पेनाल्टी हान्न छाड्दिनँ, सन्यास पनि लिन्न: रामाेस

स्पेनी खेलाडी सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने बताएका छन्। 

रामोसले स्पेनका लागि १७७ औं खेल खेल्दै युरोपियन राष्ट्रहरुमा सर्वाधिक खेल खेल्ने इटालियन लेजेण्ड गोलकिपर जियानलुजी बफोनको कीर्तिमान तोडेका थिए। १९१९७ देखि २०१८ सम्म इटालीबाट खेलेका बफोनले १७६ खेल खेलेका थिए। 

रामाेसकाे उक्त कीर्तीमानी खेल भने सुखद् रहेन। नेसन्स लिग अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा रामोसले दुई पेनाल्टी चुकाए। जसले गर्दा स्पेनले १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

रामोसले आफू पेनाल्टी हान्न नछाड्ने बताएका छन्।

‘यदि त्यहाँ अर्को पेनाल्टी हुन्छ भने निश्चय नै म हान्छु। यदि मैले त्यसो गरिन् भने म नै म रहन्नँ’ रामोसले भनेका छन्।

यस्तै उनले अहिल्यै सन्यास नलिने पनि बताए। ‘बफोनको कीर्तिमान तोड्नु प्राइड हो। जब तपाईंले सुरु गर्नुहुन्छ तपाईले यो लेभलमा आइपुग्ने बारे सोच्नुहुन्न। यसका लागि मैले धेरै मेहनत गरे,’ उनले भने।

स्पेनले नेसन्स लिग अन्तर्गत समूह एको अन्तिम खेलमा मंगलबार जर्मनीसँग खेल्दैछ। समूह विजेता बन्दै सेमिफाइनल पुग्न स्पेनलाई जितको आवश्यक छ।

साेमबार भएकाे पत्रकार सम्मेलनमा रामाेस उपस्थित भएनन्।

रियल मड्रिडसँगको सम्झौताका विषयमा पत्रकार सम्मेलनमा सोधिने सम्भावनाका कारण उपस्थित नभएको बताइन्छ। अर्को समरमा क्लबसँगको उनको सम्झौता सकिँदैछ। 

प्रकाशित मिति: : 2020-11-17 14:18:00

प्रतिकृया दिनुहोस्