सकारात्मक साेच र काेराेनाविरुद्धकाे मेराे लडाईं

जीवन आखिर बाँच्नका लागि संघर्ष रहेछ। विश्व आज यही कुरामा सबैभन्दा बढी तल्लीन र भयभीत छ।

झन्डै १० महिनाअघि चीन हुँदै विश्वभरि फैलिएको यो महामारीबाट उच्च सुरक्षा र सतर्कता अपनाउँदा पनि म र मेरो परिवार अछुतो रहन सकेन।

जुन दिन नेपालमा कोरोनाको महामारी भित्रियो, उक्त दिनदेखि नै उचित सावधानी, सामाजिक दूरी, माक्स, पञ्जा, सेनिटाइजर, साबुन, पानीलगायत सम्पूर्ण विधिहरू हरसम्भब प्रयोग गरि आफू र आफ्नो परिवार सुरक्षित राख्न खोजेका थियाैं। तर, जति नै सावधानी अपनाउँदा पनि दूर्घटना निम्तन सक्थ्यो। आखिर त्यसै भयो।

यो कसरी भयो? हामी सबैले हाम्रा गतिविधि नियाल्यौं। तर जति नै विगतलाई नियाल्दा पनि यहीबाट सर्‍यो भनेर यकिन गर्न सकिएन। हाम्रो परिवारका सबै सदस्य एकाधबाहेक आ–आफ्नै व्यवसाय एवम् पेशामा आवद्ध छन्।

लकडाउन र निषेधाज्ञाको समयमा पनि आशिंक निरन्तरता दिनुपर्ने अहम दायित्व भएकाले चुप लागेर घर बस्न सकिएन। बाहिर जाँदा सक्दो सावधानी अपनाउने र सकेसम्म बाहिरको नखाने, बाहिरबाट समान ल्याउँदा पनि सेनिटाइज गर्ने, बाहिरबाट आएको समान केही समयपछि मात्र प्रयोगमा ल्याउने जस्ता सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोनाबाट अछुतो हुन सकिएन।

दशैं जस्तो महान चाडमा पनि हामीले निकट रहेका (भाई, बहिनी र छोरीको घरका) परिवारसँग बसेर एकै ठाउँमा मनायौं। अन्यत्र कतै गइएन। नगई नहुने ठाउँ ससुराली र मावली जाँदा पनि सुरक्षाका मापदण्ड अवलम्बन गर्दै सावधानीपूर्वक हिँडियो। तर, दशैंको केही दिनपछि मलाई साधारण रुघाखोकी, ज्वरो र जीउँ दुख्न थाल्यो। सुरुमा त कोरोना नै भएको हो भन्ने हामीलाई लागेन।

तर, दोस्रो दिन पनि ज्वरो नघटेपछि केही शंका गर्ने ठाउँ भने रह्यो। फेरि छाेराे इञ्जिनियर भएको हुँदा धेरै साइटको भिजिट गर्नुपर्ने बाध्यता त थियो नै, सबै ठाउँबाट बोलावट भइरहने हुँदा कोभिड टेस्ट नगराइ अरुलाई भेट्न जाँदा उच्च जोखिम रहने सम्भावना पनि उत्तिकै थियो। यही सोचले गर्दा टेस्ट गराएर हेरुम् न त भन्ने घर सल्लाह भयो। टेस्ट गराउँदा छाेराेकाे रिपोर्ट पोजिटिभ देखियो।

रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता नै भयो। दुई–चार दिनमा घरका अन्य सदस्यलाई पनि साधारण जीउँ दुःख्न थाल्यो। केही मा डाइरिया, कसैलाई घाँटी खस–खसाउने, कसैमा टाउको दुख्ने, कसैको ढाडको दुःखाई देखिएपछि अन्य सदस्यमा पनि लग्यो कि भन्ने डर भयो।

हामी तीनै घरका सदस्यलाई साधारण लक्षण देखिएपछि पीसीआर टेस्ट गराउँदा सबैमा पोजेटिभ नतिजा आयो। यसपछि सबै जना होम–आइसोलेशनमा बस्नु पर्ने बाध्यता पनि आइपर्‍यो। सबै घरका सदस्यमा पोजिटिभ भएकाले छुट्टै बस्न परेन। घर नै पुरै आइसोलेट गरेर १४ दिन बिताइयो।

