संगीतकार वाजिद खानको श्रीमतीलाई धर्म परिवर्तन गर्न दबाब

स्वर्गीय संगीतकर्मी वाजिद खानकी श्रीमती कमलरुखले आफूलाई धर्म–परिवर्तन गर्न वाजिदको परिवारले दबाब दिइरहेको गम्भीर आरोप लगाएकी छिन्। 

वाजिदको परिवारले बिहेपछि घरमा गरेको नराम्रो व्यवहारलाई कमलरुखले सोसल मिडियामा पोस्ट गरेकी छिन्। उनको पोस्टमा भनिएको छ, ‘मेरो नाम कमलरुख हो। 

स्वर्गीय संगीत निर्देशक वाजिद खानको श्रीमती। बिहे गर्नुपूर्व मेरो श्रीमानसँग १० वर्ष अफेयर थियो। म पारसी हुँ र उनी मुस्लिम थिए। हामीले विशेष वैवाहिक कानुनअन्तर्गत बिहे गरेका हौं।’

उनले दुईबीच विवाहको कुरा सार्वजनिक गर्दै भनेकी छिन्, ‘यस अवधिमा मैले महिलाहरूको पूर्वाग्रहको सामना गर्नुप¥यो। धर्मको नाममा विभेद भयो। यो मेरो लागि लज्जास्पद र आँखा खोल्ने खाल्को थियो।’

उनले पारसी घर भएको हुनाले आफू स्वतन्त्र परिवेशमा हुर्किएको बताइन्। ‘बिहेपछि यही स्वतन्त्रता, शिक्षा र नैतिक मूल्यमान्यता मेरो श्रीमानको परिवारका लागि सबैभन्दा ठूलो समस्या बन्यो’, उनले भनिन्। 

कमलरुखले आफूले सबै धर्मलाई सम्मान गरेको बताइन्। तर, आफूले इस्लाम धर्म मान्न अस्विकार गरेपछि उनको र श्रीमानको सम्बन्ध खराब भएको थियो। ‘मेरो आत्म सम्मानले मलाई धर्म परिवर्तन गर्न दिएन,’ उनले भनिन्। 

वाजिदको निधन १ जुन २०२० मा भएको थियो। उनले आफ्नो भाई साजिदसँग मिलेर दबंग, हिरोपन्ती, चश्मे बद्दुर, एक था टाइगर, पार्टनर, मुझसे शादी करोगी, तेरे नाम र हम तुम्हारे हैं सनममा सुपरहिट संगीत दिएका थिए।

प्रकाशित मिति: : 2020-11-29 15:45:00

प्रतिकृया दिनुहोस्