खगेन्द्र संग्रौला
चौबीस
अहिले दुई अध्यायबीचको छोटो अन्तरालमा कटहरको विशाल वृक्षको छायामा म एक्लै बसेको छु । “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ त्यसलाई अतिक्रमण भनिन्छ ।” बाजेको यो वचन मेरा कानमा गुनगुनाइरहँदा मलाई पिताजीको शय्या दानमा हामीले गरेको अतिक्रमणको सम्झना भयो । पिताजीहरू दश भाइ हुनुहुन्थ्यो र ती दश भाइकी एकमात्र चेली थिइन्— हाम्री एकमात्र फुपू । फुपूकी छोरी साह्रै गरिब थिइन् । हाम्रो घरमाथिको बाँदर खेल्ने पहराको फेदीमा दुम्सी लुक्ने दुलो थियो । त्यही दुलानेर एकलासमा थियो उनको रामझुपडी । के पुरोहितलाई दिइने शय्यादान हाम्री दिदीका खसमलाई दिए हुन्छ ? कसको मथिङ्गलमा हो मलाई थाहा छैन, एउटा उपकारी विचारले जन्म लियो । हुन्छ— हाम्रो परिवारको सर्वसम्मतिले भन्यो । काकाले हाम्रो विचारको समर्थन गर्नुभयो । तर काइँला बडीवाले क्रोधले गर्जिँदै भन्नुभयो, “बरु काले दमाइलाई देओ !” तैपनि बडीवाको क्रोधको पर्वाह नगरी दिदीकै घरमा दान भित्र्याउने कुरामा हाम्रो जिद्दी कायम रह्यो ।
जब पुरोहित बाजेले कुराको सुइको पाए, बरा उनका ओठ–तालु सुके । विहान सबेरै आउँछन्, नून खाएको कुकुरोझैँ अँगेनाका डिलमा मुन्टो लतारेर बस्छन्, खुइय सुस्केरा हाल्छन् । ‘मलाई नै देओ’ भनेर हत्ते हालूँ, कुन मुखले भन्ने ? नभनूँ, बाजेको आतेपातेको खेती सर्वनाश हुने भयो । घाँटी सुकाउँदै गरुड पुराण भट्ट्याउने एउटा, बसीबसी शैय्यादान पड्काउने अर्को । बाजेको अन्तरमा क्रोधको आगो दन्दनी बलेको हुँदो हो । तर आगोको ज्वाला प्रकट गर्न मिलेन । बाजेको त्यो याचक रूप र हत्तेहालाई देख्दा मलाई त डर पनि लाग्यो— कतै यी दुःखी मानव घाँटीमा सुर्काने कसेर परमधान हुने त होइन ?
बाजेले ज्यान छाडेर आफ्नो कर्मकाण्डी प्राभवको उपयोग गर्न खोजे । गाउँ–ठाउँका बाजे र मुखियाहरू घुक्र्याउन र थर्काउन हाम्रो घरतिर लर्को लागे । तर कसैको पिताम चलेन । आखिर बाजेले रुन्चे स्वरमा आतेपातेको विधि भट्याए, हाम्रा गरिब दिदी–भिनाजुले शय्यादान कुम्ल्याए ।