आवश्यक सामान आफ्ना इस्टमित्र र छरछिमेकले उपलब्ध गराइदिनु भएको हुनाले त्यति असजिलो महसुस भएन। यसरी परिवार मै पोजिटिभ देखिएपछि हतास एवम् सन्त्रासबाट जति प्रताडित भए पनि उच्च मनोबल बनाउन सबैमा प्रेरित गर्दै घरायसी जडिबुटी (गुर्जो, तुलसीपात, बेसार, ज्वानो, मरिच, कागती, पानी) प्रयोग गर्दै तुलसीको पात, असुराको पात र पारिजातको पात राखेर बिहान–बेलुका बाफ लिँदै जाँदा सबैमा त्यति असजिलो नभइकन सहज अवस्था नै रह्यो।

डाक्टरको भनाई अनुसार यो रोगले फोक्सोलाई बढी आक्रमण गर्छ भन्ने सुनेकोले गर्दा यसको निदानका लागि सधैँ तातो पानीको सेवन, बाफको प्रयोग र लामा–लामा श्वास लिने, फ्याँक्ने गर्दा राम्रो भएको महसुस पनि भयो। अझ चिसोबाट बच्नु नै उत्तम उपाय हो।

लक्षण सबैमा केही उस्तै प्रकृतिका र केही भिन्नभिन्न खालका देखिएता पनि मुख्य तया ढाड अर्थात् फोक्सो बस्नेभन्दा पछाडिको भाग मेरुदण्डमा करङ जोडिएको स्थानमा सुरुसुरुमा सबैलाई दुख्ने र पछि गएर शरीरका अनन्य भागमा दुख्दै जाने र शरीर कमजोर भएको महसुस पनि सबैमा भयो।

केही सदस्यमा कसैको गन्ध–स्वाद हराउने, कसैको टाउकोमा दुःखाई कसैलाई खान मन नलाग्ने, कसैलाई ज्वरो र डाइरियासमेतका लक्षण देखिएता पनि बढी कस्टदायक भने कसैमा पनि भएन। तथापि यसको जति हल्ला र भ्रम फैलाइरहेका छन्, त्यस्तो चै पटक्कै होइन रहेछ भन्ने मेरो होम आइसोलेसनको बसाईकाे  १४ दिनको अनुभव हो।

मलाई लाग्छ, जो रोगी हुनुहुन्छ, जो वृद्धा हुनुहुन्छ, जसको रोगप्रति रोधात्मकशक्ति कमजोर छ, उहाँहरूको लागि जटिल पनि हो। जो सामान्य अवस्थाको हुनुहुन्छ, त्यसको लागि सामान्य पनि हो। सबैभन्दा महत्वपूर्ण कुरा रोगसँग नडराउनु, चिन्ताबाट मुक्त हुनु, यो रोग साधारण हो। यसले मलाई केही पनि गर्न सक्दैन भन्ने भावना राखेर आयुर्वेदिक जडिबुटीको प्रयोग, साधारण शारिरीक व्ययाममा निरन्तरता दिनु, पौष्टिक आहारसहितको सात्विक भोजन गर्नु उत्तम हुन जान्छ।

यसरी हामीले १३ दिनपछि पूनः पीसीआर टेस्ट गरायौं। परिवारका दुई सदस्यमा सीटी भ्यालु ३३ र ३३, अरुसबैको नेगेटिभ आएता पनि सबैमा खुसीयाली आउन सकेको थिएन। फेरि बाँकी दुई जनाको ७ दिन पछि टेस्ट गराउँदा नेगेटिभ आएको हुँदा हाम्रो परिवार कोरोना पराजित गर्न सक्षम रहेछ भन्ने महसुसका साथ खुसी पनि लागेको छ।

लेखक एक्सपर्टका बरिष्ठ सदस्य हुन्
 

प्रकाशित मिति: : 2020-11-24 20:30:00

प्रतिकृया दिनुहोस्