बालिका हत्या प्रकरण: गाेली लागेका दुई घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइयो

महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोध पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खुलाउने प्रयास गरेकाे थियाे।

तर स्थानियले प्रहरीमाथि नै  ढुंगामुढा गरेपछि केही राउण्ड गोली चलाएको थियो। 

प्रहरीको गोली लागि बर्दिवास १ का ४५ वर्षीय सञ्जय न्यौपाने र श्याम कार्की गम्भीर घाइते भएका छन्। उनलाई प्रहरीले चलाएको २ राउण्ड गोली लागेको छ।

उनको बर्दिवासस्थित पिनाकल अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडाैं लगिएकाे छ।

 यस्तै अफताब आलम पनि प्रहरीको लाठीचार्जबाट घाइते भएका छन्। 

गोली लागेर घाइते भएका न्यौपानेको कम्मर मुनी गोली लागेको छ भने श्यामको घाँटीमा चोट रहेको छ। घाइतेहरुको काठमाडौंमा मेडिसिटीमा अस्पतालमा उपचार हुने बताइएको छ। 

खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो। 

घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो।

बालिकाको शव बर्दिवास १४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। बर्दिवास १४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाँईले बताए।

लगत्तै आक्रोशित स्थानीयहरुले उनको घरमा आगो लगाएका थिए। आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले स्थानीयहरुको अत्यधिक भिड रहेको र तिनीहरुले आगो नियन्त्रण गर्न नदिएकाले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताए।

घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड अश्रुग्यास प्रहार गरिएको जानकारी दिए।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन्। प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाँईको भनाइ छ।

प्रकाशित मिति: : 2020-11-24 15:06:00

प्रतिकृया दिनुहोस्