अध्यक्ष ओलीलाई बैठक बोलाउन आग्रह गर्ने प्रचण्ड पक्षका सचिवालय सदस्यको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्चिरहेको बेला प्रचण्डले डाकेको आफू पक्षधर सचिवालयका सदस्यहरुको पार्टी कार्यालय धुम्बाराहीमा भएको बैठकले पार्टी बैठक तत्काल बोलाइन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीसमक्ष माग पर्ने निर्णय गरेको छ । 

पार्टीको बैठक दुवै अध्यक्षको अनुमतिमा महासचिवले बोलाउनुपर्ने वैधानिक व्यवस्थाविपरीत डाकिएकोले उक्त बैठकलाई अनौपचारिक बैठक भनिएको थियो। सधैँ प्रचण्डनिवास, खुमलटारमा बस्ने उक्त समूहको बैठक पार्टी कार्यालयमै राखेर 'सन्देश' दिन खोजिएको हो ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए ।  

ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित भएनन् ।

 बिहीबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार पुगेर छलफल गरेका प्रचण्डलाई ओलीले ‘गुटबन्दीपूर्ण बैठक’ नगर्न र ‘पार्टी एकताको पक्षमा काम गर्न’ निर्देशन दिएर पठाएका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा ‘आफूलाई पार्टीभित्रबाट राजीनामा मागिएको’ बताउँदै ‘आफूले राजीनामा नदिने’ बताएको र प्रदेश १ का आफू पक्षधर नेताहरुसँग ‘भर्चुअल मिटिङ’ गरेकोबारे आपत्ति जनाउन भनी बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार,साविक माओवादीको केन्द्रीय कार्यालय, पेरिशडाँडा (कोटेश्वर) मा आफूनिकट कानून व्यवसायीहरूसँग बैठक गरेर बालुवाटार पुगेका प्रचण्डलाई ओलीले ‘कार्यकारी अध्यक्ष भएर पार्टीलाई बलियो बनाउने काममा मात्र लाग्न’ निर्देशन दिएका थिए । 

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, अध्यक्षद्वयको बिहीबार भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने, ‘पार्टी एकताको पक्षमा उभिनुस्, दिनका दिन गुटबन्दीपूर्ण बैठक नगर्नुस् । यसरी पार्टी अघि बढ्दैन ।’

प्रधानमन्त्री ओलीले गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले गरेको समझदारीमा ‘पार्टी एकता बलियो बनाउने’ भनेको बताउँदै प्रचण्डलाई भनेका थिए, ‘चार जना सचिवालय सदस्य बोलाउँदै बैठक गरेर कस्तो पार्टी बनाउन खोज्नु भएको हो ? यसरी पार्टी एकता बलियो बन्छ ? यो चाहिँ रोक्नुस् । 

सम्बन्ध एकताको हो, गुटबन्दीको होइन ।’ ओलीको कडा निर्देशनपछि प्रचण्ड तिल्मिलाएर खुमलटार फर्केका थिए ।

प्रकाशित मिति: : 2020-11-06 18:33:00

प्रतिकृया दिनुहोस्