मधु राई
केही साताअघि मात्र विराटनगरमा ट्युसन पढाउने शिक्षकले पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरियो। गृहकार्य नगरेको भन्दै छात्रहरुलाई खाटमुनि कुखुरा बनाई सजाय दिने र बालिकालाई खाटमाथि दुर्व्यवहार गर्ने गरेका रहेछन्। घटनाबारे विद्यार्थीहरुले अभिभावकलाई सुनाउँदा शुरुमा त पत्याएनन्। विद्यार्थीहरुले गोप्यरुपमा मोबाइलबाट भिडियो नै खिचेपछि आरोपित शिक्षक पक्राउ परे।
केही महीनाअघि विराटनगरमा मेरै टोलमा यस्तो घटना भयो। अति मिल्ने छिमेकी साथीका ११/१२ वर्षका छोराले अभिभावकको अनुपस्थितिमा चार वर्षीया छोरीलाई करणी गरेको समाचार बाहिरियो। छोरीकी आमाले प्रहरीमा जाहेरी दिएपछि ती बालक समातिए। बालिकाले सोध्ने जति सबैलाई ‘दादा’ले गरेको सबै क्रियाकलाप बताइदिइन्। मैले बालिकालाई मेरो विद्यालयमा निःशुल्क पढाइदिने प्रस्ताव गरेकी थिएँ। तर, उनीहरु त्यहाँबाट डेरा सरेपछि फेरि भेट भएको छैन।
हिजो सञ्चारमाध्यमहरुमा देखिने, पढिने र सुनिने धेरैजसो यौन दुर्व्यवहार र बलात्कारका घटना आज हाम्रै टोल छिमेकमा हुन थालेका छन्। विशेष गरी बालापनमा यौन दुर्व्यवहारको पीडा खेप्न बाध्य बालिकाहरुबारे टोलछिमेकले पनि त्यति चासो र चिन्ता लिएको पाइँदैन। त्यसैको दुष्परिणाम एकपछि अर्को घटना हुन थालेका छन्।
यस्तै अधिकांश स्थानीय जनप्रतिनिधिहरुको चासो चिन्ताभित्र पनि यौनहिंसाका घटना पर्दैनन्। बरु मिलापत्र गराउन उनीहरुको संलग्नता हुने गरेको छ।
बन्दाबन्दीअघि नेपालमा दैनिक तीनजना बलात्कृत हुने गरेको तथ्यांक थियो। चैत्रयता मात्र यो संख्या बढेर दैनिक सातजना बलात्कृत हुने गरेको तथ्यांक आएको छ। यो समग्र बलात्कारको तथ्याङ्क हो। बालापनमा यौनहिंसा भोग्न बाध्य बनेकाको तथ्यांक भने भेटिंदैन। पछिल्लोसमय त अझै बालिकाहरुको बलात्कारपछि हत्या हुने घटना पनि बढेका छन्।