एन्डोराविरुद्ध पोर्चुगलको ७ गोल, रोनाल्डोलाई विश्वकै सर्वाधिक गोलकर्ता बन्न थप सहयाेग

पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पूर्ण खेलमा एन्डोरामाथि सानदार जित हात पारेको छ। 

घरेलु मैदानमा बुधबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल ७-० ले विजयी भएको हो।

पोर्चुगलका लागि पाउलिन्होले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, जोआओ फेलिक्स, पेड्रो नेटो र रेनाटो सान्चेसले १-१ गोल गरे। एक गोल भने आत्मघाती भएको थियो।

प्रशिक्षक फर्नान्डो सान्तोषले कप्तान रोनाल्डोलाई दोस्रो हाफमा उतारेको खेलमा पोर्चुगलले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ५ गोल थप्न सफल भएको थियो। 

पोर्चुगललाई पहिलो हाफको आठौं मिनेटमा पेड्रो नेटोले अग्रता दिलाए। उनले सर्जियो ओलिभिएरको पासमा गोल गरेका थिए।

उनले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु खेलमै गोल गरेका हुन्। २९औँ मिनेटमा पाउलिन्होले अग्रता दोब्बर पारे।

दोस्रो हाफमा रोनाल्डो मैदान प्रवेश गरेका थिए। ५६औँ मिनेटमा रेनाटो सान्चेसले गोल गरे। 

६१औँ मिनेटमा पाउलिन्होले मारिओले व्यक्तिगत दोस्रो गोल गरे। ७६औँ मिनेटमा एन्डोराका गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो।

रोनाल्डोले ८५औँ मिनेटमा गोल गर्दै पोर्चुगलको आधा दर्जन गोल पूरा गरे। दुई मिनेट समय बाँकी रहँदा सिकेराको पासमा जोआओ फेलिक्सले गोल गर्दै ७–० को जित पक्का गरे।

विश्व फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी बन्ने होडमा रहेका रोनाल्डोलाई १ गोलले थप राहत मिलेको छ।

उनी अब विश्व फुटबलमा सर्वकालीन सर्वाधिक गोलकर्ता बन्नका लागि मात्रै ७ गोल बाँकी छ।

३५ वर्षका रोनाल्डोले गरेको गोल पोर्चुगलका लागि १०२ औँ गोल बन्यो। सर्वाधिक गोलकर्ता इरानका अलि दाइले १०९ गोल गरेका छन्।

समूहमा अपराजित रहेको पोर्चुगलको ४ खेलबाट १० अंक रहेको छ। अपराजित नै रहेको फ्रान्सको पनि १० अंक रहेको छ। क्रोएसियाको ३ तथा स्वीडेन अंक विहीन छ।

पोर्चुगलले अब नेसन्स लिग ‘ए’ ३ मा दुई महत्वपुर्ण खेलमा फ्रान्स र क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्ससँग घरेलु मैदानमा १५ नोभेम्बरमा तथा क्रोएसियासँग १८ नोभेम्बरमा पोर्चुगलले प्रतिस्पर्धा गदैछ।

बुधबार राति भएका अरु मैत्रीपूर्ण खेलमा डेनमार्कले स्वीडेनलाई २–०, बुल्गेरियाले जिब्रालटारलाई ३–०, लात्भियाले सान मारिनोलाई ३–०, रोमानियाले बेलारुसलाई ५–३, माल्टाले लिचेस्टाइनलाई ३–० तथा लिथुवानियाले फारोइ आइल्याण्ड र अल्बानियालो कोसोभोलाई समान २–१ ले पराजित गरेका छन्।

यस्तै मोन्टेनेग्रो र काजखस्तानले गोलरहित तथा टर्की र क्रोएसियाले ३–३ को बराबरी खेलेका छन्।
 

प्रकाशित मिति: : 2020-11-12 06:43:00

प्रतिकृया दिनुहोस्