भारतको रिपब्लिक टेलिभिजनका मालिक एवम् प्रधान सम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ।
रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा बुधबार घरबाटै पक्राउ गरिएको थियो।
गोस्वामीमाथि सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ। यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।
रिपब्लिकन टेलिभिजनले गोस्वामीलाई यसअघि नै बन्द भइसकेको मुद्दामा पक्राउ गरिएको आरोप लगाएको छ।
यता अर्नबको बचाउमा भारतको केन्द्र सरकार, भारतीय जनता पार्टी अघि आएको छ।
उनीहरुले महाराष्ट्र सरकारले अर्नबलाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको उपहास गरेको र ‘इमर्जेन्सी’ को परिस्थिति सिर्जना गरेको आरोप लगाएका छन्।