नेपाल र भारतबीच विवाद रहेपनि अहिले दुवै राष्ट्र मिलिसक्याैं: विदेश मन्त्री जयशंकर

भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतबीच विवाद रहेपनि अहिले दुवै राष्ट्र अघि बढिसकेको बताएका छन्।

जयशंकरले विश्वभर छिमेकी राष्ट्रहरुबीच समस्या हुने भन्दै साझा विन्दु पत्ता लगाएर सम्बन्धमा देखिएको दरारहरुलाई कसरी कम गर्ने भन्नेमा अब सोच्नुपर्ने बताए।  

‘समस्याहरु हुन्छन्। हाम्रो अधिकांश छिमेकी राष्ट्रहरुमा लोकतान्त्रिक प्रणाली छ। मुख्य कुरा के हो भने उनीहरुको आफ्नो राजनीति छ। हाम्रो आफ्नो छुट्टै राजनीति छ। त्यसैले समस्या त भइहाल्छन्। ती समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने चाहिँ प्रश्न हो,’ उनले द हिन्दुसँग भने। 

पछिल्लाे समय नेपालले संविधान निर्माण गरेपछिको भारतसँगको सम्बन्धमा दरार आएको छ। त्यसपछि भारत सरकारले गत वर्ष नोभेम्बर २ मा आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई त्यसमा देखाएको थियो।

नयाँ नक्सा प्रकाशनपछि चिसिएको छ नेपाल–भारत सम्बन्ध।

 जयशंकरले भने, ‘दुई छिमेकी राष्ट्रबीच समस्य नभएको कहाँ छ, मलाई देखाउनुस्। एउटा समय थियो जहाँ हामीबीच समस्याहरु थिए। तर त्याे समाधान भइसकेकाे छ।’

यस्तै उनले बाँकी रहेकाे समस्या पनि भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाकाे नेपाल भ्रमणले मिलाइसकेकाे बताए।  

‘गएको केही हप्तामा नेपाल र भारतले अघि बढ्ने निर्णय गरिसकेको मलाई लाग्छ। यो दुवै राष्ट्रको आपसी हितमा छ,’ उनले भने। 

प्रकाशित मिति: : 2020-12-03 12:50:00

प्रतिकृया दिनुहोस्