दिलकुमार लिम्बू
घुन्साका मिङ्माडण्डु शेर्पा र पेमा शेर्पाको ठूलो सपना छैन। उनीहरूलाई दैनिक जीविका चलाउन पाए पुग्छ।
ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका शेर्पाद्वयलाई पर्यटक नआएपछि जीविका चलाउन समस्या भएको हो। कोभिड–१९ का कारण पर्यटकको आवागमन नभएपछि मिङ्माडण्डु र पेमा मात्र होइन, यस क्षेत्रका अधिकांश होटल तथा पर्यटन व्यवसायीलाई दैनिक जीविका चलाउन समस्या भएका छन्।
कञ्चनजङ्घा आधार शिविर क्षेत्रअन्तर्गत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको सेकाथुम, जापानटार, थाङ्ग्याम, अम्जिलेसा, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकजस्ता ठाउँमा खुलेका होटलमा पर्यटकको आगमन नभएपछि व्यवसायी आर्थिक सङ्कटमा परेका हुन्। विश्वका तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित यहाँको पर्यटकीयस्थलको भ्रमणमा जाने पर्यटकलाई लक्षित गरी यस क्षेत्रमा ठूलो रकम लगानी गरेर होटल व्यवसाय सञ्चालनमा छन्।
विगतका वर्षहरुमा बाह्य तथा आन्तरिक पर्यटकले खचाखच हुने यस क्षेत्रका होटल यो वर्ष सुनसान बनेका घुन्साका होटल व्यवसायी मिङ्माडण्डु शेर्पाले बताए। कोरोना महामारीपछिको बन्दाबन्दी (लकडाउन) ले पर्यटक आवागमन ठप्प हुँदा करोडौँ लगानी गरेर सञ्चालनमा ल्याइएका होटल सुनसान हुँदा व्यवसायीको जीविका चलाउन निकै समस्या भइरहेको उनको भनाइ छ।
आधार शिविर क्षेत्रअर्थात् अम्जिलेसा, ग्याब्ला, फले, घुन्सालगायत ठाउँका बासिन्दाको मुख्य पेशा नै होटल व्यवसाय भएकाले व्यवसाय ठप्प हुँदा यसक्षेत्रका बासिन्दा तथा व्यवसायीलाई निक्कै समस्या परेको उनले बताए। घुन्साकै होटल व्यवसायी पेमा शेर्पाले यस वर्ष पर्यटकको उपस्थिति नहुँदा आफूहरुलाई निक्कै समस्या भएको बताए। आम्दानीको स्रोत नै होटल व्यवसाय भएको र यो वर्ष व्यवसाय ठप्प भई आम्दानी गुम्नाले घरव्यवहार साथै दैनिकी चलाउनलाई नै धौ–धौ परिरहेको शेर्पाले बताए।
होटल ठप्प हुँदा खरिद र ढुवानीसमेत महँगो रकम खर्चिएर पु¥याइएका उपभोग्य वस्तु बिक्री गर्न नपाउँदा यसपालि ठूलै घाटा ब्योहोर्नुपरहेको उनको भनाइ छ। उनका अनुसार उपभोग्य वस्तु सदरमुकाम फुङ्लिङदेखि लोनाकसम्म पु¥याउनलाई ढुवानी खर्च मात्र प्रतिकिलोग्राम रु १२७ पर्दछ। फुङ्लिङ बजारदेखि तापेथोकको रानी पुलसम्म कच्ची सडक पुगेकाले ट्र्याक्टरमार्फत प्रतिकेजी रु सातले सामान ढुवानी गर्ने र त्यहाँबाट घुन्सासम्म प्रतिकेजी रु ५०, लोनाकसम्म प्रतिकेजी रु १२० मा खच्चर तथा चौँरीलाई बोकाएर सामान ढुवानी गर्नुपर्ने अवस्था छ।
गत चैत र वैशाख महिनाको पर्यटकीय मौसमका लागि पु¥याइएका सामान समयमा बिक्री नहुँदा घाटा भएको व्यवसायीको भनाइ छ। घुन्साकै होटल व्यवसायी टासी तेन्जिङ शेर्पाका अनुसार पर्यटनको सिजनलाई लक्षित गरी पु¥याइएका उपभोग्य वस्तु थन्क्याएर राख्नु र आफैँले उपभोग गर्नाले साथै कतिपय उपभोग्य वस्तु म्याद गुज्रेर नष्ट गर्नुपर्दा ठूलो घाटा भएको छ। यो वर्ष दुवै सिजनमा पर्यटकको आगमन शून्य हुँदा आम्दानी गुमेको व्यवसायीको भनाइ छ।
पर्यटकलाई नै लक्षित गरी ग्याब्लाका छुवाङ शेर्पाले पनि होटल व्यवसायमा करोडौँ लगानी गरेका छन्। उनले थाङ्ग्याम, ग्याब्ला र खम्बाचेन गरी तीन ठाउँमा धेरै सेवाग्राही (पाहुना) अटाउन सक्ने क्षमताको संरचना बनाएर होटल सञ्चालन गर्दै आएका छन्। यो वर्ष भने पर्यटक आवागमन ठप्प भएकाले नराम्ररी घाटासँगै आम्दानी गुमाउनुपरेको शेर्पाले बताए। अब पर्यटन क्षेत्र सञ्चालनमा आए पनि यस वर्षको घाटाबाट उस्कनलाई केही वर्ष लाग्ने उनको भनाइ छ।
फलेकी व्यवसायी फुटी शेर्पाले पनि यस वर्ष पर्यटक नआउँदा होटल व्यवसाय नराम्ररी थला परेको बताए। यस वर्षकै जस्तो पर्यटन क्षेत्र आगामी वर्ष पनि ठप्प हुने हो भने व्यवसायीलाई विस्थापित हुनुपर्ने अवस्था आउने सेकाथुमका होटल व्यवसायी ग्याबु शेर्पाले बताए। पर्यटनलाई नै आधार बनाएर शुरु गरेको होटल व्यवसाय पर्यटक नआउँदा एकै वर्षमा व्यवसाय धरापमा पर्ने अवस्था आएको र यही स्थिति कायम रहेमा वैकल्पिक व्यवसायको सोच बनाउनुको विकल्प नहुने उनको भनाइ छ।
कञ्चनजङ्घा आधार शिविर क्षेत्रका विभिन्न ठाउँमा गरी करिब १०० को हाराहारीमा होटल छन्। विकट तथा दुर्गम हिमाली क्षेत्र भएकाले यहाँका स्थानीयवासीले पर्यटनलाई आधार बनाएर होटल व्यवसायलाई मुख्य पेशाको रुपमा अँगाल्दै आएका छन्। होटल व्यवसायमा संलग्न नभएका परिवार काठमाडौँलगायत ठाउँमा गएर अन्य पेशा र व्यवसायमा आबद्ध छन्। कञ्चनजङ्घा भ्रमण र आरोहणका लागि वार्षिक हजारौँ बाह्य तथा आन्तरिक पर्यटकको आगमन हुने गरेको थियो। रासस