत्न गर्ने हो भने नेपाली चलचित्रले आफ्नो बुनोट र बनोटको बाटो समात्न सक्छ । त्यसो हुँदा एक किसिमको फ्युजन नै सही, नेपाली चलचित्रले आफ्नो सिनेम्याटिक ल्याग्वेज हासिल गर्न धेरै दिन लाग्दैन। यदि, त्यसो भयो भने नेपाली चलचित्र उद्योगका लागि सबैभन्दा ठूलो उपलव्धी हात पर्न सक्छ ।
यसका लागि चलचित्र अवार्ड पनि नेपाली चलचित्रको सिनेम्याटिक ल्याङ्गवेज बनाउने उपक्रममा सहयोगी हुन जरूरी छ । दर्शकले पनि तथाकथित फ्यान फलोइङको सनातनीबाट माथि उठेर हाम्रा हैन, राम्रा चलचित्रको पक्षमा उभिए हुने हो यतिबेला। यहाँ राम्रा भनेको हाम्रा हो । अझ प्रष्टसँग भन्ने हो भने हाम्रा भनेको नेपाली चलिचत्रको चलिचत्र भाषा (सिनेम्याटिक ल्याङ्वेज) बनाउने सम्भावना भएका चलचित्र नै हुन् ।
घुम्दै फिर्दै रूम्जाटार भनेझैं कोही पनि मानिस यो संसारमा अपरिहार्य नहुने अर्थमा नेपाली चलचित्रका अहिलेका मानिस पनि अपरिहार्य हैनन्। जसरी हिजोका थिएनन् र भोलिका पनि हुने हैनन् । आफूलाई सान्दर्भिक बनाउन र आफ्नो औचित्य पुष्टी गर्न समयले दिएको दिशा निर्देशलाई स्वीकार गर्नु नै बुद्धिमानी हो।
हामी साक्षी छौ, कुनै समय नेपाली चलचित्रमा दुईवटा चलचित्र पाठशाला थिए , एउटा प्रकाश थापा पाठशाला अर्काे तुलसी घिमिरे पाठशाला । नेपाली चलचित्रका विद्यार्थी आआफ्नो सोच र कोणअनुसार ती पाठशालामा जान्थे र जो दुबै पाठशालाका विद्यार्थी हुन्थे, उनीहरू आफूलाई दीक्षित भएको ठान्थे । धेरै भएको छैन त्यो समय र यो समयमा । तर, आजको चलचित्र पिंढीमा त्यो जानकारी कतिलाई छ र ?
यही नै एउटा दृष्टान्त हो, कुनै पनि मान्छे यो संसारमा अपरिहार्य छैन, समयअनुसार आवश्यक भने हुन सक्छ । त्यसमा पनि पाराडाइम सिफ्ट हुन लागेको यतिबेला त मान्छे उपयोग मात्र हुने हो । समयको यही सत्य बुझौं, बाँकि यहाँहरूकै मर्जी ।
(२०१६ सेप्टेम्बर १६ मा लेखिएको यो आलेख प्रदीप भट्टराईले नेपाल डेटलाइनमा लेखेको अन्तिम आलेख हो। कोभिड- १९ ले सिर्जना गरेको पछिल्लो अवस्थालाई पज गर्ने हो भने चार वर्ष बितिसक्दा पनि यो आलेखको विषयवस्तुमा आनका तान फरक परेको छैन।)